रमेश पौडेल
पोखरा, पुस १६ गते । राष्ट्रियता र सार्वभौमिकताको रक्षाका लागि जननायक बिपी कोइरालाले राष्ट्रिय एकता र मेलमिलापनको नीति लिएको पोखरामा आयोजित प्रवचन कार्यक्रममा विभिन्न दलका नेताले बताएका छन् ।
नेपाली कांग्रेस गण्डकी प्रदेशद्वारा मंगलबार पोखरामा आयोजित ४९ औं राष्ट्रिय एकता र मेलमिलाप दिवस अवसरमा आयोजित प्रवचनका बोल्ने वक्ताले राष्ट्रिय आवश्यकता अनुरुप बिपीको मेलमिलापन नीति अहिले आएर पनि प्रभावकारी भएको बताएका छन्।
कार्यक्रममा बोल्दै नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले वर्तमान सत्ता गठबन्धन बिपीको राष्ट्रिय एकता र मेलमिलापको आत्मसात गरी बनेको बताउनुभयो । उहाँले तत्कालीन समयमा देशबाहिर रहेको अवस्थामा नेपालको सार्वभौमिकतामाथि खतरा देखेर बिपीले राजासँग मिलेर देशलाई बचाउनुपर्छ र राष्ट्रियता जोगाउनुपर्छ भन्ने नीतिले प्रवासबाट फर्किएर मेलमिलापको नीति अघि बढाउनुभएको स्मरणसमेत स्मरण गर्नुभयो । उहाँले संविधानको र संघीय लोकतान्त्रिक गणतन्त्रको रक्षा गर्दै प्रजातान्त्रिक अभ्यासलाई अघि बढाउन बिपीको मेलमिलापको नीति आवश्यक रहने धारणा राख्नुभयो ।
गण्डकी प्रदेशका पूर्व मुख्यमन्त्री एवं एमाले स्थायी कमिटी सदस्य खगराज अधिकारीले तत्कालीन समयमा भारतले सिक्किमलाई लिइसकेको अवस्थामा बिपी कोइरालाले पनि राष्ट्रिय र सार्वभौकिताको रक्षाका लागि सबै राष्ट्रिय शक्ति एक हुनुपर्छ भनी फर्किएको बताउनुभयो । उहाँले मुलुकको राष्ट्रियता र सार्वभौमिकतामा कसैसँग पनि सम्झौता नगर्ने नेताको रुपमा स्मरण गर्नुभयो । उहाँले राजनीति सेवा हो, पेसा होइन भन्दै मुलुक सुगाउँदो समाजवादको व्याख्या गर्ने नेताको रुपमा बिपीलाई चित्रण गर्नुभयो । उहाँले बिपी कोइराला नेपाली कांग्रेसको मात्र नभई सबैका नेता भएको बताउनुभयो ।
नेपाली कांग्रेस प्रदेश सभापति शुक्रराज शर्माले सहमति, सहकार्य र मेलमिलाप नै बिपीको मेलमिलापको नीति भएको बताउनुभयो । उहाँले राष्ट्रियता, प्रजातन्त्र समाजवादको परिकल्पनाले नै मुलुकलाई शासन गर्ने परिकल्पना गर्नुभएकाले वर्तमान अवस्थामा पनि प्रजातन्त्रको विकल्प प्रजातन्त्र भएको बताउनुभयो ।
राप्रपा गण्डकी प्रदेश संसदीय दलका नेता पञ्चराम गुरुङले बिपी राष्ट्रियता र प्रजातन्त्रको मात्र नभई मुलुकको लागि दूरदर्शी नेताको रुपमा स्मरण गर्नुभयो ।
त्यस्तै राष्ट्रिय जनमोर्चा गण्डकी संयोजक शंकर बरालले बिपी भएको भए मुलुकको लागि वर्तमान अवस्थामा संघीयताको अभ्यास नहुने तर्क गर्नुभयो ।
नेकपा (एकीकृत समाजवादी) का केन्द्रीय सचिव श्रीनाथ बरालले बिपीको समाजवादी धारणा मुलुकले अनुशरण गरेर जानुपर्ने बताउनुभयो । नेकपा समाजवादी गण्डकीका अध्यक्ष किरण थापाले बिपी क्रान्तिकारी र दूरदर्शी नेता भएकामा सबैले उहाँको पद्चाप पछ्याउनुपर्ने बताउनुभयो ।
कार्यक्रममा नेपाली कांग्रेस गण्डकी उपाध्यक्ष कल्पना तिवारी, प्रवक्ता माधव बास्तोला मधुलगायतले तत्कालीन समयमा बिपीले मेलमिलापको नीति अहिले सार्थक बनेको बताउनुभयो।