काठमाडौँ, पुस २८ गते। जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाका अनुसार सोमबार दिउँसो तीन प्रदेशको थोरै स्थानमा हिमपातको सम्भावना रहेको छ।
मौसम पूर्वानुमान महाशाखाले आइतबार साँझ जारी गरेको आगामी तीन दिनको मौसम पूर्वानुमान बुलेटिनका अनुसार आइतबार राति कोशी, बागमती, गण्डकी प्रदेशको हिमाली क्षेत्रमा साधारणतया बदली रही थोरै स्थानमा हल्का हिमपातको सम्भावना छ।
विभागका अनुसार आइतबार राति मधेश प्रदेशको तराई क्षेत्रमा साधारणतया बदली रहने सम्भावना छ भने लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशको पहाडी क्षेत्रमा आंशिकदेखि साधारणतया बदली रही एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना छ। मौसम मुख्यतया सफा रहने सम्भावना रहेको विभागले जनाएको छ।
यसैगरी, भोलि सोमबार दिउँसो कोशी, बागमती र गण्डकी गरी तीन प्रदेशको हिमाली क्षेत्रमा आंशिकदेखि साधारणतया बदली रही थोरै स्थानमा हिमपातको सम्भावना रहेको छ। मधेश, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिममा मौसम मुख्यतया सफा रहने विभागले बताएको छ।
यस्तै, माघ १ गते मङ्गलबार भने देशभरीको मौसम मुख्यतया सफा रहने छ।
विभागका अनुसार सो दिन कोशी प्रदेशको हिमाली क्षेत्रमा आंशिक बदली रहने सम्भावना रहेको छ। बाँकी प्रदेशका हिमाली र पहाडी क्षेत्रमो मौसम मुख्यतया सफा रहने सम्भावना छ।