• २९ पुस २०८१, सोमबार

म्याग्दी महोत्सवको आकर्षण स्थानीय उत्पादन

blog

महोत्सवमा स्थानीय उत्पादन बिक्रीका लागि राखिएका स्टल र सामान देखाउँदै । तस्बिर : ठाकुरप्रसाद आचार्य

ठाकुरप्रसाद आचार्य
म्याग्दी, पुस २९ गते ।
धवलागिरी गाउँपालिका ७ ताकमका अनिल भण्डारीले स्थानीय उत्पादन लिएर म्याग्दी महोत्सवमा आउनुभएको छ । उहाँले धवलागिरी गाउँपालिका भित्र उत्पादन हुने कोदोको पिठो, कोदोको बिस्कुट, सिस्नोको धुलो, कागती, सिन्की, रातो च्याउ, बेसार, भागोलगायत स्थानीय उत्पादनलाई स्टलमा राख्नुभएको छ । आइतबारदेखि सुरु भएको आठौं म्याग्दी महोत्सवले भण्डारीलाई यो अवसर जुराएको हो ।

महोत्सवमा म्याग्दी जिल्लामा उत्पादित कृषिजन्य उत्पादन, जडिबुटी, लघु तथा घरेलु उद्योगका सामानहरु बिक्री, वितरण गर्नुका साथै प्रदर्शनीका लागि नि:शुल्क स्टल उपलब्ध गराइएको छ ।

अन्नपूर्ण गाउँपालिकाले सञ्चालन गरेको स्थानीय उत्पादनको स्टलमा पालिका उपाध्यक्ष दिवाकुमारी तिलिजा पुन आफै स्थानीय उत्पादनको बिक्री र व्यवस्थापनमा खटिनुभएको छ । उहाँले स्टलमा आउने महोत्सवका दर्शकहरुलाई पालिका भित्र उत्पादन भएका वस्तु तथा सामग्रीहरुको बारेमा जानकारी दिनुका साथै खरिद गर्न अनुरोध समेत गर्नुहुन्छ ।


पालिका भित्र उत्पादन हुने चिज, मह, हातै कागजका सामग्री, सिस्नोको धुलो, सिमी, भटमास, सतुवा, फापरको पिठो, कोदोको पिठो, टिमुर लगायतका सामानहरु स्टलमा राखिएको पालिका उपाध्यक्ष पुनले बताउनुभयो । महोत्सवले स्थानीय उत्पादनको बजारीकरणमा टेवा पुर्‍याउने उहाँले विश्वास व्यक्त गर्नुभयो । स्थानीय उत्पादनको बजारीकरणमा टेवा पुर्‍याउन स्टल उपलब्ध गराउने आयोजकलाई उहाँले धन्यबाद समेत दिनुभयो ।

म्याग्दीलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरमा चिनाउने र उत्पादन भएका स्थानीय उत्पादन र वस्तुहरुको बिक्री, वितरण गर्नका लागि ३० वटा स्टलहरु निःशुल्क रुपमा उपलब्ध गराइएको आयोजकले जनाएका छन् । 

स्टलमा जिल्लाका ६ वटै स्थानीय तहहरुले आ–आफना उत्पादनहरु बिक्री वितरणका लागि राखेका छन् भने अन्य उद्यमीहरुले पनि उत्पादन बिक्रीका लागि राखेका छन् । 


महोत्सवमार्फत जिल्लामा उत्पादन हुने सामग्रीको प्रचारप्रसार, बिक्री उद्यमीलाई हौसला प्रदान गर्ने उद्देश्यले निःशुल्क स्टलको व्यवस्था गरिएको महोत्सव मुल आयोजक म्याग्दी उद्योग वाणिज्य संघका अध्यक्ष सुविन श्रेष्ठले बताउनुभयो ।

उहाँले भन्नुभयो, ‘‘स्थानीय उत्पादनका हिसाबले म्याग्दी धनी छ । तर प्रचारप्रसार र बजारीकरणको अभावमा स्थानीय उत्पादनले मूल्य पाउन सकिरहेको छैन । महोत्सव मार्फत स्थानीय उत्पादनको प्रचारप्रसार, प्रवर्द्धन र बजारीकरणमा टेवा पुर्‍याउन स्थानीय उत्पादनलाई प्राथमिकतामा राखेका छौं ।’’

महोत्सवको पहिलो दिन स्थानीय उत्पादनको राम्रो बिक्री भएको मिना राम्जालीले बताउनुभयो । उहाँले भन्नुभयो, ‘‘स्थानीय उत्पादनप्रति सबैको आकर्षण छ । पहिलो दिन राम्रो व्यापार भएको छ ।’’

‘उद्योग, व्यापार र कलाको विकास गरौं, संस्कृतिको संरक्षण गर्दै पर्यटन प्रवर्द्धन गरौं’ भन्ने मूल नारासहित आयोजित आठौं म्याग्दी महोत्सव एवम् माघेसङ्क्रान्ति मेला तथा प्रदेशस्तरीय कृषि, पर्यटन, औद्योगिक, व्यापार मेला आगामी माघ ८ गतेसम्म सञ्चालन हुने छ ।

यसपटकको महोत्सवमा सबै प्रकारको व्यापारमा स्थानीयलाई पहिलो प्राथमिकता दिइएको संघका अध्यक्ष श्रेष्ठले बताउनुभयो । जिल्लाको ६ वटै स्थानीय तहमा उत्पादन हुने कृषि, हस्तकलालगायत साना तथा मझौला उद्यमीहरुले निर्माण गरेका सामग्रीहरुको बिक्री तथा प्रदर्शनीका साथै उचित पुरस्कारको समेत व्यवस्था गरिएको संघका महासचिव नारायण जिसीले बताउनुभयो । महोत्सवमा करिब दशकरोड रुपियाँ बराबरको आर्थिक कारोबार हुने अनुमान गरिएको छ ।