• २८ मङ्सिर २०८२, आइतबार

एनपिएल

चम्किएँ, हराउँदिन : विपिन

blog

जनकपुरविरुद्ध बलिङ गर्दै विपिन शर्मा ।

काठमाडौँ, पुस ४ गते । नेपाल प्रिमियर लिग (एनपिएल) को फाइनल पुग्ने कर्णाली याक्सको सपना पूरा भएन । दोस्रो क्वालिफायर खेलमा सुरुवाती ब्याटिङमा बलियो स्कोर खडा गर्न नसक्नु र जवाफमा चाहिएको बेला विकेट झार्न नसक्दा कर्णालीको यात्रामा पूर्णविराम लागेको हो । 

कर्णालीले लिगका सात खेलमा चार जित निकालेको थियो । एलिमिनेटरमा चितवनलाई हराउँदै दोस्रो क्वालिफायरमा स्थान बनाएको कर्णालीले जनकपुरलाई दुई विकेटको नजिता सुम्पँदै तेस्रो भयो । 

कर्णालीले एनपिएलको यात्रा सकेपनि टोलीका युवा स्टार विपिन शर्माले भने बलियो छाप छोड्नु भएको छ । आठ कक्षामा पढ्दै गर्नुभएका १६ वर्षीय बायाँ हाते लेगस्पिनर विपिनलाई कर्णालीले ट्यालेन्ट हन्टबाट टोलीमा अनुबन्ध गरेको थियो । 

तर, सानो उमेरमा उहाँले कीर्तिपुर मैदानमा आफूलाई बलियो खेलाडी भएको प्रमाणित गर्नुभएको छ । सुर्खेतको कर्णाली क्रिकेट एकेडेमीमा क्रिकेट सिक्दै आउनुभएका विपिन एनपिएलको पहिलो खेलमा बेन्चमै बस्नुभयो । त्यसपछि खेलेको आठ खेलमा सबैमा विकेट लिनुभयो । उहाँले विकेट लिएका ब्याट्सम्यान विश्व क्रिकेटकै हस्ती थिए । 


लिग चरणमा चितवनविरुद्ध प्लेयर अफ दि म्याच बन्नुभएका विपिनले पाकिस्तानका चर्चित क्रिकेटर सोहेल तनवीर, नामिबियाका लोफ्टी इटन, अमरसिंह रटेउला, अस्ट्रेलियाका बेन कटिङ, मार्टिन गुप्टिल, अमेरिकाका आन्द्रेस गौस जस्ता खेलाडीको विकेट लिनुभयो ।

एनपिएलका कूल १३ विकेट लिनुभएका विपिनले दोस्रो क्वालिफायरमा बिहीबार जनकपुरविरुद्ध तीन विकेट लिएर आफूलाई थप प्रमाणित गर्नुभयो । उहाँले बिहीबार न्युजिल्यान्डका जेम्स निसमलाई बोल्ट आउट र अमेरिकाका मोहम्मद मोसिनलाई एलवीडब्लु धरापमा पार्नुभयो । 


खेलपछि विपिनले सिनियर खेलाडीको बिचका राम्रो खेलेपनि टोली फाइनलमा पुग्न नसक्दा दु:ख लागेको बताउनुभयो । ‘‘निसमलाई तपाईको विकेट लिन्छु भनेको थिएँ । आज लिएरै छाडेँ । समग्रमा खेल राम्रो भयो । तर कर्णाली फाइनलमा पुग्न नसक्दा दु:ख लागेको छ,’’ उहाँले भन्नुभयो । 

विपिनले टोलीका शिखर धवनजस्ता चर्चित खेलाडीसँग खेल्न पाएको र आगामी दिनमा अझै राम्रो गर्दै जाने सोच बनाएको बताउनुभयो । ‘‘सुरुको खेलहरुमा केही ‘नर्मस’ भएको थिएँ । प्रशिक्षक ज्ञानेन्द्र मल्ल र टोलीका सिनियर दाइहरुले राम्रो गर्न सक्छस् भनेर हौसला दिनुभयो । सोही अनुरुप हरेक खेलमा बेस्ट दिएँ । यस लयलाई म आगामी  दिनमा पनि कायम राख्न चाहन्छु,’’ विपिनले भन्नुभयो । 


विपिनले कतिपय खेलाडी एउटा सिजनमा चम्किएपछि अर्को सिजन हराउने गरेको बताउँदै आफू सँधै क्रिकेटमा चम्किने र नहराउने बताउनुभयो । ‘‘मलाई धेरै क्रिकेटर चम्किने र हराउने गरेको थाहा छ । उहाँले भन्नुभयो‘‘म आफ्नो खेल जीवनलाई लामो यात्रा गराउन चाहन्छु । चम्कने वित्तिकै हराउन चाहन्न ।’’