• १३ पुस २०८१, शनिबार

प्रयोगविहीन बन्यो अस्पताल भवन

blog

म्याग्दी समाचारदाता 

बेनी (म्याग्दी), पुस १२ गते । करोडौँ रुपियाँ खर्चिएर निर्माण गरिएको पालिकास्तरीय अस्पताल भवन प्रयोगविहीन भएको छ । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–१, दोवामा निर्माण भएको पालिकास्तरीय अस्पताल भवन मेडिकल उपकरण, जनशक्ति र अन्य पूर्वाधारको व्यवस्थापन नहुँदा दुई वर्षदेखि प्रयोगविहीन बनेको हो । 

गाउँपालिका अध्यक्ष भारतकुमार पुनले भन्नुभयो, “भवन मात्र ठडिएको छ । अस्पताल सञ्चालनका लागि आवश्यक पर्ने अन्य पूर्वाधारको अभाव छ  । मेडिकल उपकरण खरिद गर्ने बजेट छैन् । भवन मात्र बनाएर अस्पताल सञ्चालन गर्न सकिँदैन ।” उहाँले अगाडि भन्नुभयो, “अस्पतालका लागि आवश्यक पर्ने पूर्वाधार र जनशक्ति माग गर्न तीन पटकसम्म सङ्घीय सरकारसम्म पुग्यौँ, हाम्रो कुराको सुनुवाइ भएन । उपल्लो निकायबाट देशभर यस्तै समस्या छ भनेर जवाफ पायौँ । अस्पताल सञ्चालनमा ल्याउन नसक्दा अहिले भवन अलपत्र जस्तै बनेको छ ।” 

सङ्घीय सरकारको सबै पालिकामा आधारभूत तहको अस्पताल सञ्चालन गर्ने उद्देश्य अनुसार २०७९ फागुनमा अस्पताल भवन निर्माण सम्पन्न भएको थियो । भवन बनेको लामो समय हुँदा पनि अस्पताल सञ्चालनमा नआउँदा पालिकावासी आधारभूत तहको स्वास्थ्य सेवा पाउनबाट वञ्चित भएको पालिका अध्यक्ष पुनले बताउनुभयो ।  

पाँच करोड १२ लाख ६० हजार ६५२ रुपियाँ लागतमा अपाङ्गतामैत्री पाँच शय्या क्षमताको भूकम्प प्रतिरोधी भवन निर्माण भएको थियो । निर्माण भएको भवनमा आकस्मिक कक्ष, अन्तरङ्ग, बहिरङ्ग, प्रयोगशाला, प्रशासनिक, औषधी भण्डार कोठा, उपचारका लागि छुट्टाछुट्टै कक्ष र स्वास्थ्यकर्मी निवाससहित ३५ वटा कोठा रहेका छन् । भवनको माथिल्लो तल्लाका तीन वटा कोठामा स्वास्थ्यकर्मीका लागि आवास निर्माण गरिएको छ । 

भवन निर्माणका लागि २०७८ वैशाख १७ गते रविना–अमित जेभीले सम्झौता गाउँपालिकासँग सम्झौता गरी भवन निर्माण गरेको थियो । भवन निर्माण सम्पन्न भए पनि निर्माण व्यवसायीलाई केही रकम भुक्तानी गर्न बाँकी रहेको पालिकाको भनाइ छ । आवश्यक सामग्री र जनशक्ति व्यवस्थापन गरी अस्पताल सञ्चालनका लागि गाउँपालिकाले सङ्घीय सरकारसँग माग गरेको पालिका अध्यक्ष पुनले बताउनुभयो ।