• ७ पुस २०८१, आइतबार

हिंसापीडितलाई उपचार सेवा

blog

कर्णाली प्रदेश अस्पतालबाट प्रदान गरिने एकद्वार सङ्कट व्यवस्थापन केन्द्रको सेवावारे जानकारी दिइँदै । तस्बिर : ललित बसेल

ललित बसेल 

सुर्खेत, पुस ७ गते । कर्णाली प्रदेश अस्पतालबाट तीन वर्षको अवधिमा करिब तीन हजार हिंसापीडितलाई एकद्वार सङ्कट व्यवस्थापन केन्द्र (ओसिएमसी) बाट उपचार सेवा दिइएको छ । विभिन्न हिंसामा परी उपचार सेवा लिने क्रममा अस्पताल आउँदा ओसिएमसीबाट आर्थिक वर्ष २०७८ देखि २०८१ सम्म गरी दुई हजार ९३९ जना हिंसापीडितले उपचार सेवा पाएका हुन् । 

महिला कानुन र विकास मञ्चले सुर्खेतमा आयोजना गरेको एक कार्यक्रममा कर्णाली प्रदेश अस्पतालका ओसिएमसी फोकल पर्सन कल्पना थापाले बर्सेनि ओसिएमसीबाट सेवा लिने हिंसापीडितको सङ्ख्या बढ्दै गएको बताउनुभयो । 

उहाँले आव २०७८/७९ मा ६२४ जना, आव २०७९/८० मा एक हजार १४ जना र आव २०८०/८१ मा एक हजार ३०१ जना हिंसापीडितले उपचार सेवा लिएको जानकारी दिनुभयो । यो तीन वर्षको अवधिमा हिंसा भोग्ने उमेर समूह सबैभन्दा धेरै १९ देखि ४९ वर्षको रहेको छ । यही हिंसा भोग्ने नै ओसिएमसीमा उपचार सेवा लिन आउने गरेका छन् । 

यो उमेर समूहपछि १५ वर्षदेखि १८ वर्षभित्रको हिंसा भोग्ने गरेको पाइएको थापाले बताउनुभयो । सबैभन्दा धेरै घरेलु हिंसा हुने गरेको छ । घरेलु हिंसापछि मानसिक तनाव, बलात्कार, सेवा सुविधा तथा अधिकारबाट वञ्चित र यौनजन्य हिंसा भोगेका र बहुविवाहका पीडित पनि ओसिएमसीमा आउने गरेका छन् । शारीरिक परीक्षण, मेडिको लिगल, एचआइभी परीक्षण, गर्भवती परीक्षण, आकस्मिक गर्भनिरोधक लिएको र घाउ चोटपटकको उपचार सेवा दिने गरिएको ओसिएमसी फोकल पर्सन थापाले बताउनुभयो । यस्तै यौनरोग उपचार, सुरक्षित गर्भपतन तथा प्रसूति सेवा, मानसिक रोग उपचार र अन्य परामर्श सेवा पनि हिंसापीडितलाई ओसिएमसीबाट दिने गरिएको छ । 

यसको सेवाको प्रसारका लागि सुर्खेतका अन्य चार वटा पालिकामा एकद्वार सङ्कट व्यवस्थापन केन्द्रबारे अभिमुखीकरण गरिएको छ । महिला कानुन र विकास मञ्चका अधिवक्ता नवीन श्रेष्ठले हिंसा प्रभावितका लागि ओसिएमसीले विगतको तुलनामा प्रभावकारी काम गरिरहेको पाइएको बताउनुभयो । उहाँले अझै पनि हिंसा प्रभावितलाई सहज सेवा दिन आवश्यक रहेको भन्दै त्यसका लागि सरोकारवाला पक्षबिच समन्वयको आवश्यकता रहेको उल्लेख गर्नुभयो । यस्तै आइपास नेपालका निर्देशक जगदीश घिमिरेले हिंसा प्रभावितलाई एकै ठाउँबाट सबै सेवा दिने उद्देश्यले थालिएको ओसिएमसी सेवाको व्यापक प्रसारको खाँचो रहेको बताउनुभयो ।