• ८ पुस २०८१, सोमबार

औषधीको उत्पादन बढाउनुस्, चाहिने खर्च सरकारले दिन्छ : स्वास्थ्यमन्त्री

blog

सिंहदरबार वैद्यखानामा आयुर्वेदिक औषधी उत्पादनको अवस्थाबारे अनुगमन गर्नुहुँदै स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री प्रदीप पौडेल । तस्बिर : मन्त्री पौडेलको सचिवालय

काठमाडौं, पुस ४ गते । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री प्रदीप पौडेलले सिंहदरबार वैद्यखानामा आयुर्वेदिक औषधी उत्पादनको अवस्थाबारे अनुगमन गर्नुभएको छ । मन्त्री पौडेलले वैद्यखाना सुधारका लागि विशेष चासो दिइराख्नुभएको छ ।

सोहीअनुरुप विकास समितिमा नयाँ नेतृत्वलाई जिम्मेवारी दिएका मन्त्री पौडेलले सोचजस्तो उत्पादन वृद्धि नभएपछि स्थलगत अनुगमन गर्दै समस्या समाधानका लागि उपायको खोजी थाल्नुभएको हो ।

मन्त्रालयका उच्च अधिकारीसहित अनुगमनमा गएका मन्त्री पौडेलले वैद्यखानाको काम कारबाहीबारे जानकारी लिँदै आमरुपमा सुनिएका गुनासा समाधान गर्न कर्मचारीहरुको ध्यानाकर्षण गराउनुभयो । 

पर्याप्त औषधी उत्पादन नभएकोबारे गुनासो सुनेपछि मन्त्री पौडेलले उत्पादन बढाउन हरसम्भव उपाय लगाउन आग्रह गर्नुभयो ।

‘‘बजारमा जति औषधी उत्पादन भए पनि वैद्यखनाको औषधी बिक्री हुने रहेछ,’’ उहाँले भन्नुभयो, ‘‘तपाईंहरुले उत्पादन बढाउने काममा देखिने गरी परिवर्तन ल्याउनुपर्छ ।’’

मन्त्री पौडेललाई कर्मचारीहरुले स्रोत अभाव भएको गुनासो गरेपछि मन्त्री पौडेलले केही समयअघि पनि वैद्यखानाका लागि बजेट गएको प्रसङ्ग निकाल्दै सार्वजनिक संस्थानहरुलाई पुँजीगत सहयोग गर्न सकिने तर तलब ख्वाउनका लागि सरकारले रकम दिन नसक्ने प्रष्ट पार्नुभयो ।

‘‘तपाईंहरुको पुँजीगत क्षमता विकासका लागि के चाहिन्छ भन्नुस्, हामी सघाउँछौं,’’ मन्त्री पौडेलले भन्नुभयो, ‘‘तर उत्पादन नबढाउने अनि सरकारसँग पैसा मागेर तलब र उपदान दिन सकिन्न ।’’

मन्त्री पौडेलले बजारमा सिंहदरबार वैद्यखानाको औषधी किन्न खोज्दासमेत नपाइने अवस्था आएको भन्दै पर्याप्त कच्चा पदार्थ उपलब्ध नगराउने ठेकेदारलाई कालोसूचीमा राखेर नयाँ विकल्प खोज्न भन्नुभयो ।

‘‘प्रधानमन्त्रीज्यूको पनि वैद्यखानाले उत्पादन बढाओस् भन्ने चासो छ,’’ मन्त्री पौडेलले भन्नुभयो, ‘‘बजारमा जति उत्पादन गरे पनि बिक्ने चिज पनि हामी किन बेच्न सक्दैनौं ?’’

मन्त्री पौडेलले तीन दिनभित्र समस्या नभै समाधानसाथ उत्पादन बढाउने योजना ल्याउन पदाधिकारीलाई आग्रह गर्नुहुँदै भन्नुभयो ‘‘उत्पादन बढाउने योजनामा बजेट अभाव हुन दिन्नौं ।’’