• ४ माघ २०८१, शुक्रबार

मकै खोसेला र सिरुमा सौन्दर्य भर्दै नरमाया

blog

हरिप्रसाद कोइराला 

उर्लाबारी, पुस १४ गते । मोरङको उर्लाबारी –७ की नरमाया दङ्गाल स्थानीय स्रोत र परम्परागत सीपलाई व्यावसायिक रूपमा प्रयोग गरेर राम्रो आर्थिक लाभ लिइरहनुभएको छ । दङ्गाल गाउँघरमा खेर गइरहेका रैथाने वस्तुहरूमा सौन्दर्य भरेर आकर्षक सजावटका सामग्री निर्माण गर्नुहुन्छ । 

पछिल्लो समय उहाँले उत्पादन गरेका सामग्रीहरूले राम्रो बजार पाउन थालेका छन् । मकैको खोसेलाका पिरा, ढक्की, अतिथिहरूलाई लगाइदिने ब्याचदेखि खोला किनारमा खेर गइरहेको सिरुबाट समेत उहाँ विभिन्न प्रकारका घरायसी उपयोगका सामग्री निर्माण गर्नुहुन्छ । कच्चा पदार्थ सङ्कलनमा खासै समस्या छैन । तर निर्माण र तिनमा सौन्दर्य भर्न भने नरमायाले निक्कै समय खर्चिनुपर्छ । सामान्य लगानीको उद्योगमा आफ्नो सीप र कला भर्दै आउनुभएकी नरमाया दङ्गाल अहिले नेपाल बाहिरबाट आएको माग पूरा गर्न जुटिरहनुभएको छ । आफू मात्र होइन आफूसँगै काम गर्ने चार जना सहयोगीसँगै उहाँ दिनरात खट्नुहुन्छ ।

श्रीमान् खगेन्द्रप्रसाद दङ्गाल र छोराछोरी सबैले नरमायालाई भरथेग गर्नुभएको छ । नरमायाले भन्नुभयो – हातले बनाएका सामानको माग उच्च छ । लगाउने सबै खाले लुगा बनाउँदै आउनुभएकी उहाँ समाचार सङ्कलन गर्न उद्योगमा पुगेको बेला थाइल्यान्ड ,दुबई र अष्ट्रेलियाबाट माग भएका धागोबाट हातले बुनेका घरेलु सामग्री बनाउन व्यस्त हुनुहुन्थ्यो । उहाँले थप्नुभयो – हामी बनाएर नेपालमै जिम्मा दिन्छौँ । थोकमा पठाउने गरी उत्पादन गर्न सकेका छैनौँ । 

उहाँ खास गरी  ऊन र धागोबाट निर्माण हुने  हाते स्विटर,स्टक, मिडी, कोटलगायतका थुप्रै सामग्री निर्माण गर्नुहुन्छ । सजावटका लागि आवश्यक पर्ने फूलहरू, झुमर, गमला, ढक्की,  आरी, पिरालगायतका धेरै प्रकारका सामग्री निर्माण गरिरहनुभएकी दङ्गाल २०७५ देखि व्यावसायिक रूपमा यो पेसामा हुनुहुन्छ । झापा दमकको चन्द्र सूर्य सीप विकास संस्थाबाट २०६५ सालमा तालिम लिएपछि नरमायाले आफै घरेलु उद्योग सञ्चालन गर्ने सपना बुन्नुभयो ।त्यसपछि घरमै काम गर्न थाल्नुभएकी दङ्गाल भन्नुहुन्छ – घरमा काम गर्दै १० वर्ष जति तालिम दिन हिडें । तीन ,चार सयलाई तालिम पनि दिएकी छु ।

२०७५ सालमा नरमाया हस्तकला उद्योग दर्ता गरेर उहाँले आफैं काम थाल्नुभयो । पाँच वर्षयता नरमायालाई सबैको हौसला मिलेको छ । उहाँले उत्पादन गरेका घरेलु सामग्री विभिन्न प्रदर्शनी पुग्न थालेका छन् । सिरुको ढक्की दाङको थारु सङ्ग्रहालयसम्म पुगेको नरमायाले सुनाउनु भयो । मूल्य धेरै पर्दैन तर नेपाली सीप र परम्परा झल्कने वस्तुहरू देश देशान्तरसम्म पुग्दा बेग्लै आनन्द प्राप्त हुँदोरहेछ, उहाँले अनुभव सुनाउँदै भन्नुभयो ।