• २१ पुस २०८१, आइतबार

जाडो छल्न साम्दोका सिङ्गो गाउँ बेँसी झर्दै

blog

गुणबहादुर रोका 

सुलीकोट, पुस १९ गते । गोरखा सदरमुकामबाट ५५ कोष टाढा तिब्बतको सिमाना नजिक रहेको गोरखाको अन्तिम गाउँ साम्दोका सिङ्गो गाउँले बेँसी झरेका छन् । 

गत शनिबार र आइतबार परेको हिउँले गाउँ ढाकेपछि माइनस २० डिग्री तापक्रम झरेपछि सिङ्गो गाउँ बेँसी झरेको चुमनुब्री गाउँपालिकाका १ का वडा अध्यक्ष कर्मसेबाङ लामाले जानकारी दिनुभयो । 

उहाँका अनुसार चुमनुब्री गाउँपालिकाको साम्दोमा ४३ घर धुरी गाउँ छाडेर फिलिम, छेकम्पार, गोरखा सदरमुकाम र काठमाडौं सरेका छन् । साम्दोमा भएका ८ होटेलमध्ये ७ वटा होटेल बन्द भइसकेको र एउटा होटेलमा एक जना मात्रै काम गर्ने कर्मचारी रहेको होटेल व्यवसायी निमा लामाको भनाइ छ । 

अत्यधिक मात्रामा चिसो बढेसँगै त्यहाँ पुग्ने पर्यटककाे सङ्ख्या घट्दै जान थालेको छ । साम्दाबोट ३ घण्टा हिँडेपछि धर्मशाला होटेल पुगिन्छ धर्मशालबाट लार्केपास जान्छन् र त्यहीँबाट पर्यटकहरु मनाङ पुग्छन् । अहिले बेमौसम भएकाले पनि विदेशी पर्यटकको सङ्ख्यामा कमी आएको हो । फाट्टफुट्ट रुपमा देखिएका पर्यटकलाई धर्मशाला भन्ने ठाउँमा होटलका एक जना कर्मचारीले होटेल खालेर पर्यटक एवं गाईडहरुलाई खाना बनाएर र खुवाउने गरेका छन् । 

दिनभरि घोडा चौंरी र याक जङ्गलमा छोडेर गए पनि बेलुका गोठमा बाँध्नका लागि एकजना हेरालुले जिम्मा लिएको स्थानीय फाल्टेन लामाले बताउनुभयो । अहिले साम्दोमा एपीएफको आउट बोडर पोष्टका सुरक्षाकर्मी, घोडा एक र चौरी हेरालु साथै एक जना होटलका कर्मचारी मात्र भएको बोर्डर आउट पोष्टका प्रमुख धर्म पण्डितले बताउनुभयो । 

जाडो सकिएसँगै सिजनमा पर्यटकहरु भित्रिने समय फागुनको दोस्रो साताबाट मात्र गाउँका मानिसहरु गाउँ फर्कने व्यवासायी निमा लामाले जानकारी दिनुभयो । साम्दोमा १ फिट हिउँ अहिले पनि भएकाले खानेपानी पाईपमा जमेर समस्या भएको सशस्त्र प्रहरी निरीक्षक पण्डितको भनाइ छ । 

अहिले ४३ घर धुरीमा सबै घर परिवारहरु बेँसी झरिसकेको तथा सशस्त्र प्रहरीको आउट बोर्डर पोष्ट रहेका सुरक्षाकर्मी बाहेका गाउँमा कोही नदेखिएका साम्दो आउट बोर्डर पोष्टका सशस्त्र प्रहरी निरीक्षक धर्म पण्डितले बताउनुभयो ।