• ८ पुस २०८१, सोमबार

बत्तीस दिनपछि खुल्यो कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान

blog

जुम्ला, पुस ५ गते । जुम्लास्थित कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा लामो समयदेखि स्थायी रूपमा कार्यरत ५८ जना शिक्षक तथा कर्मचारीको स्तरवृद्धि र नियमावलीअनुसारको तलबभत्ता नपाएको विषयलाई लिएर सुरू भएको आन्दोलन स्थगन भएको छ । आन्दोलनरत शिक्षक तथा कर्मचारीका अनुसार उपकुलपतिबाट माग सम्बोधन गर्ने लिखित प्रतिबद्धता प्राप्त भएपछि बिहीबारदेखि आन्दोलनका सबै कार्यक्रम स्थगन गरिएको हो ।

प्रतिष्ठानका शिक्षक र कर्मचारीले आफूहरूको स्तरवृद्धि र तलबभत्ताको विषयमा न्यायका लागि २०८१ साल भदौ २६ गते उच्च अदालत सुर्खेत जुम्ला इजलासबाट कर्मचारीको पक्षमा फैसला भएको थियोे । उक्त फैसला कार्यान्वयन नभएको भन्दै २०८१ साल कात्तिक २६ गतेदेखि विभिन्न दबाबमूलक कार्यक्रम कर्मचारीले सुरू गरेका थिए ।

आन्दोलनका क्रममा रजिष्ट्रारबाट गठित वार्ता समितिसँग पटकपटक छलफल भएपछि २०८१ साल पुस ४ गते उपकुलपतिबाट छुट पदसमेत सम्बोधन गरिने लिखित प्रतिबद्धता प्राप्त भएको साथै, गोरखापत्र राष्ट्रिय दैनिकमा प्रकाशित सूचना र त्यस सूचनामा छुट भएका पदका सम्बन्धमा थप स्पष्टता आउने वचन दिइएको आन्दोलित कर्मचारीले विज्ञप्तिमार्फत सार्वजनिक गरेका छन् । सो प्रतिबद्धताका आधारमा आन्दोलनरत शिक्षक तथा कर्मचारीले आजबाट आन्दोलनका सबै कार्यक्रम स्थगन गरी नियमित कार्यालय कामकाजमा फर्किने जानकारी गराएका छन् । रासस