• १० पुस २०८१, बुधबार

निगमको आन्तरिक उडान बन्द

blog

गोरखापत्र समाचारदाता

काठमाडौँ, पुस १० गते । नेपाल वायुसेवा निगमको आन्तरिक उडान पूर्ण रूपमा बन्द भएको छ । आन्तरिकतर्फ उडान गरिरहेका निगमका दुई वटा ट्विनअटर जहाजमध्ये एउटा जहाज छ महिनादेखि नै भूमिस्थ (ग्राउन्डेड) थियो । हाल नियमित उडान गरिरहेको अर्को जहाजको इन्जिनको उडान समय सकिएका कारण भूमिस्थ भएपछि सबै गन्तव्यको आन्तरिक उडान बन्द भएको हो ।

निगमका प्राविधिक प्रवक्ता मनोजकुमार शाहले भन्नुभयो, “आन्तरिकतर्फ उडान गरिरहेको जहाजको इन्जिनको उडान समय सकिएपछि जहाज ग्राउन्डेड भएको छ । इन्जिन सट्टापट्टाका लागि टेन्डर प्रक्रिया पूरा भएर सम्झौतासमेत भइसकेकाले ठेक्का कबुल अनुसार माघ पहिलो सातासम्म जहाजमा नयाँ इन्जिन जडान गरेर उडानमा आउने छ ।”

उडान समय बचतको नीतिमा उडान भरिरहेको यो जहाजको इन्जिनको उडान समय ३६ सय घण्टा रहेको र उक्त अवधि उडान सकिएपछि जहाज ग्राउन्डेड भएको उहाँले जानकारी दिनुभयो । 

निगमका दुई वटै ट्विनअटर जहाजले दुर्गमतर्फका २० वटा गन्तव्यमा उडान गर्दै आएका थिए । सडक पहुँच नभएका जिल्लामा एक मात्र हवाई सेवाको भर पर्नुपर्ने बाध्यताबिच निगमको आन्तरिकतर्फको उडान पूर्ण रूपमा बन्द भएपछि दुर्गमका यात्रु मर्कामा परेका छन् ।