• १० वैशाख २०८२, बुधबार

शहरभित्रका मुख्य सडक कालोपत्रको पर्खाइमा

blog

देबबहादुर कुँवर

काठमाडौँ, पुस २६ गते । तारकेश्वर नगरपालिकाको विभिन्नवस्तीलाई काठमाडौँ महानगरपालिकासँग जोड्ने मुख्य सडक ‘वाइपास–झोर साङ्ला’ सडक ‘घाम लाग्दा धुलो, पानी पर्दा हिलो’ हुन्छ ।  

काठमाडौँ महानगरपालिका –१६ बालाजु वाइपास, नेपालटार, डाँडागाउँ, फुटुङ, साङ्ला, झोरबाट टोखा छहरे हुँदै त्रिशुली नुवाकोट जोड्ने यो सडकमा लामो र छोटो दूरीका दर्जनौ सवारी साधन नियमित गुड्छन् ।  

उक्त सडकको दुरावस्था देख्दा शहरीक्षेत्र नभइ दुर्गम गाउँवस्तीको कच्ची र हिलाम्मे सडकभन्दा कम छैन । नेपालटार पुल तथा सडकको बिचमा परेका खाल्डाखुल्डीका कारण नियमित सवारी दुर्घटना हुने गरेको छ । 

त्यस्तै, दायाँवायाँ किनारका नालीहरु मर्मत नहुँदा फोहर पानी जम्ने तथा पैदल हिड्दै गरेका यात्रुको शरीरमा हिलो छ्याप्ने र लड्ने जोखिम त्यतिकै छ । शहरभित्रको सडकको दयनिय अवस्था देख्ने र भोग्ने जोकोही जनप्रतिनिधिलाई धिक्कार्ने गर्छन् । 

नगरपालिका प्रवेशको मुख्य नाका नेपालटार पुलमा आकर्षक र कलात्मक डिजाइनसहितको गेट बनाइएको छ । गेटको जग उठेको पुल र सडकको अवस्था देख्दा स्थानीय सरकार र जनप्रतिनिधिप्रति दया जागेर आउने गरेको स्थानीय दिपक थापाले बताउनुभयो । 

यस सडकको करिब तीन सय मिटर खण्ड अति जिर्ण छ । विगत १२ वर्षदेखि टालटुल गर्ने काममात्र हुनेगरेकाले पानी पर्दा हिलो र घाम लाग्दा धुलो उड्ने समस्या देखिएको डाँडागाउँकी स्थानीय व्यापारी कल्पना बोहराले बताउनुभयो । 

स्थानीय जनप्रतिनिधि सडक यो अवस्थामा पुग्नुमा सडक विभाग, ढल तथा खानेपानी विभाग, काठमाडौँ उपत्यका खानेपानी लिमिटेड (केयुकेल) र नेपाल विद्युत प्राधिकरणलाई मुख्य दोषी देखाउँदै आएका छन् । तारकेश्वर नपा –८ का वडाध्यक्ष रामकृष्ण सापकोटा सडक बनाउन आफूले दुई करोड बजेट मागेको तर केन्द्रबाट नपाएको गुनासो सुनाउनुभयो ।  

‘यो सडक निर्माणका लागि सबैभन्दा बढी बोल्ने मान्छे मै हो, सडक विभागले सुन्दैन,  तारकेश्वर नपा प्रमुख हरिकृष्ण महर्जनले थप बजेट दिँदैनन्, वडाध्यक्ष सापकोटा भन्छन्,  सडक नबन्दा कति गुनासो र गाली खानु परेको छ ? 

विद्युत प्राधिकरणले तार भूमिगत गरेसँगै खाल्डोहरु प्याचिङ गर्ने, पोल उखेल्ने, कन्ट्रोल बक्स राख्ने काममा ढिलासुस्ती गरेको आरोप उहाँको छ । सडक कालोपत्रे काममा ढिलासुस्ती हुनुमा सङ्घीय सरकार र प्राधिकरण प्रमुख कुलमान घिसिङबिचको विवाद पनि एउटा कारण भएको बुझाइ जनप्रतिनिधिको छ । 

ढल विभागले बजेट नदिँदा नगरपालिकाको बजेटमा ढल राख्ने काम त भयो, त्यसपछि केयुकेएलले खानेपानीको पाइप विछ्याउने र विद्युतको तार भूमिगत गर्ने कामले गर्दा सडक फराकिलो पार्ने, फुटपाथ बनाउने र कालोृपत्रे गर्ने योजना अलपत्र बनेको आरोप उहाँहरुको छ । 

करिब सय मिटर सडक कालोपत्रे गर्न रोडा विछ्याउने काम जारी थियो । वडा नं. ११ का वडाध्यक्ष कविराज बस्नेतले भन्नुभयो, ‘विद्युत प्राधिकरणले फेरि पुलको आडैमा विद्युतको कन्ट्रोल स्टेसन राख्नु पर्ने जवाफ दिएकाले काम रोकिएको छ ।’

विद्युतको तार भूमिगत गर्ने कामको जिम्मेवारी पाएका हिराकाजी वस्नेत काम अगाडि बढाउन प्राधिकरणको नेतृत्व तहबाट नै ढिलो भएको स्वीकार्नुहुन्छ । नेपालटार पुलमा कन्ट्रोल स्टेशन बनाउन र विजुलीको पोल राख्न बाँकी छ । 


उहाँका अनुसार, पुलको आडमा कन्ट्रोल स्टेशन राख्न ठाउँ अपुग देखियो । यस विषयमा प्राधिकरणले केन्द्रबाट नै निर्णयगरी पठाउनुपर्ने हुन्छ । अर्कोतर्फ पोल राख्न र झिक्नलाई पनि प्रक्रियागत नै जानुपर्ने भएकाले यो वर्ष सडक कालोपत्रे हुने सम्भावना देखिदैन । 

खाल्डा खुल्डी पुर्ने काम हुन्छ होला, तर पुरै सडक मर्मत सम्भार तथा कालोपत्रे बनाउने योजना चालु आर्थिक वर्ष भित्रमै कार्यान्वयनमा आउने सम्भावना छैन । बढ्दो सहरीकरणसँगै नेपालटार–झोर साङ्ला सडकमा सवारी चाप दिनप्रति दिन बढ्दो छ । बढ्दो सवारी चाप र सर्वसाधारणका कारण सडक साँघुरो बनेको छ । 

नगर प्रमुख कृष्णहरि महर्जनले २०७९ सालमा नै उक्त सडक विस्तार तथा कालोपत्रे गर्ने योजना सार्वजनिक गर्नुभएको थियो । उहाँले घोषणा गर्नुभएको योजना अलपत्र परेको छ । सडक विभागले प्रयाप्त वजटे नदिँदा पालिकाले टालटुल गर्दैआएको छ ।