म्याग्दी समाचारदाता
म्याग्दी, पुस ९ गते । हिमाली जिल्ला म्याग्दीको बेनी नगरपालिका–९, गलेश्वर शिवालयमा पछिल्लो ३७ वर्षदेखि अखण्ड रूपमा दीप प्रज्वलित भइरहेको छ ।
नौ रोपनी क्षेत्रफलको चक्रशिलामाथि उत्पन्न ज्योतिर्लिङ्ग रहेको उक्त स्थानमा निर्मित मन्दिरको मूल पूजास्थलमा २०४४ सालदेखि हालसम्म कहिल्यै ननिभी मूल दीप बलिरहेको हो । गलेश्वरमा परापूर्वकालदेखि नै पूजाअर्चना हुने गरे पनि पछिल्लो ३७ वर्षदेखि भने एकै दीप अखण्ड रूपमा बलिरहेको छ ।
गलेश्वर मन्दिरका मूल पुजारी चन्द्रमणि आचार्यका अनुसार जलजला गाउँपालिका–७, धाइरिङका यामप्रसाद आचार्य गलेश्वर मन्दिरमा मूल पुजारीका रूपमा विसं २०४४ मा आउनुभएपछि गलेश्वर शिवालय मन्दिरमा मूल दियो बालिएको थियो । त्यतिबेलादेखि हालसम्म उक्त दियो निभेको छैन ।