नवीन सुवेदी
सुर्खेत, पुस ३ गते । सुर्खेतको भेरीगङ्गा नगरपालिको छिन्चुमा प्रादेशिक सरुवारोग अस्पतालको भवन शिलान्यास गरिएको छ । भेरीगङ्गा नगरपालिका १२ स्थित निर्माण हुन लागेको ५० शय्याको कर्णाली प्रादेशिक सरुवा रोग अस्पतालको भवन शिलान्यास गरिएको हो ।
पूर्व उपप्रधानमन्त्री तथा नेपाली कांग्रेसका उपसभापति पूर्णबहादुर खड्काले बुधबार एक औपचारिक कार्यक्रमबिच अस्पतालको भवन शिलान्यास गर्नुभएको हो । भवन शिलान्यास कार्यक्रममा बोल्दै खड्काले कर्णालीका १० जिल्लाका नागरिकले अब सहज रुपमा उपचार पाउने दावी गर्नुभयो । अस्पताल निर्माणपछि सरुवारोग उपचारका लागि बाह्य प्रदेश जानुपर्ने बाध्यता हट्ने उहाँको भनाइ छ ।
सस्तो र सहज रुपमा कर्णालीका नागरिकले कर्णालीमै उपचार पाउने उहाँले बताउनुभयो । ‘प्राविधिक कारणले काम सुरु गर्न ढिलाइ भएको थियो । अब समयमै काम सक्नेगरी निर्माण सुरु भएको छ’ उहाँले भन्नुभयो, ‘दुई वर्षमा सम्पन्न हुनुपर्ने मेहलकुना अस्पताल भवन पाँच वर्षसम्म पनि बनेन । त्यसैले यो सरुवा रोग अस्पताल निर्माणमा पनि ढिलाइ गर्नहुँदैन । अस्पताल निर्माणका लागि बजेटको कमी हुन नदिने र भुक्तानीमा ढिलाइ हुन नदिने भन्दै ठेकेदारलाई रप्तारमा काम गर्न उहाँले आश्वासनसहित आग्रह गर्नुभएको छ।
शिल्यान्यास कार्यक्रममा बोल्दै कर्णाली प्रदेशका सामाजिक विकास मन्त्री घनश्याम भण्डारीले निर्धारित समय अगावै काम सकेर पुरस्कृत हुन निर्माण व्यवसायीलाई अपिल गर्नुभयो । उहाँले सो अस्पतालमा सरूवा रोग मात्र नभई अन्य रोगको पनि उपचार हुने बताउनुभयो ।
भेरीगंगा नगरपालिकाका प्रमुख यज्ञप्रसाद ढकालले सरुवा रोग अस्पताल सम्पन्न भएपछि भेरीगङ्गाका नागरिक मात्र नभई कर्णाली प्रदेश भरका नागरिकले सेवा पाउने बताउनुभयो । उहाँले बन्न लागेको अस्पतालमा नगरपालिकाले नियमित अनुगमन गर्ने र समयमै नागरिले सेवा पाउने विश्वास व्यक्त गर्नुभयो ।
सङ्घीय सहरी विकास तथा भवन निर्माण कार्यालय सुर्खेतका अनुसार एकिकृत स्वास्थ्य पूर्वाधार विकास कार्यक्रम अन्तर्गत अस्पताल निर्माण गर्न लागिएको हो । भवन निर्माणका लागि सङ्घीय अर्थ मन्त्रालयले ५० करोड स्राेत सुनिश्चित गरेपछि बहुवर्षीय ठेक्का सहमति भएको छ । सहरी विकास तथा भवन निर्माण विभागबाट ४१ करोड १५ लाख ४६ हजारमा ठेक्का आह्वान भएकोमा ३१ करोड २१ लाख ४३ हजारमा भ्याट रकमसहित ठेक्का सम्झौता भएको छ ।
२०८१-०४-१३ गते निर्माण व्यवसायी : श्री चक्रेश्वरी-कुशेश्वर सि.एल.जे.भि काठमाण्डौले सम्झौता गरेको हो । निर्माण व्यवसायी जयराम घलेले ठेक्का लिएको यो अस्पताल भवन २०८३-०४-१२ गतेभित्र निर्माण भइसक्नुपर्ने सम्झौतामा उल्लेख छ । ठेक्का सम्झौतापछि २०८१-०७-०६ मा एक करोड ३५ लाख (५%) मोबिलाइजेशन पेश्की रकम भुक्तानी गरिएको छ । प्रादेशिक सरुवारोग अस्पताल भवनको लम्बाइ ५२.६ मि चौडाइ २२.५ मि को हुनेछ भने भवन तीन तलाको बन्नेछ ।
पहिलो तलामा बिरामी चेकजाँच हुनेछ भने माथिल्लो २ तलामा ५० वटा बेड रहनेछ । यस बाहेक पार्किङ्सहितको खाजाघर लगायतका संरचना बन्नेछन् ।