काठमाडौं, पुस ३ गते । नेपाल विद्युत् प्राधिकरणका कार्यकारी दिर्नेशक कुलमान घिसिङले प्राविधिक समस्याका कारणले उद्योगहरुमा विद्युत् कटौती गर्नुपरेको स्पष्ट पार्नुभएको छ । न्यूज एजेन्सी नेपालसँग कुरा गर्नुहुँदै कार्यकारी निर्देशक घिसिङले केही प्रसारण लाइनहरु मर्मत गर्नुपर्ने भएका कारण वीरगञ्ज र बुटवल क्षेत्रका उद्योगहरुमा विद्युत् आपूर्ति बन्द गर्नुपरेको बताउनुभएको हो ।
उहाँले भन्नुभयो, ‘‘दुईतीन दिनदेखि प्रसारण लाइनमा समस्या आएको थियो । ढल्केबरबाट नवलपुरसम्मको प्रसारण लाइनमा एउटा सर्किट चुँडिएको कारणले ६, ७ वटा टावरमा मर्मत गर्नुपर्ने भयो । त्यसलाई स्टिर्निङ गर्नका लागि हाम्रो एसटिएलएस भन्ने कन्डक्टर, स्पेसल क्लासको कन्डक्टर हो । त्यसलाई तान्नको लागि अलिकति समय लागेको हो । त्यसकारणले वीरगञ्ज क्षेत्रमा र पश्चिमदेखि बुटवलसम्मका उद्योगहरुमा दिउँसो पनि हामीले कममा विद्युत् चलाउनुपर्ने समस्या भएको हो ।’’
उहाँले ट्रान्समिसन लाइनहरुको मर्मत कार्य गर्नुपर्ने र भारतबाट पनि पिक टाइममा विद्युत् आयात गर्न नदिएका कारण उद्योगहरुमा विद्युत् कटौती गर्नुपरेको बताउनुभयो । धेरै विद्युत् खपत हुने समय बेलुका ५ देखि राति ९ बजेसम्म भारतबाट विद्युत् आयात गर्न नदिएको उहाँको भनाइ छ ।
उहाँले भन्नुभयो, ‘‘हिउँदमा भारतबाट विद्युत् आयातका लागि जुन सहमति भएको छ, त्यो दिउँसो र राति आयात गर्ने सहमति भएको छ । बेलुका ५ देखि राति ९ बजेसम्म पिक टाइम भन्छ, त्यो पिक टाइममा हामीलाई इम्पोर्ट गर्न दिएको छैन । त्यसकारण हामीले केही उद्योगहरुमा विद्युत् कटौती नगरिकन दिन सकिँदैन । किनभने पहिला चाहिँ हाम्रो अप्पर तामाकोशी थियो ।’’
कार्यकारी निर्देशक घिसिङले ४५६ मेगावट क्षमता रहेको अप्पर तामाकोशीमा गत असोजमा आएको बाढीले क्षति पुर्याउँदा विद्युत् आपूर्तिमा समस्या भइरहेको बताउनुभयो । उहाँले अप्पर तामाकोशीको निर्माण कार्य भइरहेकोले पूर्णरुपले सञ्चालनमा आउन अझै पाँच/छ महिना लाग्ने जानकारी दिनुभयो । अप्पर तामाकोशीबाट पूर्ण क्षमतामा विद्युत् प्रवाह भएपछि अहिलेको लोडसेडिङ समस्या समाधान हुने उहाँको दाबी छ ।
‘‘यसको ४५६ मेगावाटको हामीले के गर् भने दिनमा भारतबाट इम्पोर्ट गरेर चलाउने गर्थ्यौ । राति पानी जम्मा भएको हुन्थ्यो । अप्पर तामाकोशीलाई असोजको बाढीले ड्यामजे गर्यो । त्यसको मर्मत भइरहेको छ । हामीले एउटा डिसेन्डरलाई चलाएर काम गर्दैछौं । यही पुस १० गतेसम्ममा एउटा डिसेन्डरको पानी हामी टेम्पोरर्ली हामी चलाउँछौँ ।,’’ उहाँले भन्नुभयो, ‘‘त्यसपछि पिक टाइमको समस्या पनि विस्तारै कम हुँदै जान्छ । अर्को १०/१५ दिनमा हामी ४५६ मेगावट नै चलाउँछौं । अप्पर तामाकोशी पूर्ण रुपले सञ्चालनमा आएपछि बेलुकाको पिक टाइममा पनि हामी विद्युत् प्रवाह गर्न सक्छौं । तामाकोसीको दुईटै डिसेन्डर चलाउनका लागि पाँच छ महिना अझै लाग्छ । किनभने त्यसको ड्यामेज धेरै भएको छ ।’’
कार्यकारी निर्देशक घिसिङले अहिले नेपालमा १६०० मगावाट मात्र विद्युत् उत्पादन भइरहेकोमा डिमाण्ड १९०० मेगावाटको रहेको बताउनुभयो । उहाँले उत्पादनभन्दा माग बढी भएका कारण उद्योगहरुमा विद्युत् कटौती गर्नुपर्ने बाध्यता रहेको जानकारी दिनुभयो ।
अन्य ग्राहकहरुले लोडसेडिङको समस्या झेल्नु नपर्ने उहाँको भनाइ छ । उहाँले अन्य विभिन्न ट्रान्समिसन लाइनहरुमा समस्या भएकै कारणले विद्युत कम उत्पादन भइरहेको भए पनि मुख्य कारण अप्पर तामाकोशीबाट विद्युत् उत्पादन नहुनु नै रहेको बताउनुभयो ।
उहाँले भन्नुभयो, ‘‘अहिले हाम्रो नेपालकै जेनेरेशन १६०० मेगावाट जतिको हुन्छ । तर उद्योगहरुसहतिको डिमाण्ड १९०० जतिको हुन्छ । त्यसकारण हामीले २०० देखि ३०० मेगावाट जतिको लोड चाहिँ कममा चलाउनुपर्छ । त्यो पनि उद्योगहरुलाई । अन्य ग्राहकका लागि कुनै समस्या छैन । पिक टाइमको लाइनका लागि भारतसँग विद्युतको माग गर्दै पत्र पठाएका छौं । यस्तै समस्या गत वर्ष पनि भएको थियो । केही ट्रान्समिसन लाइनहरुको समस्या अहिले पनि छ । अहिले अत्तरियादेखि पूर्व कोहलपुरसम्मको लाइनमा पनि केही समस्याहरु आएको छ ।’’
उद्योगहरुमा भइहरहेको लोडसेडिङको समस्या समाधान गर्न लागिपरेको उहाँले बताउनुभयो । उहाँले पिक समयमा भने उद्योगहरुमा विद्युत् कटौती नगरी सुख्खायाममा नागरिकलाई विद्युत् आपूर्ति गर्न नसकिने जानकारी दिनुभयो । उहाँले यो हिउँदमा लोडसेडिङ नहुने पनि बताउनुभयो । लोडसेडिङ हुने चरणमा नरहेको उहाँले स्पष्ट पार्नुभयो ।