• ११ पुस २०८१, बिहिबार

साइकल लेन बन्यो पार्किङ स्थल

blog

सन्तोष सुवेदी

कास्की, पुस ११ गते । तीन वर्षअघि पोखरामा निर्माण गरिएको साइकल लेनमा अन्य गाडी पार्किङ हुँदा हैरानी हुने गरेको छ । पोखराको जिरो किमीदेखि महेन्द्र पुलसम्म तीन किमी साइकल लेन निर्माण गरिएको थियो । ती लेनमा साइकलयात्री कुद्न भने पाएका छैनन् । कहिले ट्याक्सी पार्किङ त कहिले बाइक पार्किङ हुँदा हैरानी खेप्नु परेको साइकलयात्री बताउँछन् । पार्किङ क्षेत्र व्यवस्थित नहुँदा चालक सडक किनारामा सवारी पार्किङ गर्न बाध्य छन् ।

पोखरामा सडकको एक खण्डमा मात्र पार्किङ गर्ने सुविधा छ । जसलाई महानगरले ठेक्काका रूपमा लगाएको छ । सडकको अर्कोतर्फ पार्किङ गर्न नपाउने नियम छ । त्यसैले छेउमा साइकल लेन बनाइएको हो तर बनेका साइकल लेनमा निजी सवारीसाधन र ट्याक्सी पार्क गरिन्छन् । साइकल लेनमा नै बस स्टपको स्थान पनि हो । ठुलादेखि साना सवारीसाधन साइकल लेनबाटै गुड्छन् । बिहानको समयमा साइकल लेनमा फोहोरको थुप्रो उस्तै हुन्छ । साइकल लेन भएको स्थानमा पार्किङ गर्न मनाही छ भनी बोर्ड पनि झुन्ड्याइएको छ तर पनि बोर्डछेउमै पार्किङ गरिरहेका गाडी देखिन्छन् । 

साइकल सिटी पोखराका पूर्वअध्यक्ष प्रकाश श्रेष्ठले साइकल लेनबारे धेरैलाई ज्ञान नहुँदा साइकलयात्रीलाई अझै समस्या हुने गरेको बताउनुहुन्छ । उहाँ भन्नुहुन्छ, “साइकलमैत्री सहर बनाउने उद्देश्यले पोखराका सडकमा साइकल लेन बनाइए पनि अहिले सबै साइकल लेन अतिक्रमणमा परेका छन् । अहिले यी साइकल लेनको अवस्था हेर्दा सबैको हेपाइमा परेको देखिन्छ । पोखरा महानगरपालिकाले धेरै महत्व दिएर बनाएको सडकको साइकल लेनमा जताततै अवरोध नै अवरोध देखिन्छ ।” पछिल्लो समय स्वास्थ्य सचेतना र साइकलमैत्री सडक संरचना निर्माण हुने आशा गरिए पनि यसप्रकारको अव्यवस्थाले साइकलयात्रीलाई निरुत्साही बनाएको उहाँको भनाइ छ । धेरै जसो सार्वजनिक सवारीसाधनले नटेरेको उहाँको भनाइ छ । 

लेनका पार्किङ नगर्न/नगराउन साइकल सिटी पोखराले जनचेतनामूलक कार्यक्रम गर्दै आएको श्रेष्ठले बताउनुभयो । साइकललाई अझै प्रभावकारी बनाउन सचेतनामूलक बोर्ड पनि सुरुको अवस्थामा राखेको उहाँले बताउनुभयो । उहाँले हरेक वर्ष जस्तै यस पटक पनि ‘टुर दी पोखरा’ साइकल ¥याली जुन ३ अर्थात् विश्व साइकल दिवसका दिन गर्न लागिएको छ । ‘स्वास्थ्य, वातावरण तथा पर्यटकका लागि साइकल’ भन्ने नारासहित साढे २४ किमी क्षेत्रमा साइकल ¥याली गरिने श्रेष्ठले जानकारी दिनुभयो ।  

साइकल सिटी पोखराको परिकल्पना र महानगरको लगानीमा साइकल लेन निर्माण गरिएको हो । साइकल लेन बनाउन महानगरले ३० लाख रुपियाँ खर्चिएको छ । पोखराका प्रमुख ताल जोड्नका लागि साइकलमार्ग बनाउने महानगरले बताउँदै आएको छ । फेवाताल, बेगनास, खास्टे, दिपाङलगायतका ताल जोड्नका लागि साइकलमार्ग बनाउन ८४ किलोमिटर सडकमा विस्तृत अध्ययन प्रतिवेदन (डिपिआर) तयार गरिएको छ ।