अमृतप्रसाद पौडेल
म्याग्दी, पुस १७ गते। हिमालपारीको जिल्ला मुस्ताङ र चीनको स्वशाषित क्षेत्र तिब्बत सिमाना पर्ने कोरलामा खट्ने सुरक्षाकर्मी तथा कर्मचारीलाई बन्दोबस्तीको सामान प्रर्याप्त नभएको विषयमा आवाज उठेको छ। जिल्ला प्रशासन कार्यालय, मुस्ताङले बुधबार जोमसोममा आयोजना गरेको सेवा प्रवाह सम्बन्धमा सहजीकरण, समन्वय र सार्वजनिक सुनुवाइ कार्यक्रममा नागरिकको तर्फबाट प्रश्न गर्दै उनीहरुले सो धारणा राखेका हुन्।
नेपाल पत्रकार महासंघ मुस्ताङ शाखाकी अध्यक्ष सुनदेवी रसाइलीले चीन नेपाल सिमानामा कार्यरत सुरक्षाकर्मी, प्रहरी, शसस्त्र प्रहरी बल र अन्य कर्मचारीलाई भूगोल अनुसारको बन्दोबस्तीको सामान राम्रो नभएको धारणा राख्नु भयो। उहाँले चार हजार मिटरको उचाइमा रहेको नाकामा काम गर्ने सुरक्षाकर्मी र कर्मचारीलाई भूगोल अनुसारको सामग्री उपलब्ध नहुँदा जोखिम रहेको बताउनुभयो।
मुस्ताङको प्रशासनको सेवा सन्दर्भमा कुरा राख्दै रसाइलीले आमाको नाममा नागरिकता लिनेको सङ्ख्याका बारेमा चासो राख्नुभयो। त्यस्तै, चीन नेपाल सिमानामा बिहान ९ देखि दिउँसो ३ बजेसम्म मात्रै प्रवेश पाउने व्यवस्था थप व्यवस्थित गर्न माग गर्नुभयो। अध्यागमन कार्यालय उद्घाटन मात्रै भएको तर सञ्चालन नभएकोले त्यसलाई व्यवहारमै सञ्चालनमा ल्याउन पर्ने उहाँको भनाइ छ।
सार्वजनिक सुनुवाइ कार्यक्रममा पेमा छेटेन विकले मुस्ताङ जिल्लामा मूल्यमा एकरुपता ल्याउनका लागि जिल्ला प्रशासनको अगुवाइमा समय समयमा बजार अनुगमन हुनुपर्ने धारणा राख्नुभयो। उहाँले एउटै सामानको मूल्य पसलैपिच्छे फरक भएको हुँदा उपभोक्ता मर्कामा परेको विषयमा सम्बन्धित पक्षको ध्यनाकर्षण समेत गराउनुभयो।
संविधानसभा सदस्य चन्द्रबहादुर गुरुङले उपल्लो मुस्ताङ क्षेत्रलाई राज्यले अर्धनिषेधित क्षेत्र मानेकोमा त्यसलाई हटाउनका लागि प्रशासनले पहलकदमी चाल्नुपर्ने बताउनुभयो। उहाँले प्रशासनले सार्वजनिक सुनुवाइ राखेर सकारात्मक सुरुवात गरेको र यस्ता कार्यक्रममा स्थानीयको सहभागीता बढाउनुपर्नेमा जोड दिनुभयो।
उहाँले राज्यको निकायबाट हुने काममा हुनसक्ने ढिलासुस्ती तथा कमीकमजोरी औल्याउने र त्यसलाई हटाउन सबैले पहल गर्नुपर्ने धारणा राख्नुभयो। उहाँले मुक्तिनाथ मन्दिरका साथै जिल्लाका धार्मिक तथा पर्यटकीय स्थलको संरक्षण र विकासमा ध्यान दिन आग्रह पनि गर्नुभयो।
यसैगरी, जिल्ला समन्वय अधिकारी कृष्णराज पौडेल, घरपझोङ गाउँपालिकाका कार्यवाहक अध्यक्ष फलेन्द्र थकाली, जिल्ला समन्वय समिति प्रमुख माया गुरुङलगायतले मन्तव्य राख्नुभयो।
मुस्ताङका प्रमुख जिल्ला अधिकारी विष्णुप्रसाद भुसालले मुस्ताङबाट ३० जना भन्दा धेरै नेपाली नागरिकले आमाको नामबाट नेपाली नागरिकताको प्रमाणपत्र प्राप्त गरिसकेको जानकारी दिनुभयो। त्यस्तै, सीमानामा खट्ने सुरक्षाकर्मी तथा कर्मचारीको बन्दोबस्तीको अवस्था बुझ्न स्थलगत अध्ययनपछि थप अगाडी बढ्ने भनाइ उहाँको छ।
प्रजिअ भुसालले भक्तजनको स्वास्थ्यलाई ध्यानमा राख्दै मुक्तिनाथ विकास समितिले एम्बुलेन्स खरिदको तयारी थालेको बताउनुभयो। त्यस्तै, चीन प्रवेशका लागि विद्युतीय पासको तयारी गरिनुका साथै टाइकार्ड हटाउनका लागि पहल थालिएको उहाँको भनाइ छ।
उहाँले मुक्तिनाथ मन्दिरलाई व्यवस्थित सञ्चालनका लागि मुक्तिनाथ विकास समितिको अडिट गर्ने, कर तिर्ने र पान नम्बर लिने काम भइरहेको पनि बताउनुभयो।