• ५ पुस २०८१, शुक्रबार

अहिलेको न्यायपालिका पारदर्शी छ : प्रधानन्यायाधीश राउत

blog

प्रधानन्यायाधीश प्रकाशमान सिंह राउत

काठमाडौं, पुस ५ गते । प्रधानन्यायाधीश प्रकाशमान सिंह राउतले अहिलेको न्यायपालिका पारदर्शी रहेको बताउनुभएको छ । बिहीबार ललितपुरमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै उहाँले यस्तो दाबी गर्नुभएको हो ।

उहाँले अहिलेको न्यायपालिका ट्रान्सपरेन्स रहेको भन्दै पारदर्शी नभएको कुरा कसैले भने आफ्नो गम्भीर आपत्ति हुने बताउनुभयो । उहाँले अहिले खुला अदालतको रुपमा सुनुवाइ भइरहेको जानकारी दिनुभयो ।

प्रधानन्यायाधीश राउतले अदालतप्रति अहिले कसैले पनि संशय गर्ने ठाउँ नरहेको जिकिर गर्नुभयो । उहाँले निष्पक्षता न्यायपालिकाको प्राण भएको उल्लेख गर्दै त्यसको अधिकतम र प्रचुर प्रयोग गर्नुपर्ने बताउनुभयो । न्यायपालिकाप्रति संशय हुनेगरी कहिले पनि काम नगर्ने प्रतिबद्धता जनाउनुभयो ।

‘‘अहिलेको जुडिसियरी ट्रान्सपरेन्स छ । पारदर्शी छ यो । कसैले यो पारदर्शी छैन भन्नेकुरा भन्छ भने त्यसमा मेरो गम्भीर आपत्ति हुनेछ । हामीले जे काम गर्छौं, खुला अदालतको रुपमा हामी सुनुवाइ गर्दछौँ । एउटा प्रक्रियामा भएका जति पनि अवस्था छन् त्यो सबै कानुन व्यवसायीहरुको अगाडि, पक्ष, विपक्षको अगाडि र त्यसपछि सबै यस्तो स्थिति छ, त्यहाँ कसैले शङ्का र संशय गर्ने ठाउँ नै छैन ।,’’ प्रधानन्यायाधीश राउतले भन्नुभयो, ‘‘यो निरन्तर चलिरहन्छ । यो पारदर्शितामा यो अदालत अब्बल रुपमा आफूलाई प्रस्तुत गर्नेछ । निष्पक्षता न्यायपालिकाको प्राण हो । त्यसको अधिकतम र प्रचुर प्रयोग हामीले कति गरेका छौँ ? मलाई विश्वास छ, न्यायपालिकामा त निष्पक्ष नभ चल्दै चल्दैन । न्यायपालिकाप्रति संशय हुनेगरी हामी काम नै गर्दैनौँ ।’’

प्रधानन्यायाधीश राउतले न्यायपालिका र पत्रकारिताको स्वतन्त्रता संविधानले आत्मसात् गरेका कुराहरु भएकाले त्यसको दुरुपयोग हुन नहुने बताउनुभयो ।