• ११ असोज २०८१, शुक्रबार

धिमाल बस्तीमा जात्रीको रौनक

blog

उर्लाबारी, जेठ ८ गते ।  पूर्वी नेपालको झापा, मोरङ र सुनसरीमा बसोबास गर्ने  अल्पसङ्ख्यक धिमाल जातिको जात्री पर्व सुरु भएको छ । मोरङको लेटाङ–१, भोगटेनीस्थित राजारानी महाराजस्थान धिमाल जातिको उद्गम स्थल मानिन्छ । सोही स्थानमा पूजाआजा गरेपछि जात्री पर्व सुरु हुन्छ । अघिल्ला दुई वर्ष कोरोनाले प्रभावित भएको जात्री पर्वलाई यस वर्ष उल्लासमय रूपमा मनाइँदै छ । वैशाख २ गतेदेखि जात्री पर्व सुरु हुन्छ । भोगटेनीबाट पर्व सुरु भएपछि धिमाल बस्तीको टोलटोलमा जात्री पुग्ने गर्छन् ।

प्रकृतिपूूजक धिमाल जातिले रोगव्याधि नलागोस्, बाली बिरुवा लगाउने बेलामा वर्षात् होस्, जङ्गली जनावरले दुःख नदियोस् लगायत कामनासहित हाँस, कुखुरा, सुँगुरको बलि दिएर सामूहिक पूजाआजा गर्ने गर्छन् । परापूर्वकालमा धिमाल जातिले प्राकृतिक तथा वन्यजन्तुबाट आउने अप्ठ्यारा र समस्या समाधान गर्न ग्रामथानमा पूजा गर्दा कामना पूरा भएपछि यसलाई निरन्तरता दिँदै जात्री मनाउन थालिएको जनविश्वास छ । 

सिर्जात अर्थात् सामूहिक पूजा वा जात्री नयाँ वर्षको पहिलो चाड भएकाले सालभरि कसैलाई पनि रोगव्याधी नलागोस्, शोक नपरोस् र सुख शान्ति छाओस् भन्ने कामनासाथ यो पर्व मनाइन्छ । कानेपोखरी–५ का प्रकाश धिमालले भन्नुभयो, “यो पर्वमा साली आमोई देवीलाई धिमाल समुदायले बिरामी हुनबाट जोगाउने देवीका रूपमा पूजा गर्छन् ।”साली आमोईको पूजामा कुनै सामग्रीको अपुग भए मानिसमा रोग व्याधा लाग्ने र उनले दुःख दिने मान्यता रहेको छ ।

त्यस्तै जला (पारवती) आमोईको पूजा खास गरी बाढी पहिरो, खोलानालाले दुःख नदेओस भनेर गर्ने गरिन्छ । धन सम्पति प्राप्त होस, श्रीवृद्धि होस्, खान लाउन अनिकाल नलागोस्, प्रशस्त कृषि उत्पादन होस् भनेर लक्ष्मी आमाईको पूजा गर्ने गरिन्छ । स्थानीय बुढापाकाका अनुसार ज्ञान प्राप्त होस्, कोही पनि अज्ञानी नहुन्, शिक्षा र बुद्धि विवेक प्राप्त होस् भनेर सरस्वती आमाईको पूजा गर्ने गरिन्छ । खेतीपातीका सामग्री र लगाउन चाहिने लुगा बुन्न आवश्यक धागो, कपडा, तन्नाको कहिल्यै अभाव नहोस् भनेर टुकुनी आमोईको पूजा गर्ने गरिन्छ । सानासाना बाल बच्चालाई दुःख नहोस्, रोग व्याध नलागोस्, सँधै रेखदेख गरुन् भनेर डिङडिङ आमोईको पूजा गर्ने गरिन्छ । सबै जातिका लागि लुगा उत्पादन गर्न सकियोस्, अन्न फलाउन सकियोस् भनेर ढाले आमोईको पूूजा गर्ने गरिन्छ । 

यसका अतिरिक्त  धिमाल जातिले चारवटा माझी देवतालाई पनि पूूजा गर्ने गर्छन् । जसलाई चौमाझी भनिन्छ । ढुढा ठाकुर, याउ माझी, साउ माझी र धरम ठाकुर । धरम ठाकुर भनेको देवताको पनि देवता हो । खासगरी धिमालहरू खोलानालाको छेउमा रहेको ठूलो रुखको फेदमा थान बनाई देवताको पूजा गर्ने गर्छन् । सोही थानमा मीठो–मसिना माछा मासु पकाउने, आफन्त नातेदार बोलाउने र खाने गर्छन् । यो चलन अझै पनि निरन्तर चलिरहेको छ । 

यस पर्वले धिमाल जातिमा आपसी सम्बन्धमा प्रगाढ बनाउँदै बन्धुत्वको भावना विकास गराउने संविधान सभा सदस्य पर्तमान धिमालले बताउनुभयो ।

मोरङको उर्लाबारीस्थित मङ्गलबारेमा रहेको धिमाल जाति विकास केन्द्रको परियोजना स्थलमा दुई महिनापश्चात् सांस्कृतिक मेलाको आयोजना गरी जात्री पर्व समापन गरिन्छ । ढोलको आवाज ढङ ढङ... आउने हुनाले कतिपयले जात्रीलाई ढङढङे पनि भन्ने गरेका छन् । खोलानाला, रुख, बिरुवा र माटोको पनि पूजा हुन्छ, यसलाई ग्रामपूजा पनि भनिन्छ । असार सङ्क्रान्तिसम्म मनाइने यो पर्व धिमालका ९८ वटै टोलमा मनाइने गरिएको छ । पछिल्लो समय काठमाडौँमा पनि धिमालले यो पर्व मनाउने गरेका छन् । जात्रीमा धिमाल आफूले भाकल गरे अनुसार वस्तु चढाउने पनि गर्दछन् धिमालले दुःख– विराम निको होस्, सन्तान प्राप्ति होस् भन्ने मनोकामना राख्ने र ती पूरा भएपछि जात्रीका बेलामा देउतालाई भाकलअनुसारका वस्तु चढाउने गर्दछन् । 

यो बेलामा धिमालका घरमा पाहुना आउने र उनीहरूलाई मासु तथा ‘चिचिरी’, ‘बगिया’लगायतका परिकार खुवाउने गरिन्छ । जुन गाउँमा जात्री मेला लाग्छ । त्यस गाउँका धिमालका घरघरमा पाहुना आउने गर्छन् । दमक झापाकी सोनिका धिमालले भन्नुभयो, भेटघाट पनि हुन्छ । पाहुनालाई मेजमानी गरिन्छ । खासगरी यो पर्वलाई चेलीबेटीहरू माइत आउने अवसरका रूपमा लिन्छन् ।

आदिवासीका रूपमा रहेका धिमालहरू जात्री पर्वका अवसरमा हिलोको पनि पूजा गर्छन् । नराम्रो जस्तो लाग्ने हिलोबाट मानव जातिलाई पालनपोषण गर्ने राम्रो अन्नको उत्पादन हुन्छ भन्ने मान्यता छ, उनीहरूको । यसपर्वमा लाग्ने मेलामा आएका युवकले युवतीलाई, युवतीले युवकलाई पान, सुपारी, छोकडा दिँदा यदि लिएर खाएमा प्रेम प्रस्ताव स्वीकार गरेको बुझ्ने गरिन्थ्यो । पछि यस कार्यले विकृति निम्त्याउँदै नकारात्मक असर परेकोले हटाइएको बुढापाका बताउँछन् । 

Author

हरिप्रसाद कोइराला