कालीकोट समाचारदाता
कालीकोट, पुस ९ गते । चिसो बढेपछि हिमाली जिल्लाको जनजीवन प्रभावित हुन थालेको छ । चिसोका कारण कालीकोटका सरकारी विद्यालयको पठनपाठन प्रभावित भएको छ । विद्यालयका अर्धवार्षिक परीक्षा चिसोका कारण चौरमा सञ्चालन गर्नु परेको हो । कालीकोटको तापक्रम चार डिग्रीमा झरेको छ । चिसोले बिहान बेलुका आउजाउ गर्न पनि समस्या छ ।
पक्की भवनमा विद्यार्थीलाई राखेर परीक्षा सञ्चालन गर्दा बिरामी पर्ने भएपछि चौरमा परीक्षा सञ्चालन गर्नु परेको हो । खाँडाचव्रm नगरपालिका–५ मा रहेको चुलिमालिका माध्यमिक विद्यालयका शिक्षक डिल्लीप्रसाद चौलागाईंले भवनभित्र राखेर परीक्षा सञ्चालन गर्दा चिसोका कारण विद्यार्थी बिरामी पर्ने डरले चौरमा परीक्षा सञ्चालन गर्न थालेको बताउनुभयो । आइतबारबाट सञ्चालन भइरहेको परीक्षाका लागि चिसोलाई कसरी छल्ने भनेर पूर्वतयारी गरिएको बताउनुभयो । शिक्षक चौलागाईंले विद्यार्थी पोसाकमा पनि आउनुपर्ने भएकाले कक्षाकोठामा राखेर परीक्षा सञ्चालन गर्दा बिरामी हुने सबैको सुझाव पछि भुइँमै भए पनि चौरमा बसालेर परीक्षा सञ्चालन गरिएको विद्यालयको भनाइ छ ।
तिलागुफा नगरपालिकाभित्रका सबै विद्यालयको परीक्षा चौरमा भइरहेको छ । मङ्सिर लागेसँगै अत्यधिक चिसो हुन थालेपछि पठनपाठन पनि चौरमा गर्न थालिएको थियो । शिवालय माध्यमिक विद्यालयका विद्यालय व्यवस्थापन समितिका अध्यक्ष बिर्खसिंह विकले चिसोका कारण चौरमा पढाइ गर्नु परेको बताउनुभयो । यहाँको तापक्रम पनि निकै कम छ । जुम्लासँग हावापानी मिल्ने भएकाले चिसो बढी हुन्छ । तिलागुफा नगरपालिकामा हिउँदे बिदासमेत हुन्छ । चिसोका कारण पुस १५ देखि फागुनसँग यहाँ हिउँदे बिदा हुने गरेको छ । तिलागुफा नगरपालिकाभित्रका प्रायः बस्तीको तापक्रम १ डिग्रीसम्म हुन्छ । जुम्लाको तापक्रम शून्यदेखि माइनस पाँचसम्म रहेकाले हिमाली जिल्लामा यो समय विद्यालयका बालबालिका वढी प्रभावित हुने गरेका छन् ।
कालीकोटका प्रायः सबै क्षेत्रमा चिसो एकैनासको हुने गरेको छ । कर्णाली आसपासका क्षेत्रमा हिउँदको समयमा अत्यधिक चिसो हुने गरेको छ । कर्णाली नदीको बहावले चिसो सिरेटो (हावा) चल्ने भएकाले यस क्षेत्रको तापक्रम अलि बढी अर्थात् १० देखि १२ सम्म भए पनि चिसो भने उस्तै लाग्ने गरेको छ । रास्कोट–६ को शान्तिघाट बजारमा व्यापार गर्दै आउनुभएका देवेन्द्र बमले हिउँदमा कर्णालीको चिसो हावाले चिसो अधिक हुने बताउनुभयो । हिउँदको चिसो कर्णाली नदीको चिसो सिरेटो (हावा) र बर्सातको समयमा अत्यधिक गर्मी हुने हुँदा यहाँको बसाइ खासै राम्रो नभएको सुनाउनुभयो । चिसोलाई छल्नका लागि कालीकोट, जुम्ला, हुम्ला, मुगुका प्रायः नागरिक तराई झर्ने गरेका छन् । पशुपालकदेखि अन्य नागरिक चिसो छल्न तराई जाने गर्छन् । जुम्ला सदरमुकाम खलङ्गा बजारको ताफक्रम माइनस पाँचमा पुगेकाले खुला हिँडडुल गर्न समेत समस्या भएको त्यहाँका व्यापारीको भनाइ छ । बजारको कालेखोली क्षेत्रमा व्यापार गर्दै आउनुभएका व्यापारी धनप्रसाद न्यौपानेले मङ्सिरदेखि माघसम्मको बसाइ कष्टकर हुने गरेको सुनाउनुभयो ।