• ७ पुस २०८१, आइतबार

थानकोट–चित्लाङ सडक बन्द

विश्वविद्यालयद्वारा सडक बन्द नगर्न आग्रह

blog

मकवानपुर र काठमाडौँ जोड्ने छोटो दुरीको निर्माणाधीन थानकोट–चित्लाङ सडक ।

मकवानपुर समाचारदाता

हेटौँडा, पुस ७ गते । मकवानपुरलाई काठमाडौँसँग जोड्ने छोटो दुरीको मार्ग थानकोट–चित्लाङ सडक (गणेशमान मार्ग) एक महिनाका लागि बन्द हुने भएको छ । सडक सुधार कार्यका लागि थानकोट–चित्लाङ सडक लामो समय बन्द गरिने भएपछि मदन भण्डारी विज्ञान तथा प्रविधि विश्वविद्यालयले आपत्ति जनाउँदै सडक बन्द फिर्ता लिन माग गरेको छ ।

थाहा नगरपालिका–९ स्थित चित्लाङमा रहेको सो विश्वविद्यालयले लामो समय सडक पूर्ण रूपमा बन्द हुँदा विद्यार्थी, कर्मचारी र प्राध्यापकलाई आवागमनमा समस्या हुने र विश्वविद्यालयमा अध्ययन÷अध्यापन सञ्चालन हुन नसक्ने जनाएको हो । सडक डिभिजन कार्यालय काठमाडौँले एक सार्वजनिक सूचना जारी गर्दै थानकोट–चित्लाङ सडक स्तरोन्नतिका लागि उक्त सडकको पानीघाटदेखि चन्द्रागिरिभन्ज्याङ खण्ड पुस ७ गते आइतबारदेखि आगामी माघ ६ सम्म पूर्ण रूपमा आवागमन बन्द हुने जनाएको छ ।

उता विश्वविद्यालयका अध्यक्ष प्रा. राजेन्द्रध्वज जोशीले सडक पूर्ण रूपमा बन्द हुँदा विश्वविद्यालयमा अध्ययन÷अध्यापन सञ्चालन हुन नसक्ने बताउनुभयो । शैक्षिक क्यालेन्डर प्रभावित हुने गरी सडक बन्द नगर्न विश्वविद्यालयले गरेको अनुरोधलाई बेवास्ता गरिएको भन्दै अध्यक्ष जोशीले भन्नुभयो, “सडक बन्द गर्दा जनसमुदायले बेहोर्नुपर्ने लाभ र हानि तथा हानि न्यूनीकरण गर्ने विकल्पको विश्लेषणबिना गरिएको सडक बन्दको विश्वविद्यालय घोर भत्र्सना गर्छ र सो बन्द फिर्ता लिन जोडदार माग गर्छ ।” उहाँले सडक बन्द गर्ने जस्तो संवेदनशील विषयमा गहन विश्लेषणबिना निर्णय गर्ने परिपाटी अन्त्यका लागि जनस्तरबाट पहलकदमी लिन आग्रह गर्नुभएको छ ।

उहाँले सडक बन्द गर्ने योजनाबारे जानकारी प्राप्त भएपछि काठमाडौँ सडक डिभिजन, थाहा नगरपालिकालगायतका निकायमा सडक बन्द भएमा विश्वविद्यालय सञ्चालन हुन नसक्ने जानकारी गराइएको भन्दै काठमाडौँ सडक डिभिजन कार्यालयले विश्वविद्यालयको चिन्तालाई गहन रूपमा नलिएको महसुस भएपछि विश्वविद्यालयले काठमाडौँ सडक डिभिजनलाई विश्वविद्यालय नियमित रूपमा सञ्चालन गर्न आवश्यक व्यवस्था गर्न अनुरोध गरिएको बताउनुभयो ।

सडक विभागमा भएको परामर्श बैठकमा सहभागी भएका विश्वविद्यालयका प्रतिनिधिलाई आफूहरूले पठाएको पत्रको मर्म बुझ्न सडक डिभिजनबाट प्रयत्नसम्म पनि नभएको भन्दै उहाँले भन्नुभयो, “सडक बन्द गर्ने जस्तो संवेदनशील विषयमा सडक बन्द गर्दा पर्ने प्रभाव र वैकल्पिक उपायसमेतको गहन विश्लेषणबिना विश्वविद्यालयको असहमतिका बाबजुद सडक बन्द गर्न सिफारिस गर्ने निर्णय बैठकबाट गराइयो ।”

वैकल्पिक मार्ग प्रयोग गर्न आग्रह कुलेखानी–सिस्नेरी–छैमले–दक्षिणकाली

सडकमा सञ्चालन हुँदै आएका सवारीसाधनलाई वैकल्पिक मार्ग प्रयोग गर्न आग्रह गरिएको छ । राजधानी पूर्वाधार विकास विशेष आयोजना हेटौँडा अन्तर्गत स्तरोन्नति भइरहेको कुलेखानी–सिस्नेरी–छैमले–दक्षिणकाली सडकको दक्षिणकाली–छैमले खण्डमा कालोपत्रेको काम तोकिएको समयमा पूरा नभएपछि कामलाई निरन्तरता दिन वैकल्पिक मार्ग प्रयोग गर्न आग्रह गरिएको हो । दक्षिणकाली नगरपालिकाले उक्त सडकखण्डको गत मङ्सिर १३ गतेदेखि २९ गतेसम्म सवारी आवागमन रोकी कालोपत्रे गर्ने कार्य भइरहेकोमा सो अवधिमा कालोपत्रेको काम सम्पन्न नभएकाले थप समय आवश्यक भएको भन्दै यही पुस ११ गतेसम्म वैकल्पिक मार्ग प्रयोगमा सरोकारवालालाई सहजीकरण गरिदिन आग्रह गरेको छ ।