• ७ पुस २०८१, आइतबार

जात्रापर्वहरूको तेस्रो संस्करण लोकार्पित

blog

गोरखापत्र समाचारदाता

काठमाडौँ, पुस ७ गते । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले पर्यटकीय गतिविधि थप चलायमान बनाउनका लागि आन्तरिक र बाह्य पर्यटनलाई बढावा दिनुपर्ने विचार व्यक्त गर्नुभएको छ । काभ्रेपलाञ्चोक जिल्लाको ऐतिहासिक नगर पनौतीमा सप्तलाल तथा श्रीराम स्मृति प्रतिष्ठानद्वारा आयोजित पुस्तक लोकार्पण एवं सम्मान कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले सो कुरा बताउनुभएको हो । 

कार्यक्रममा मन्त्री पाण्डेले साहित्यकार एवं संस्कृतिकर्मी सूर्यप्रसाद लाकोजूद्वारा लिखित पनौतीका केही जात्रापर्वहरूको तेस्रो संस्करण लोकार्पण गर्नुभएको हो । सोही कार्यक्रममा समाजसेवी महेश कर्माचार्य, प्रेमबहादुर महाजू र इन्द्रकुमारी खड्कालाई सम्मान पत्र, दोसल्ला र मालाले सम्मान गरिएको थियो । 

समालोचक, लेखक तथा चिन्तक मधु आचार्यले पुस्तकमा संस्कृति र जात्रापर्वको सामान्य वर्णन मात्र नरहेको त्यसको वैज्ञानिक विश्लेषण पनि रहेकाले पुस्तक पठनीय रहेको बताउनुभयो । कार्यक्रममा पनौती नगरपालिकाका नगरप्रमुख रामशरण भण्डारी, सप्तलाल तथा श्रीराम स्मृति प्रतिष्ठानका संस्थापक अध्यक्ष तथा पूर्वसांसद शिव हुमागाई, प्रदेश सभा सांसद तीर्थ लामा, शम्भुलाल श्रेष्ठ, विजय कर्माचार्यलगायतले आआफ्नो विचार व्यक्त गर्नुभएको थियो । 

पुस्तकमा पनौती नगरपालिकाभित्र प्रचलनमा रहेका र लोप भइसकेका विभिन्न जात्रापर्वका बारेमा उल्लेख गरिएको छ । पुस्तकलाई पनौतीको परिचय र ऐतिहासिक पृष्ठभूमि, पनौतीका केही जात्राहरू, पनौतीका केही उल्लेखनीय पर्वहरू, पनौतीका प्रचलित केही उल्लेखनीय नाचहरू र हाल प्रचलनमा नरहेका केही जात्रापर्वहरू गरी पाँच खण्डमा विभाजन गरिएको छ ।