गोरखापत्र अनलाइन
काठमाडौं, पुस ३ गते । नेकपा (एमाले) का उपमहासचिव प्रदीप ज्ञवालीले पार्टीका विभागहरू नेताहरूलाई थन्क्याउने ठाउँ मात्र नभएका बताउनुभएको छ ।
नेकपा (एमाले) वाग्मती प्रदेश कमिटीद्वारा बुधबार आयोजित विभागीय प्रमुख र सचिवहरूको बैठकलाई सम्बोधन गर्दै ज्ञवालीले सो कुरा बताउनुभएको हो ।
पार्टीका विभागहरू नीतिगत निर्णय गर्न थलो भएका बताउनुभयो । उहाँले विभाहरूले काम नगर्दा विभागहरू कार्यकर्ता व्यवस्थापन गर्ने थलोजस्ता मात्रै भएको टिप्पणी गर्नुभयो ।
नेकपा (एमाले) स्कुल विभाग प्रमुख समेत रहनु भएका ज्ञवालीले पार्टी पिरामिड आकारको हुनुपर्नेमा मादलजस्तो भएकाले समस्या देखिएको बताउनुभयो ।
एमालेको नेतृत्वमा सरकार बनेपछि देशमा सकारात्मक परिणाम देखिन लागेका भए पनि पार्टी गतिविधिमा भने अपेक्षाकृत सुधार हुन नसकेको उहाँले टिप्पणी गर्नुभयो । अहिले एमाले नेता कार्यकर्तामा देखिएको सेल्फ सेन्सरसिपले आम जनमानसमा एमाले कार्यकर्ता निम्छरो बनिरहेको बताउँदै उहाँले सबैलाई आफ्नो ठाउँबाट चौतर्फी सक्रिय भूमिका निर्वाह गर्न अनुरोध गर्नुभयो ।