• ८ पुस २०८१, सोमबार

आयातनिर्यात व्यापारमा सुधार

blog

गोरखापत्र समाचारदाता

काठमाडौँ, पुस ८ गते । चालु आर्थिक वर्ष २०८१/८२ को पाँच महिना (साउन–मङ्सिर) मा नेपालको आयातनिर्यातमा सुधार आएको छ । भन्सार विभागले आइतबार सार्वजनिक गरेको तथ्याङ्क अनुसार आयातनिर्यात दुवैमा सुधार आएको हो । 

विभागको तथ्याङ्क अनुसार पाँच महिनामा आयात तीन प्रतिशतले बढेर छ खर्ब ६१ अर्ब ४८ करोड ८५ लाख ९४ हजार पुगेको छ । गत आवको सो अवधिमा छ खर्ब ४२ अर्ब २० करोड ८९ लाख रुपियाँ आयात भएको थियो । यस्तै पाँच महिनामा निर्यात १६.५४ प्रतिशतले बढेर ७३ अर्ब ६५ करोड ९७ लाख ७१ हजार रुपियाँ पुगेको छ । गत वर्ष सो अवधिमा ६३ अर्ब २० करोड ७४ लाख ३५ हजार रुपियाँको निर्यात भएको थियो । 

पाँच महिनाको अवधिमा आयातनिर्यात सुधार हुँदा व्यापार घाटासमेत १.५२ प्रतिशितले बढेर पाँच खर्ब ८७ अर्ब ८२ करोड ८८ लाख पुगेको छ । गत वर्ष सो अवधिमा पाँच खर्ब ७९ अर्ब व्यापार घाटा रहेको थियो । 

पाँच महिनामा कुल वैदेशिक व्यापार ४.२१ प्रतिशतले बढेर सात खर्ब ३५ अर्ब १४ करोड ८३ लाख पुगेको छ । गत वर्ष सो अवधिमा सात खर्ब ५ अर्ब ४१ करोड ६३ लाख रुपियाँ कुल वैदेशिक व्यापार रहेको थियो । 

पाँच महिनामा सबैभन्दा धेरै वैदेशिक व्यापार भारतसँग भएको छ । यस अवधिमा भारतबाट चार खर्ब १० अर्ब रुपियाँ बराबरको वस्तु आयात हुँदा नेपालबाट भारतमा ५२ अर्ब रुपियाँ बराबरको वस्तु निर्यात भएको छ । आयातको ठुलो हिस्सा भारतसँग भए पनि सो अनुपातमा निर्यात कम हुँदा भारतसँग तीन खर्ब ५८ अर्ब रुपियाँ बराबरको व्यापार घाटा पुगेको छ । 

यस्तै पाँच महिनामा चीनबाट नेपालमा एक खर्ब ३१ अर्ब रुपियाँ बराबरको वस्तु आयात हुँदा नेपालबाट चीनमा एक अर्ब ७४ करोड रुपियाँ बराबरको वस्तु निर्यात भएको छ । चीनमा आयातको तुलनामा निर्यात न्यून हुँदा एक खर्ब २९ अर्ब ६३ करोड १६ लाख रुपियाँको व्यापार घाटा रहेको छ ।

विभागको तथ्याङ्क अनुसार पाँच महिनामा सबैभन्दा धेरै एक खर्ब १७ अर्ब रुपियाँ बराबरको पेट्रोलियम पदार्थको आयात भएको छ । पाँच महिनामा ४२ अर्ब १७ करोड २८ लाख ६२ हजार रुपियाँ बराबरको चार लाख ७२ हजार ८०७ किलोलिटर डिजेल आयात भएको छ । 

यस्तै २६ अर्ब ४५ करोड ४३ लाख ५७ हजार रुपियाँ बराबरको तीन लाख छ हजार २२९ किलोलिटर पेट्रोल र २४ अर्ब २२ करोड ९१ लाख ६८ हजार रुपियाँ बराबरको दुई लाख १७ हजार ७७४ मेट्रिक टन खाना पकाउने एलपी ग्यास आयात भएको छ । 

यस्तै पाँच महिनामा ५४ अर्ब ४२ करोड रुपियाँ बराबरको आइरन तथा स्टिलको आयात भएको छ । ४५ अर्ब २५ करोड रुपियाँ विद्युतीय उपकरण र त्यसका पार्टपुर्जाको आयात भएको छ । ४१ अर्ब रुपियाँ बराबरका सवारीसाधन र साढे १९ अर्ब रुपियाँ बराबरको तरकारी र तरकारीजन्य वस्तु आयात भएको तथ्याङ्क छ । नेपालले विभिन्न १४९ मुलुकसँग वैदेशिक व्यापार गर्ने गरेको छ ।