कतिपय क्षेत्रबाट निराशाको व्यय व्यापार सुनिने वर्तमानमा नेपालले विश्वलाई नै गौरवको सन्देश दिएको छ । नेपाल प्रिमियर लिग (एनपिएल) पहिलो पटक सफल रूपमा सम्पन्न गरेर नेपालले विश्वलाई नै चकित पार्नु चानचुने विषय होइन । यसले बहुआयामिक प्रभाव दिँदै पर्यटन व्यवसायमा खेल पर्यटनको नयाँ अध्याय थपेको छ । देशको शिथिल अर्थतन्त्रलाई माथि उठाउन राम्रै योगदान बुझ्न सकिन्छ । कुलमा एक अर्बभन्दा बढीको कारोबार एनपिएलले दिएकाले अर्थतन्त्रमा नयाँ सम्भावना अब खोज्नु पर्छ । शनिबारको अन्तिम खेलमा कीर्तिपुरस्थित अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा देखिएको व्यापक दर्शक उत्साहले देशमा नयाँ सम्भावनाको ढोका खोलेको छ । अन्तिम दिन जनकपुर बोल्ट्स र सुदूरपश्चिम रोयल्सको खेल अति नै रामाञ्चक रह्यो । कठिन मेहनतमा जित जनकपुर बोल्ट्सको भयो र एक करोड १० लाख हात पा¥यो । जित र हार यो एनपिएलको मूल विषय होइन । मङ्सिर १५ गतेदेखि सुरु एनपिएलको यो महापर्वले समग्रमा नेपालको गौरव संसारसामु चिनायो । देशले राम्ररी जित्यो ।
पहिलो एनपिएल देशभित्रका धेरै टिमले उदाउने मौका पाए । अन्तिम खेलमा सुदूरपश्चिम रोयल्स र जनकपुर बोल्ट्स पुगे । खेलमा साथ दिने काठमाडौँ गुर्खाज, चितवन राइनोज, विराटनगर किङ्स, लुम्बिनी लायन्स, पोखरा एभेन्जर्स र कर्णाली याक्सले सक्नु खेले । खेल अवधिभरमा आफ्नो टिमलाई सशक्त उतार्न भगीरथ प्रयास गरे । यसले देशभित्र क्रिकेटको भौगोलिक विस्तारलाई व्यापक बनायो । हरेक टोलीमा विदेशी खेलाडीसमेतको सहभागिताले विकासशील देश नेपालले विदेशी खेलाडीलाई महँगो मूल्यमा मैदानमा उतार्न सफल भयो । यसले विश्वका सामुन्ने विशिष्ट पहिचान दिन सक्ने अब्बल उदाहरण प्रस्तुत गरेको छ ।
मूल रूपमा एनपिएलले नेपालीक्रिकेटको युगीन रूपान्तरण गरेको छ । पर्यटन विकासको नवीन सम्भावनाको ढोका खोलेको छ । विदेशबाट आएको चर्चित खेलाडीले क्रिकेटलाई उज्ज्वल त बनाए नै सँगसँगै कतिपय खेलाडी सगरमाथाको काखमा पुगेर नेपालको पर्यटनलाई विश्वभर चिनाए । विश्व क्रिकेटका प्रसिद्ध खेलाडी वेस्ट इन्डिजका ब्रायन लारा आफ्नी छोरीका साथ नेपाल आएको समाचारले संसारलाई चकित बनायो । अझ चकित बनाउने विषय त उहाँले सगरमाथा क्षेत्रको पदयात्रा गर्नुभयो । सो तस्बिर अहिले संसारभर भाइरल भइरहेको छ । नेपालको पर्यटन प्रवर्धनमा करोडौँ खर्च गरेर पनि त्यो प्रसार असम्भव थियो । परिवारका सदस्यसहित क्रिकेट बादशाह नेपाल आउँदा बेग्लै सन्देश जानु स्वाभाविक थियो ।
सुदूरपश्चिम रोयल्सका मेन्टर एवं अस्ट्रेलियाका सर्वाधिक सफल क्रिकेटर ब्राड हज छोरा लिएर आएको तस्बिरले पनि महत्व पायो । हङकङका क्रिकेटर बाबर हायात पनि परिवारै लिएर आउनुभयो र अस्ट्रेलियाका अलराउन्डर क्रिकेटर विलियम बोसिस्टो पनि आमाबुबाका साथ नेपाल आउनुभयो । यी सबै नेपालको पर्यटन प्रवर्धनमा असाध्यै सहयोगी बने । विश्वकै कतिपय सफल क्रिकेटर पिचमा मात्र होइन, सगरमाथा आधार शिविर क्षेत्रमा देखिनु नयाँ आयाम हो । उहाँहरूका तस्बिर तथा समाचार पनि विश्वका धेरै सञ्चार माध्यमले प्रसार गरे । कुल १५ देश ४३ जना खेलाडी एनपिएल महापर्वमा नेपाल आउँदा नेपाली क्रिकेटसँगै पर्यटकीय गन्तव्यको व्यापक प्रसार हुन पुग्यो । प्रतियोगिताले नेपालको आत्मविश्वास ह्वात्तै बढाएको छ । नेपाल पनि अन्तर्राष्ट्रियस्तरका ठुला कार्यव्रmम भव्य तवरले गर्न सक्छ भन्ने सन्देश दिएको छ । एनपिएलमा सहभागी १५ देशका प्रख्यात खेलाडीको उपस्थितिले नेपालको पर्यटन प्रवर्धन त भयो नै युवा प्रतिभालाई अन्तर्राष्ट्रिय मञ्चमा व्यक्तित्व विकासका सुअवसर दिएको छ ।
विश्व क्रिकेटकै चर्चित खेलाडीको उपस्थितिले नेपाली खेल र पर्यटन क्षेत्रमा ऊर्जा र उत्साह थपेको छ । प्रतियोगिताले नेपालमा पनि अन्तर्राष्ट्रियस्तरका ठुला कार्यक्रम गर्न सकिन्छ भन्ने सन्देश दिएको छ । एनपिएलमा सहभागी १५ देशका प्रख्यात खेलाडीको उपस्थितिले नेपालको पर्यटन प्रवर्धनसँगै युवा प्रतिभालाई अन्तर्राष्ट्रिय मञ्चमा प्रस्तुत गर्न प्रत्यक्ष सहयोग पु¥याएको छ । नेपालका होनाहार क्रिकेट प्रतिभासँगै ४३ विदेशी खेलाडी अनुबन्धित एनपिएल संसारको प्रख्यात टेलिभिजनबाट प्रत्यक्ष प्रसारण हुँदा नेपालबारे संसार परिचित भयो । खेल पर्यटनको नयाँ आयाम उद्भव भयो । अब विकास र विस्तारको खाँचो छ । त्यसका निम्ति क्रिकेट खेलको व्यापक पूर्वाधार विकास र विस्तार गर्न सरकारका नीति, योजना र कार्यक्रम अगाडि बढ्नु पर्छ । एक अर्बभन्दा बढीको कारोबार र आठ करोड रुपियाँभन्दा बढीको टिकट बिक्रीले क्रिकेट अब नेपाली अर्थतन्त्रलाई माथि उठाउने सशक्त माध्यम देखिएको छ ।