नेपालगञ्ज, पुस २४ गते। पछिल्लो केही दिनयता शीतलहरका कारण चिसो बढेपछि यहाँको जनजीवन प्रभावित बनेको छ।
जनजीवन सामान्य बनाउन स्थानीय प्रशासनले पालिकालाई जिम्मेवारी तोक्दै सुरक्षा निकायलाई उच्च सर्तकता अपनाउन निर्देशन दिएको छ। बाँकेका सहायक प्रमुख जिल्ला अधिकारी तथा सूचना अधिकारी उमाकान्त अधिकारीले जिल्ला विपद् व्यवस्थापन समितिमार्फत कार्ययोजना बनाएर सम्बन्धित निकायलाई शीतलहर व्यवस्थापनका लागि आग्रह गरिएको जानकारी दिँदै स्थानीय तहलाई स्रोत व्यवस्थापन गर्न म्यान्डेट दिएको बताउनुभयो।
उहाँले भन्नुभयो, “चिसो र शीतलहरबाट प्रभावित भएका नागरिकलाई जोखिमबाट बचाउन कम्बल भण्डारण गरेर राखिएको छ।” बाक्लो हुस्सु र शीतलहरले जनजीवन कष्टकर बन्दा स्थानीयले आगो बालेर ताप्न थालेको दृश्य धेरै ठाउँमा देख्न सकिन्छ। चिसोका कारण बालबालिका, वृद्धवृद्धा र विपन्न वर्ग बढी प्रभावित भएका छन्। अत्यधिक चिसोका कारण मानिसलाई घरबाहिर निस्किन कठिनाइ हुँदा बजारमा चहल पहल कममात्रामा देखिएको छ।
नेपालगञ्ज उद्योग वाणिज्य सङ्घका अध्यक्ष टङ्क धामीले चिसोले गर्दा न्यानो कपडाको बिक्रीवितरण बढे पनि अन्य व्यापार व्यवसायमा मन्दी रहेको बताउनुभयो। उहाँले शीतलहरका कारण अधिकांश सर्वसाधारण घरमै बसिरहेको उल्लेख गर्नुभयो।
चिसोका कारण स्वास्थ्यमा असर पर्ने सम्भावना बढेकाले बालबालिका, वृद्धवृद्धा र शारीरिक रूपमा कमजोर व्यक्तिहरूलाई विशेष ख्याल गर्न चिकित्सकहरूले आग्रह गरेका छन्। भेरी अस्पतालका सूचना अधिकारी डा सङ्केतकुमार रिसालले चिसो धेरै बढेकाले बालबालिका, वृद्धवृद्धा र शारीरिक रूपमा कमजोर व्यक्तिलाई चिसोबाट जोगाउन आग्रह गर्नुभयो। उहाँले अस्पतालमा चिसोले बिरामी भएका आउनेक्रम बढन थालेको जानकारी दिनुभयो।
यसैबीच, नारायणगढबाट रासस प्रतिनिधिले मङ्गलबारदेखि लागेको बाक्लो हुस्सुका कारण चितवनको जनजीवन प्रभावित भएको जनाएका छन्। शीतका कारण सडकमा गुड्ने सवारी साधनहरूको चाप केहीमात्रामा घटेको छन्। मानिस बाहिर निस्किन सकेका छैनन्। चोकचोक तथा पसल अगाडि आगो फुकेर ताप्दै गरेको दृष्य देख्न सकिन्छ।
शीतका कारण सडकहरू भिजेका छन् भने बाक्लो हुस्सु र चिसो हावाले यहाँको जनजीवनलाई प्रभावित बनाएको छ। जल तथा मौसम विज्ञान विभागकी मौसमविद् निर्मला रेग्मीका अनुसार अहिले यहाँ पानी परेको जस्तै देखिएको भए तापनि यो शीतलहर नै हो। उहाँले भन्नुभयो, “अहिले पानी पर्ने सम्भावना छैन। यो शीत नै हो।” तराईमा थप एक दुई दिन यस्तै रहनसक्ने उहाँले बताउनुभयो।
