• २१ पुस २०८१, आइतबार

संविधानको मूल मर्म र भावना विपरीत संविधान संशोधन हुँदैन : सञ्चारमन्त्री गुरुङ

blog

प्रदेशस्तरीय मगर मौलिक सांस्कृतिक महोत्सव–२०८१ को उद्घाटन कार्यक्रममा बोल्नुहुँदै सूचना तथा सञ्चारमन्त्री पृथ्वी सुब्बा गुरुङ। तस्बिर : रमेश पौडेल

रमेश पौडेल

पोखरा, पुस १९ गते। सूचना तथा सञ्चारमन्त्री पृथ्वी सुब्बा गुरुङले संविधानको मूल मर्म र भावना विपरीत संविधान संशोधन नहुने कुरा बताउनुभएको छ। उहाँले संघीयता, धर्म निरपेक्षता, समानुपातिक र समावेशीताका सवालमा संविधान संशोधन नहुने स्पष्ट पार्नुभएको हो। 

प्रदेशस्तरीय मगर मौलिक सांस्कृतिक महोत्सव-२०८१ को पोखरामा शुक्रबार उद्घाटन गर्नुहुँदै मन्त्री गुरुङले संविधानसभाले निर्माण गरेको संविधानलाई नेपाली जनताको इच्छा र जनचाहनाअनुरुप मात्र संशोधन हुने बताउँदै यसमा सवालमा कुनै पनि राजनीतिक पार्टी भयभित हुनुनपर्ने बताउनुभयो।

नेपाल सरकारका प्रवक्तासमेत रहनुभएका मन्त्री गुरुङले संविधानको प्रावधानमा नै दश/दश वर्षमा संविधान संशोधन गरी सवल पक्षलाई अझै बलियो बनाउने र दर्बल पक्षलाई परिमार्जित गर्ने नीति रहेको उल्लेख गर्दै सोहीअनुरुप अहिलेको संविधानका केही प्रावधान संशोधन गर्न दलीय सहमति जुट्न थालेको बताउनुभयो। 

उहाँले संविधानको कार्यान्वयनमा आएका दुर्वल पक्षलाई हटाउन सबै पार्टीको सहमति आवश्यक पर्ने प्रष्ट पार्नुभयो। समानुपातिक र समावेशीले हाम्रो समाजलाई इन्द्रेणी समाजका रुपमा प्रस्तुत गरेकाले यस्ता सवाललाई कसरी व्यवस्थापन गर्ने भन्ने बारेमा सबै पार्टी स्पष्ट हुन जरुरी रहेको उहाँले बताउनुभयो।

मन्त्री गुरुङले वर्तमान सरकारले देखिने गरी केही काम नगरे जस्तो लागे पनि काम नतिजा बिस्तारै देखिन थालेको बताउनुभयो। उहाँले मुलुकलाई असफल राष्ट्रतर्फ जानबाट यस सरकारले जोगाएको गर्दै यसभन्दा अगाडिको सरकारले निर्माण व्यवसायीलाई दिनुपर्ने रकम दिन नसकेको र विचौलिया हाबी हुँदा विकास निर्माणले गति लिन नसकेको प्रष्ट पार्नुभयो।  यस अघिको सरकारले देशको आर्थिक अवस्था धरासायी बनाएको आरोप उहाँको थियो। वर्तमान सरकार आएपछि ११ वटा कानुन निर्माणको प्रकृयामा अघि बढेको भन्दै आगामी हिउँदे अधिवेशनमा उक्त कानुन पास हुने उहाँले बताउनुभयो। 

यो सरकार गठन भएको पाँच महिनामा १८ प्रतिशतले राजश्व वृद्धि भएको बताउँदै आगामी असारसम्ममा सरकारले धेरै राम्रा कामको प्रतिफल दिने उहाँको दाबी थियो। सहकारीका बारेमा बोल्दै मन्त्री गुरुङले कुनै पनि दलको छाता ओढेर आन्दोलन गरी आमजनतालाई सडकमा उतारेर उन्मुक्ति नपाउने बताउनुभयो। दोषीलाई कार्वाही हुुन्छ र पीडितले न्याय पाउँछन् भन्ने कुरामा सरकार दृढ रहेको उहाँले बताउनुभयो। 

मन्त्री गुरुङले सरकारले हालसम्म २२ वटा सहकारीबाट ९० अर्बको छानबिन गरी तीन अर्बको बचत फिर्ता गरेको जानकारी दिनुभयो। सरकारले सहकारी रकम हिनामिना र अपचलन  गर्ने कुनै पनि दलका नेतालाई नछाड्ने बताउनुहुँदै हालसम्म ६ सय भन्दा बढी व्यक्ति थुनामा परेको जानकारी दिनुभयो। उहाँले बचतकर्ताको रकम फिर्ता गर्नका लागि सरकारले कानुन ल्याएको समेत बताउनुभयो।

आदिबासी जनजातिका बारेमा बोल्दै उहाँले नेपालका आदिबासी जनजातिको भाषा, संस्कृति, भेषभुषा राष्ट्रिय सम्पत्ति भएकाले यसको संरक्षणमा सबै पक्ष लाग्नुपर्ने बताउनुभयो। आदिवासी धनी भएता पनि हाम्रो नेपाल बहुभाषी धर्म समुदायले भरिपूर्ण रहेको स्पष्ट पार्नुभयो। संविधानले दिएको आरक्षण सुविधालाई अधिकतम् उपयोग गर्दै जनजातिको ज्ञान, सिप र संस्कृतिको उपयोग देशका हितमा लगाउनुपर्नेमा उहाँले जोड दिनुभयो।

कार्यक्रममा नेपाल पत्रकार महासंघ गण्डकी प्रदेशका अध्यक्ष रमेश पौडेललगायत नवनिर्वाचित पत्रकार र महोत्सवमा घाटु, मारुनी नृत्य गर्ने कलाकार लगायतलाई मन्त्री गुरुङले सम्मान गर्नुभएको थियो। महोत्सवका संयोजक तारामाया थापाको अध्यक्षतामा सम्पन्न सो कार्यक्रममा गण्डकी प्रदेशका विभिन्न जिल्लाका मगर जातिले ऐतिहासिक, परम्परागत नृत्य प्रर्दशन गरेका थिए।