नवराज कट्टेल
विराटनगर, पुस ८ गते । विराटनगरमा ‘नरेको सेकुवा’ सम्झिनेबित्तिकै मासुका पारखीका लागि मुखमा पानी आउँछ । झन्डै ६० वर्षअघि नै नरेको सेकुवा विराटनगर–१४ (हाल–९) कलेज रोडमा खुलेको थियो । नरबहादुर गौतमले स्थापना गरेको सेकुवा होटेल २०५४ सालमा उहाँको निधनसँगै सकियो । छोरा श्यामबहादुरले चलाउँदै आएको यो सेकुवाले अहिले पूर्ण रूपमा बन्द छ ।
विराटनगरमा नरेको सेकुवाको चर्चा चलिरहँदा घाँस चोकमा तेह्रथुमबाट झर्नुभएका रामबहादुर लिम्बूले ‘राम दाइको माछा’ पसल खोल्नुभएको थियो । त्यो पसल अहिले पनि छोरा वीरहाङको नाममा सञ्चालन छ ।
रामबहादुर अहिले पनि माछा पकाउनुहुन्छ । माछाका पारखीका लागि स्वाद दिइरहनुभएको छ । उहाँकी श्रीमती शान्तिसिंह लिम्बूले माछा पकाइरहेका बेला त्यसको बास्ना मगमग आइरहेको हुन्छ ।
पसलमा भेटिनुभएका लिम्बूका अनुसार अहिले पहिलेको जस्तो छैन । ‘जिन्दगी चल्न त चल्दै छ तर ...’ उहाँ टक्क रोकिएर भन्नुभयो, “युवा वर्ग अस्ट्रेलिया र क्यानडा पुगेपछि वृद्धावस्था भएकाले कति खान्छन् ? माछा खाने नै छैनन्, भएकालाई पनि सहज छैन ।” उहाँले भन्नुभयो, “सितन चल्न पितन पनि चल्नु पर्छ, नरेको सेकुवाका पारखीलाई मैले माछाको स्वाद दिएर व्यापार सुरु गरेको थिएँ ।”
विराटनगर–६, घाँस चोकको रामबहादुरको माछा पसल ४५ वर्षदेखि पारखीका लागि हाजिर छ । बिहान खानेकुराको जोरजम मिलाउने समय सकिने बित्तिकै खाजा खाने समयदेखि यहाँ ग्राहक आउँछन् तर पहिला ५० केजीसम्म दैनिक माछा बिक्री हुने राम दाइको माछा अहिले २५ केजीभन्दा बढी बिक्री हुँदैन । “स्वाद एउटै भयो कि, विकल्प बढी भए या त पैसा नै सक्किगए,” लिम्बू भन्नुहुन्छ, “गाह्रो हुँदै छ ।”
उहाँको गाह्रोको कारण हो, खाने मान्छे छैनन् । कोराना कालदेखि खस्किएको पुरानो माछा लाइनको व्यापारमा अन्य धेरै कारणले प्रभावित बनाएको छ । पहिले त खानेसँग पैसा नभएको अनुभव स्वयम् व्यापारीमा छ । अर्को त खाने मान्छे नै देशमा नभएको महसुस गरिरहेका छन् ।
पुरानो माछा लाइनमा आठ वटा होटेल सञ्चालन थिए । त्यसको जग रामबहादुर नै हुन् । अहिले चार वटा मात्रै छन् । राम दाइको माछासँगै जोडिएको लक्ष्मण दाइको माछा पसलका लक्ष्मण तिम्सिना भन्नुहुन्छ, “२५ वर्षदेखिको यो व्यवसाय अब छोड्नुपर्ने स्थितिमा पुगेको छु ।” अब राम दाइ, लक्ष्मण दाइ, पेमा र कान्छाको माछा पसल मात्रै छ । बाँकीले छोडेर कोही विदेश पुगेका छन्, कसैले विकल्प खोजिसकेका छन् ।
तिम्सिनाका अनुसार पहिले ४० केजीसम्म माछा खपत हुने आफ्नो होटेलमा अहिले १० केजी मात्रै छ । माछाको एउटा परिकार मात्रै बिक्री नहुँदा कुखुराको जाँते, हाँसको मासु समेत ‘अप्सन’ का परिकारमा राखिएको छ । पुरानो माछा लाइनको पहिचान बोके पनि अब माछासँगै नयाँ परिकार थप्नुपर्ने बाध्यतामा परेको उहाँको भनाइ छ ।
राई दाइका अनुसार दैनिक दुई क्विन्टलसम्म माछा त त्यही लाइनमा खपत हुन्थ्यो । माछाका पारखीहरू विराटनगर आउँदा त्यहाँ पुग्थे । खान्थे र भन्थे, यस्तो पो हुन्छ त माछा ! अहिले पनि यहाँ साना, सिन्नी, टेङ्ग्रा, गैँची, झिँगे, रेवा, रौसहित अन्य जातका माछाको परिकार बन्ने गरेको छ । माछाका पारखीका लागि अहिले पनि त्यहाँको स्वाद फेरिएको छैन । खानेहरू पिउने पनि गर्छन् । पिउनेका लागि सडक कसिएको छ । मुख्य राजमार्गबाहेक सहायकमार्गमा समेत चेकजाँचका कारण पिउने खान पनि आइरहेका छैनन् । लक्ष्मण माछा पसलका सञ्चालक तिम्सिना भन्नुहुन्छ, “बेलुका ८ बजेपछि किन खुल्ला ? भन्दै प्रहरी आउँछन् । रात्रिकालीन होटेल व्यवसायको चर्चा रेस्टुरेन्ट र ठुला होटेलका लागि मात्रै भयो । उहाँको बुझाइमा माछा लाइनमा कहिल्यै पनि अवैध कार्य नहुने भए पनि प्रहरीलाई सुरक्षा थ्रेटको महसुस भइरहन्छ । कति गर्दा र सम्झाउँदा पनि त्यसको सहजीकरण भइरहेको छैन ।”
माछाका परिकार बेचेरै राम दाइले तेह्रथुमको डङडङ्गे गाउँबाट विराटनगरमा घर जोड्नुभएको छ । अहिले उहाँका छोराले यो व्यवसायलाई साथ दिइरहनुभएको छ । लक्ष्मण दाइले माछाका परिकार बिक्री गरेर छोरालाई पढाउन सकेको बताउनुभयो । “बाँकी जे होस्, खान लगाउन माग्नु परेन, छोरा पढाउन सकेँ,” तिम्सिनाले भन्नुभयो, “माछाका परिकार स्वास्थ्यका लागि लाभदायक हुन्छन् ।”