निशा राई
धरान, पुस ८ गते । धरानमा सुस्ताएको बजारलाई चलायमान बनाउने उद्देश्यका साथ धरान एक्सपो–२०८१ हुने भएको छ । सुनसरी उद्योग वाणिज्य सङ्घको आयोजनामा पुस २५ गतेदेखि हुने एक्सपोमा धरानको आर्थिक गतिविधि, उद्योग व्यवसाय विकास र विस्तार गर्ने पत्रकार सम्मेलनमा आयोजकले जनाएको छ ।
आगामी माघ ५ गतेसम्म चल्ने एक्सपोमा १ सय ४२ वटा स्टल रहने एक्स्पोका मूल संयोजक गोपाल श्रेष्ठले जानकारी दिनुभयो । एक्स्पोमा कोशी प्रदेशका १४ वटै जिल्लाका व्यापारी व्यवसायी तथा सर्वसाधारणहरूले अवलोकन गर्ने तथा १० करोड बराबरको कारोबार हुने एक्स्पोका उहाँले बताउनुभयो ।
एक्स्पोमा विविध व्यावसायिक, उद्यमी, कृषि सबै क्षेत्रलाई पर्याप्त ठाउँ उपलब्ध गराइएको छ भने स्थानीय उत्पादन र त्यसको बजारीकरणको अनुभूति गराउन पनि सम्बद्ध कुराको प्रदर्शनीलाई समेत समेटेको आयोजकले जनाएको छ । एक्सपोमा छिमेकी देश भारत, पाकिस्तान र बङ्गलादेशका समेत स्टल रहनेछन् भने पर्यटन, स्वास्थ्य, साहित्यसँग सम्बन्धित स्टल रहेको आयोजकले बताएको छ ।
एक्सपोमा पर्यटन, कृषी, स्वरोजगारसम्बन्धी, वित्तीय संस्थासँग गोष्ठी तथा प्रशिक्षण कार्यक्रम समेत रहेको सङ्घका महासचिव महेन्द्र प्रधानले बताउनुभयो । एक्सपोमा नेपालको कोशि प्रदेशसँगै देशभरबाट मात्र नभई भारत, पाकिस्तान, भुटान लगाएतका ठाउँवाट दैनिक २० हजार मानिसले अवलोकन गर्ने सङ्घका अध्यक्ष विजय श्रेष्ठले जानकारी दिनुभयो ।
धरानको व्यापारी, उद्यमी व्यवसायीमा आशाको सञ्चार गर्ने तथा धरानको व्यापारिक, व्यावसायिक शाख पुनर्जीवित गर्न एक्स्पोले योगदान पुर्याउने विश्वास आयोजकको छ ।
सङ्घले एक्स्पोलाई सफल बनाउन ५ सय १ सदस्य रहेको आयोजक समिति बनाएको छ । एक्स्पो स्थानिय सरकार धरान उपमहानगरपालिका, कोशी प्रदेश सरकार, सरकार र नेपाल उद्योग वाणिज्य महासङ्घको सहयोगमा हुन लागेको हो । हरेक दिन राष्ट्रिय कालाकारहरूको साङ्गीतिक कार्यक्रम रहने आयोजकले जनाएको छ ।