ताप्लेजुङ समाचारदाता
ताप्लेजुङ, पुस ११ गते । ताप्लेजुङको पाथीभरा याङवाराक गाउँपालिकाले आलु पकेट क्षेत्रका किसानलाई पाइप वितरण गरेको छ । गाउँपालिकाले आलु पकेट क्षेत्र रहेको वडा नं. २, थेचम्बुका किसानलाई सिँचाइका लागि पाइत वितरण गरेको हो ।
गाउँपालिका अध्यक्ष केशरकुमार सुब्बाका अनुसाार आलु पकेट क्षेत्रका किसानलाई ३२ एमएमको चार हजार मिटर पाइप वितरण गरिएको छ । अध्यक्ष सुब्बा, उपाध्यक्ष रनमाया गुरुङ, थेचम्बुका वडाध्यक्ष बलुराम मेन्याङ्बोलगायतको उपस्थितिमा किसानलाई पाइप वितरण गरिएको गाउँपालिकाले जनाएको छ । गाउँपालिकाले पकेट क्षेत्रका किसानलाई आलुको बिउसमेत अनुदानमा उपलब्ध गराएको छ ।
कृषि उत्पादनमा जोड दिँदै किसानलाई व्यवसायतर्फ प्रेरित गर्न, साथै अर्गानिक उत्पादनलाई प्राथमिकता दिन गाउँपालिकाले कृषि क्षेत्रमा लगानीसमेत बढाउँदै लगेको जनाएको छ ।
कृषि व्यवसायमा सक्रिय किसानलाई गाउँपालिकाले पुरस्कृत तथा सम्मानसमेत गर्दै आइरहेको जनाएको छ ।