अमृतप्रसाद पौडेल
म्याग्दी, पुस १२ गते । आर्थिक उपार्जनका लागि विदेश जानुपर्छ भन्ने नेपालको आम बुझाइ छ । तर आफ्नै मुलुकभित्र राम्रो मेहनत गर्ने हो भने चित्तबुझ्दो पैसा कमाउन सकिन्छ भन्ने उदाहरण बन्नुभएको छ बाराको सिमरौनगढ नगरपालिका १ का जवाहर मुखियाका परिवार ।
मुखिया नेतृत्वमा बेनी नगरपालिका –१ रत्नेचौरमा आएर ईटा बनाउँदा मुलुकभित्र पनि कमाउन सकिन्छ भन्ने देखिएको छ । ४७ वर्षिय जवाहर मुखियाले रत्नेचौरमा आएर ईटा बनाउने काम गर्न थालेको १३ वर्ष पुग्यो । जवाहरसँगै ४१ वर्षिय गोपिचन मुखिया पनि ईटा बनाउने कामका लागि आउनुभएको छ ।
गोपिचन र जवाहर दुई जना मंसिर २ गते रत्नेचौर आएपछि काम हेरेर आफ्ना छोराहरुलाई पनि बोलाउनुभयो । जवाहरले आफ्नो १८ वर्षिय छोरा कृष्ण र गोपिचनले आफ्नो २२ वर्षिय छोरा श्यामसुन्दरलाई पनि बोलाएर चार जनाले ईटा बनाउने काम जोडतोडसाथ गरिरहनुभएको छ ।
चिसो सिरेटो चल्ने रत्नेचौरमा दुई पुस्ताका चार जना मुखियाको दैनिकी बिहान साढे ६ बजे सुरु हुने काम सकिन रातको झण्डै ८ बज्छ । कहिले पाँच ६ बजे सकिन्छ काम कहिले राति सात बज्ने गोपिचनले सुनाउनुभयो । अघिल्लै दिन तयार गरेको माटोबाट बिहान ईटा बनाउन थालेर शुरु भएको दैनिकीले बेलुका सुकेका ईटाको चाङ लगाउने र फेरि भोलिका लागि माटो मुछेपछि सकिन्छ ।
भोलिका लागि माटो तयार गरेर राति ८ बजे बिश्राम मिल्छ । हरेक दिन बेलुका इटाको चाङ लगाउने र भोलिका लागि माटो तयार गरेपछि त्यो दिनको दिनचर्या सकिने उहाँहरुको भनाइ छ । जवाहर मुखियाका दुई छोरा दुई छोरीमा छोरीको विवाह भइसकेको छ ।
गोपिचनका दुई छोरा र श्रीमती अनि बुहारी र २ नातीनी छन् । फागुनसम्म ईटा बनाउने र होली मनाउन घर जाने हो, गोपिचनले भन्नुभयो । विदेश जानुपर्छ भन्ने छैन, यहीँ काम छ र काम गरेमा कमाइ पनि हुन्छ । त्यही भएर छोराहरुलाई पनि कामका लागि यहाँ बोलाएको हो, जवाहरको भनाइ छ ।
विगतका वर्षमा असोजमा आएर फागुनसम्म ईटा बनाएर होली मनाउन घर फिर्ने गरेको भए पनि यस वर्ष मंसिर २ गते मात्र यहाँ आइपुगेका थियौं उहाँले सुनाउनुभयो । ईटाको काम गर्न आएका मुखिया परिवारले विहान उठेपछि ईटा बनाउने स्थानसँगै भएको छाप्रोमा खाना बसालेर खाना हेर्दै काम गर्दै गर्ने अनि १० बजे बिहान खाना खाने गर्ने गरेको बताउनुभयो ।
१३ वर्षदेखि लगातार आउने गरेका जवाहरले गाउँका अरु साथीलाई पनि ल्याउने गरेको सुनाउनुभयो । गोपिचन जवाहरका पुरानै पार्टनर हुनुहुन्छ । गत वर्ष ईश्वर मुखिया आएको थियो, यस वर्ष भने आफ्नै छोराहरुलाई बोलायौं । गत वर्ष आएको ईश्वर यो साल आएनन् जवाहर सुनाउनुहुन्छ ।
एउटा ईटा तयार गरेको साढे दुई रुपियाँका दरले दिने ईटाका साहु एकिन्द्र महतको भनाइ छ । ईटा उद्योगमा काम गर्नेलाई यहाँ बस्ने प्रवन्ध मिलाउने र खानाका लागि पनि व्यवस्थापन गरिदिने गरेको महतको भनाइ छ । उहाँ भन्नुहुन्छ, ‘माटो यही हुन्छ, ईटाका लागि माटो मुछेर ईटा बनाउने अनि सुकेपछि गनेर चाङ बनाउनेसम्म काम गरेकोप्रति ईटा साढे दुई रुपियाँ दिने गरेको छु ।’
दिनमा पैतीस सयदेखि चार हजार इटा बनाउने गरेका छन् । झण्डै छ महिना काम गरेर होली मनाउनका लागि मात्र उनीहरु घर फर्कने गरेका छन्–महतले भन्नुभयो ।
एक सिजन काम गरेर घर फर्कीदा सबै खर्च कटाएरै पनि झण्डै दुईदेखि दुई लाख ५० हजार रुपियाँ घर लैजाने बेनी नगरपालिका –१ का वडा अध्यक्ष टेकबहादुर थापाले बताउनुभयो । पहिला रत्नेचौर क्षेत्रमा धेरै थिए ईटा बनाउनेहरु थिए । अहिले कम भएको उहाँको भनाइ छ ।