भरतपुर महानगरपालिकाका उपप्रमुख चित्रसेन अधिकारीले महानगरपालिकामा शीतलहरका कारण ठूलो प्रभाव परेको बताउनुभयो। दीर्घरोगी, ज्येष्ठ नागरिक तथा बालबालिकालाई यसले प्रभावित पारेको उहाँको भनाइ छ। महानगरपालिकाले तातोसँग बस्ने र अनावश्यक रूपमा बाहिर ननिस्कन नगरवासीलाई अनुरोध गरेको उहाँले बताउनुभयो। शीतलहर बढ्दै गए आवश्यकता र मागअनुसार दाउराको व्यवस्थापन गर्न महानगर तयारी अवस्थामा रहेको उहाँले जानकारी दिनुभयो।
माडी नगरपालिकामा यतिबेला शीतसहित चिसो हावाले त्यहाँको जनजीवन थप प्रभावित बनेको नगरपालिका प्रमुख ताराकुमार काजी महतोले जानकारी दिनुभयो। उहाँले भन्नुभयो, “चिसोका कारण विद्यार्थी र ज्येष्ठ नागरिक बढी सङ्ख्यामा प्रभावित भएका छन्।”
विद्यार्थी मात्रै नभएर सबै उमेर समूहका व्यक्तिहरू चिसोका कारण बिरामी पर्न थालेको आफूले जानकारी पाएको उहाँले बताउनुभयो। उहाँका अनुसार टोल सुधार समिति टोलटोलमा दाउराको व्यवस्था गरेर आगो ताप्ने काम गरेका छन्। आगो ताप्दैगर्दा सुरक्षा अपनाउन नगरपालिकाले अनुरोध गरेको उहाँले बताउनुभयो।
चितवनका प्रमुख जिल्ला अधिकारी प्रकाश पौडेलले अहिलेसम्म चिसोका कारण त्यस्तो कुनै घटना नघटेको बताउँदै यस्तै अवस्था रहेमा सतर्कता अपनाउन जरूरी रहेको बताउनुभयो। उहाँले भन्नुभयो, “केही दिन यस्तो रहे समस्या बढ्न सक्छ।”
शीतलहरका कारण स्वास्थ्यमा विभिन्न समस्या हुनसक्ने भन्दै उच्च सतर्कता अपनाउन चिकित्सकको सुझाव छ। भरतपुर अस्पतालका वरिष्ठ फिजिसियन डा प्रमोद पौडेलले चिसोका कारण श्वासप्रश्वासको समस्या बढ्ने भएकाले ज्येष्ठ नागरिक र बालबालिकालाई घर बाहिर ननिस्कन आग्रह गर्नुभयो। उहाँले भन्नुभयो, “अनावश्यक रूपमा बाहिर नहिडौँ। हिँड्नै परे न्यानो लुगा लगाएर मात्र हिडौँ।” घरमा आगो तथा हिटर ताप्दा सावधानी अपनाएरमात्रै ताप्न उहाँले अनुरोध गर्नुभयो। प्रशस्तमात्रामा झोलिलो पदार्थको सेवन गरी न्यानो कपडा लगाएर घरभित्र बस्ने उहाँले सुझाउनुभयो।
यसैगरी भैरहवाबाट रासस समाचारदाताले रूपन्देहीलगायत तराई क्षेत्रमा शीतलहरका कारण चिसो बढ्दा जनजीवन प्रभावित भएको छ। मङ्गलबारदेखि शीतलहर सुरू भएसँगै यहाँको जनजीवन कष्टकर बन्दै गएको छ।
