• २४ पुस २०८१, बुधबार

सूर्यक्ष र पारुललाई जुनियर उपाधि

blog

जुनियर इन्टरनेसनल सिरिज–२०२४ मा प्रतिस्पर्धा गर्दै खेलाडी ।

काठमाडौँ, पुस १४ गते । काठमाडौँमा जारी योनेक्स सनराइज नेपाल जुनियर इन्टरनेसनल सिरिज–२०२४ अन्तर्गत पुरुष एकलतर्फको उपाधि सूर्यक्ष रावत र महिलातर्फ पारुल चौधरीले जित्नुभएको छ । 

भारतीय खेलाडीको दवदवा रहेको प्रतियोगिताको पुरुष एकलतर्फ सूर्यक्षले अंश नेगीलाई २१–१७, २१–१८ ले हराउनुभयो । यस्तै महिलातर्फ चौधरीले मेधावी नागरलाई २१–१७, २१–१६ ले पछि पार्नुभयो । 

पुरुषतर्फ साईप्रसाद तिगला र बिश्वजित चौधरी तथा महिलातर्फ ईशिता नेगी र दिया भिमैयाले कांस्य जित्नुभयो । नेपाल ब्याडमिन्टन सङ्घको आयोजनामा भएको प्रतियोगिताको महिला युगलतर्फको उपाधि आन्या विष्ट र एन्जल पुनेराले हात पार्नुभयो । उक्त जोडीले दिया भिमैया र बरुणी पर्सवाललाई २१–१४, २१–१८ ले पछि पार्नुभयो । 

ईशिता नेगी र भान्सिका ठाकुर तथा जेनिथ अब्बिगिल र तारिनी सुरीको जोडी तेस्रो हुनुभयो । पुरुष युगलतर्फ भाब्य छाबरा र परम चौधरीको जोडीले जित हात पार्दै उपाधि जित्नुभयो । 

छाबरा र चौधरीको जोडीले दिभ्यांस अग्रवाल र निरज केशरीको जोडीलाई २१–१७, २१–१५ ले पराजित गर्नुभयो । दभ्यांश रावत र योगांश सिंहको जोडी तथा सीलालराम र सौरभ साहुको जोडी तेस्रो हुनुभयो । 

मिक्स युगलतर्फ भाब्या छावरा र एन्जल पुनेराको जोडीले गर्भ सानी र ईशिता नेगीको जोडीलाई २१–१३, २१–१४ ले हराउँदै उपाधि जित्नुभयो । सौरभ साहु र प्रगती परिदा तथा बिजोन जैसन र आन्या विष्टको जोडी तेस्रो हुनुभयो । 

पाँचवटै विधाको सेमिफाइनलमा भारतीय खेलाडीको मात्र प्रतिस्पर्धा रहेको थियो । तीन दिने प्रतियोगिातमा भारतका ६०, नेपालका १६, थाइल्यान्डका १०, युएइका चार, इरानका ती, न्युजिल्यान्डका दुई तथा मलेसिया, अस्ट्रेलिया, बङ्गलादेश र इन्डोनेसियाका एक एक जना खेलाडीको सहभागिता रहेको थियो ।