• २५ पुस २०८१, बिहिबार

थामी समुदायले भूकम्प प्रतिरोधी आवास पाउँदै

blog

बिगु गाउँपालिका–८, थामीचागुमा निर्माण हुँदै गरेको भूकम्प प्रतिरोधी पक्की आवास ।

बाबुराम शर्मा 

दोलखा, पुस २५ गते । ढिलै भए पनि दोलखाको उत्तरी बिगु गाउँपालिका–८, थामीचागुका भूकम्पपीडित सीमान्तकृत थामी समुदायका करिब ५० परिवारले भूकम्प प्रतिरोधी पक्की निजी आवास पाउने भएका छन् । 

लाभग्राही सूचीमा पर्न नसकेका सीमान्तकृत थामी समुदायका ४५ जनाले सङ्घको अनुदानमा जनता आवास कार्यव्रmमबाट भूकम्प प्रतिरोधी पक्की निजी आवास पाउने भएका सहरी विकास तथा भवन कार्यालय काभ्रेपलाञ्चोकका प्रमुख सन्तोषकुमार निरौलाले जानकारी दिनुभयो । उहाँका अनुसार लाभग्राही सूचीमा पर्न नसकेका र भकारी बेरेर जीवन बिताइरहेका सीमान्तकृत थामी समुदायका ६९ जनाले आवेदन पेस गरेका थिए । जिल्लामा परेका ५५ कोटामध्ये अत्यावश्यक देखिएका ४५ परिवारले आवास निर्माण गरिरहेका छन् । १५÷१५ वटा तीन चरणमा आवास निर्माण भइरहेका छन् । बाँकी १० कोटामा शैलुङमा दुई, जिरीमा तीन र तामाकोशीमा पाँच वटा भवन निर्माणाधीन अवस्थामा रहेका छन् । 

उनीहरूको जग्गा अनुसार १२ बाई १२ क्षेत्रफलमा दुईकोठे भूकम्प प्रतिरोधी पक्की आवास निर्माण भएका हुन् । सङ्घको अनुदान अनुसार पहिलो किस्ता एक लाख, दोस्रो किस्ता एक लाख र बाँकी किस्ता साढे एक लाख गरी साढे तीन लाख रुपियाँ एकमुस्ट उनीहरूले पाउने छन् । सहरी विकास तथा भवन कार्यालय काभ्रेपलाञ्चोकका प्रमुख निरौलाले भन्नुभयो, “बागमती प्रदेश सरकारले अब बाँकी रहेका शिक्षा, स्वास्थ्य, रोजगारीसमेतमा पहुँच नपुगेका भूकम्पपीडितको विवरण माग गरिरहेको छ । करिब छ सयको विवरण प्राप्त भएको छ । अनुगमन गरी यथार्थ पत्ता लगाउने काम भइरहेको छ ।” 

कार्यविधि अनुसार अब छनोट भएका भूकम्पपीडितले प्रदेशबाट आवास निर्माणका लागि चार लाख रुपियाँ पाउने उहाँले जानकारी दिनुभयो ।