शीतलहरको मारमा सबैभन्दा बढी विपन्न वर्ग परेका छन्। रिक्सा चालक, मजदुर, दैनिक ज्यालादारीमा काम गर्ने श्रमिक एवं बालबालिका तथा वृद्धहरू शीतलहरबाट बढी प्रभावित भएका छन्। केही दिनयता लगातार परिरहेको शीतलहरका कारण भैरहवाका बाटोहरू भिजेका छन् भने हवाई सेवासमेत प्रभावित भएका छन्।
गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल हवाई मौसम केन्द्रका अनुसार अहिले विमानस्थल हुस्सुका कारण बन्द गरिएको छ। केन्द्रका कार्यालय प्रमुख सुभाष रिजालले विमानस्थलका भिजिविलिटी एक हजार पाँच सय मिटरभन्दा पनि कम रहेको छ। योक्रम आजमात्र मात्रै नभई भोलि पनि यस्तै देखिने उहाँले जानकारी दिनुभयो।
पछिल्लो समय भैरहवा तथा यस आसपासमा न्यूनतम तापमान १० डिग्रीसम्म पुगेको छ। अत्यधिक चिसो बढ्दै गएपछि स्थानीयवासीले आफैँ जोहो गरी ठाउँठाउँमा आगो तापिरहेका छन्। यसअघि स्थानीय तहहरूले जाडो सकिएपछि मात्र न्यानो कपडा तथा दाउरा वितरण गर्ने परिपाटी रहेको कारण अहिले समयमै स्थानीय तहलाई न्यानो कपडा वा आगो बाल्न दाउराको उनीहरूको छ।
जिल्ला विपद् व्यवस्थापन समितिका अध्यक्षसमेत रहनुभएका प्रमुख जिल्ला अधिकारी वासुदेव घिमिरेले चिसोबाट जोगिनका लागि व्यवस्थापन भइरहेको बताउनुभयो। “डिभिजन वन कार्यालयको सहयोगमा अतिप्रभावित क्षेत्रहरूमा दाउरा वितरण गर्ने तथा स्थानिय तह एवम संघ संस्थाहरूका समन्वयमा न्यानो कपडाको जोहो गर्दैछौँ”, घिमिरेले भन्नुभयो “यसै विषयमा आजै समितिको बैठक बोलाइएको छ, यसलाई छिट्टै कार्यान्वयनमै लैजान्छौँ।”
चिसोका कारण सर्वसाधारणको दैनिकी प्रभावित हुँदै गइरहेको छ। चिसो तथा शीतलहर बढ्दै जादा अस्पतालमा बिरामीको चाप पनि बढ्दै गएको छ। चिसोबाट प्रभावित बिरामीमध्ये बालबालिका र वृद्धको सङ्ख्या बढिरहेको भैरहवास्थित भीम अस्पतालका बालरोग विशेषज्ञ तथा सूचना अधिकारी डा. आरिफ हुसेनले बताउनुभयो। शीतलहरसँगै चिसो बढ्दै जादा रूपन्देहीका कोटहीमाई, सम्मरीमाई, मर्चवारी, रोहिणलगायत पालिकाले विद्यालय बिदा दिएका छन्।
कैलाली र कञ्चनपुरमा जनजीवन कष्टकर
सुदूरपश्चिम : एक हप्तादेखिको कुहिरो र हुस्सुसँगै चलेको शीतलहरले कैलालीसहितका जिल्लाको जनजीवन कष्टकर भएको छ। दिनभरि लाग्ने बाक्लो हुस्सु र कुहिरोसँगैको शीतलहरले कठ्याङ्ग्रिने जाडो बढेपछि जनजीवन कष्टकर बनेको हो। लगातारको हुस्सुका कारण केही दिनदेखि कैलाली, कञ्चपुरमा घाम ताप्न पाइएको छैन। चिसो बढेसँगै जाडोको सामना गरिरहेका सर्वसाधारणलाई न्यानो कपडा र आगो ताप्न दाउराको समस्या भएको छ।
