• ८ पुस २०८१, सोमबार

वैदेशिक सहायतामा उल्लेख्य वृद्धि

blog

गोरखापत्र समाचारदाता

काठमाडौँ, पुस ८ गते । नेपाल सरकारलाई विकास साझेदारबाट प्राप्त हुने वैदेशिक सहायतामा उल्लेख्य वृद्धि भएको छ । चालु आर्थिक वर्ष २०८१/८२ को पुस पहिलो हप्तासम्ममा दुई खर्ब दुई अर्ब ४० करोड रुपियाँ बराबरको वैदेशिक सहायताको नयाँ प्रतिबद्धता प्राप्त भएको हो । 

गत आव २०८०/८१ को सोही अवधिमा प्राप्त प्रतिबद्धता ५९ अर्ब ९८ करोड रुपियाँको तुलनामा चालु आवमा प्राप्त प्रतिबद्धता २३७.५ प्रतिशतले बढेको अर्थ मन्त्रालयका प्रवक्ता महेश भट्टराईले जानकारी दिनुभयो । प्रवक्ता भट्टराईका अनुसार यस अवधिमा वैदेशिक अनुदानको प्रतिबद्धता १५३.१ प्रतिशतले र वैदेशिक ऋणको प्रतिबद्धता २८०.६ प्रतिशतले बढेको छ । 

त्यसै गरी चालु आवको हालसम्मको अवधिमा प्राप्त वैदेशिक सहायता पनि गत वर्षको समान अवधिको तुलनामा ३०.३ प्रतिशतले वृद्धि भएको छ । अर्थ मन्त्रालयका प्रवक्ताका अनुसार यस अवधिमा वैदेशिक अनुदान छ अर्ब ७५ करोड रुपियाँ र वैदेशिक ऋण ३७ अर्ब ३३ करोड रुपियाँसमेत जम्मा ४४ अर्ब आठ करोड रुपियाँ वैदेशिक सहायता प्राप्त भई विभिन्न विकास निर्माणका कार्यमा प्रयोग भएको छ ।