वराहक्षेत्र समाचारदाता
वराहक्षेत्र, पुस ९ गते । वराहक्षेत्र नगरपालिकाभित्र आर्थिक वर्ष २०८०/८१ मा तीन हजार ७८३ मिटर सडक कालोपत्रे गरिएको छ । पालिकाले सङ्घीय र प्रदेश र नगरको बजेटबाट नगर क्षेत्रका सडक कालोपत्रे गरेको वराहक्षेत्र नगरपालिकाले जनाएको छ ।
नगर क्षेत्रमा एक हजार ४३ मिटर बाटो ग्राभेल गरिएको नगरपालिकाको अभिलेखमा उल्लेख गरिएको छ । त्यस्तै पालिका क्षेत्रमा आठ हजार ८९५ मिटर ड्रेन निर्माण गरिएको सूचना अधिकारी गौरी रायाले जानकारी दिनुभयो । यसका साथै एक वडा कार्यालय, पाँच वटा सार्वजनिक शौचालय, दुई वटा सभा हल, एउटा कभर्ड हल र विभिन्न प्रयोजनका १४ वटा भवन निर्माण गरिएको उहाँले जनाउनुभयो ।
नगर क्षेत्रभित्रका बाटा र मन्दिरको विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) तयार भएको छ । एक हजार ६५१ मिटरको कम्पाउन्डवाल निर्माण, २७६ मिटर इन्टरलकको काम गरिएको पालिकाले जनाएको छ । नगर क्षेत्रमा १७ वटा मन्दिर निर्माण गरिएको छ भने चार वटा मन्दिरको मर्मत गरिएको नगरपालिकाले जनाएको छ । आर्थिक वर्ष २०८०÷८१ मै एउटा प्रहरी चौकी भवन, एउटा विद्यालय भवन, दुई वटा पुल निर्माण, दुई वटा स्वास्थ्य चौकी निर्माण र तीन हजार ४८० मिटर ट्र्याक खोल्ने कार्य भएको नगपालिकाले जनाएको छ । नडाहा टेकाने हँुदै बैठारसम्म जाने सडक कालोपत्रे गरिएको छ । नगरपालिकाको ६९ लाख ६१ हजार ८६० र प्रदेश सरकारको १३ करोड लागतमा एक हजार २०५ मिटर कालोपत्रे गरिएको बताइएको छ । वराहक्षेत्र १० प्रकाशपुरको दाजुभा चोकदेखि बेलगाछीसम्म एक हजार छ सय मिटर कालोपत्रे गरिएको सूचना अधिकारी रायले जानकारी दिनुभयो ।
सुनसरी क्षेत्र नं. ४ का सङ्घीय सांसद ज्ञानेन्द्रबहादुर कार्कीको पहलमा प्रदेश र नगरको बजेटबाट सडक कालोपत्रे गरिएको वराहक्षेत्र नगरप्रमुख रमेश कार्कीले बताउनुभयो । वराहक्षेत्र–९ को छब्बिस पाइपदेखि कमलेश्वर मन्दिरसम्म जाने २८० मिटर सडक सङ्घीय सरकारको बजेटबाट ४१ लाख ५६ हजार ५७५ रुपियाँमा कालोपत्रे गरिएको छ ।
त्यसै गरी वराहक्षेत्र नगरको ८ र ९ सिकारीथान, राजाबास जाने सडक सङ्घीय बजेट २५ लाख र नगरको १५ लाख ३७ हजार बजेटबाट २८० मिटर सडक स्तरोन्नति गरिएको छ ।
कालाबन्जर क्षेत्रको तल्लो जम्टोकी नयाँ पुल सडक नगरको ३९ लाख ६६ हजार ३८३ रुपियाँबाट २८५ मिटर कालोपत्रे भएको छ । वराहक्षेत्र–६ महेन्द्र मावि जनहित क्लब नगरको बजेट २६ लाख ३५ हजार ७६ रुपियाँ विनियोजनबाट ३४६ मिटर सडक बनाइएकोे छ । वडा नम्बर ५ को कालाबन्जर माझीटोल सडक नगरको २० लाख ८८ हजार ७५५ बजेटबाट २८२ मिटर सडक बनाइएको छ । वडा नम्बर ५ कै खुन टोल पुलाहा सडकको नगरको २६ लाख १४ हजार २९६ बाट ३५२ मिटर सडक स्तरोन्नति गरिएको नगरपालिकाले जनाएको छ ।
वराहक्षेत्र–८ को बागझोडा भित्री बाटो नगरको १५ लाख ४९ हजार १५२ बजेटबाट १९८ मिटर कालोपत्रे गरिएको छ । वराहक्षेत्र–५ कै लक्ष्मीपुर सिसटोकी ३५७ मिटर सडक नगरको २६ लाख ६० हजार ५०९ बजेटबाट कालोपत्रे गरिएको वराहक्षेत्र नगरपालिकाले जनाएको छ ।