हिउँदेयाममा यस वर्ष विगतका वर्षको तुलनामा केही दिन ढिलोगरी चलेको शीतलहरले बढेको जाडोका कारण मजदुर, स्कुले बालवालिका, वृद्धवृद्धालाई बढी असर पुगेको छ।
चिसो बढेसँगै रूघाखोकी, बान्ता आउने, भाइरल इन्फ्लुइञ्जा, ज्वरोका बिरामी बढेको स्वास्थ्यकर्मी भक्तबहादुर विष्टले बताउनुभयो। उहाँले भन्नुभयो, “चिसोका कारण बिरामी भई उपचारार्थ आउनेको चाप बढेको छ, यस्तो बेला शरीरलाई न्यानो हुनेगरी बस्ने र तातो झोलिलो खानेकुरा खाने गर्नुपर्छ।”
तराईका जिल्लामा देखिने शीतलहरको समस्याले बर्सेनि जनजीवन नराम्रोसँग प्रभावित हुनेगर्छ। पहाडी क्षेत्रमा पारिलो घाम लाग्दा यतिबेला तराईका जिल्लालाई भने कुहिरो र हुस्सुले ढाकेको छ। घाम झुल्किन नपाउँदा सर्वासाधारणलाई बिस्कुन सुकाउन र धोएका लुगा सुकाउनसमेत समस्या भइरहेको छ।
शीतलहरले बढ्ने चिसोका कारण आलु, तोरीलगायतको हिउँदे बालीमा डढुवा रोगको समस्या देखिन थालेको किसानले बताएका छन्। हिउँदेयाममा बर्सेनि हुने शीतलहरले मुख्य बाली आलु, गोलभेँडा, तोरीमा देखिने डढुवा रोगले बाली नष्ट हुने समस्या स्थायी समस्या भइसकेको किसानको भनाइ छ।
यो रोगबाट जोगाउन कतिपय किसानले ‘टनेल’ (पारदर्शी प्लाष्टिकको छानासहितको टहरो) बनाएर त्यसमुनि गोलभेँडालगायतको तरकारी खेती गर्ने गरेका पनि छन्। टनेलको व्यवस्थापन गर्न नसक्ने कतिपयले ढुसीनाशक विषादी पनि छर्किने गरेका छन्।
यस्तो विषादी प्रत्येक सातरआठ दिनको फरकमा छर्किनसकेमा बाली जोगाउन सकिने सल्लाह कृषि प्राविधिकले दिने गरेका छन्। निरन्तरको चिसोका कारण रातिको तापक्रम तीन डिग्री सेल्सियसभन्दा तल जाने र आद्रता बढ्न गई शीत पर्ने र चिसो मौसमको सुषुुप्त अवस्थामा रहने ढुसी सक्रिय हुन गई आलु, गोलभेँडालगायतको बोटमा डढुवाको सङ्क्रमण देखिने गरेको कृषि प्रविधिक खगेन्द्रप्रसाद शर्मा बताउनुहुन्छ।
लामो समयसम्म हुस्सु र कुहिरो लागेर धेरै चिसो मौसम भइरहँदा राम्रोसँग घाम नलाग्ने ओसिलो जग्गामा गरिएको आलु, गोलभेँडालगायतको बालीमा डढुवा सङ्क्रमणको बढी समस्या हुने गर्छ। पछिल्ला दशकमा हिउँदे याममा डढुवा रोगको समस्या बढ्दै जाँदा कैलाली र कञ्चनपुर जिल्लामा गरिने तोरी बालीको क्षेत्रफल पनि घट्दै गएको छ।
धनगढी उपमहानगरपालिका–१३ का किसान रामदिन रानाले भन्नुभयो, “हिउँदमा लाग्ने डढुवा रोगले तोरीखेती नष्ट हुने गरेकाले यसको खेती नै गर्न छाडेका छौँ।” तोरीको विकल्पमा पछिल्ला वर्षमा धेरै किसानले धान र गहुँखेती गरेर चित्त बुझाइरहेको उहाँ बताउनुहुन्छ।