काठमाडौं, पुस ३ गते । संस्कृति पर्यटन तथा नागरिक उड्यनमन्त्री बद्री पाण्डेले पर्यटन क्षेत्रको विकासका लागि निजी क्षेत्र अघि सर्नुपर्नेमा जोड दिनुभएको छ ।
बुधबार नेपाल हस्तकला महासंघ नेपालले पहिलो पटक राजधानीमा आयोजना गरेको नेपाल–चाइना सांस्कृति शिखर सम्मेलनलाई सम्बोधन गर्नुहुँदै मन्त्री पाण्डेले उक्त कुरा बताउनुभएको हो ।
मन्त्री पाण्डेले भन्नुभयो, ‘‘पर्यटन क्षेत्रको विकासका लागि निजी क्षेत्र अघि सर्नुको विकल्प छैन । निजी क्षेत्र अघिअघि सरकार पछिपछि भएपछि मात्रै पर्यटन क्षेत्रको विकास सम्पन्न हुने हो ।’’
उहाँले चिनियाँहरुले संस्कृति भित्र पनि अमूर्त पक्षलाई ‘स्टोरी टेलिङ’को माध्यमबाट पर्यटन क्षेत्रको प्रचारप्रसार गरिरहेको प्रति खुसी व्यक्त गर्नुभयो । मन्त्री पाण्डेले भौतिक संस्कृतिले मात्रै धेरै कुरा नबोल्ने भएकाले मूर्त र अमूर्त संस्कृतिलाई जोड्न ‘स्टोरी टेलिङ’को महत्त्व हुने बताउनुभयो ।
उहाँले प्रकृतिमाथिको खतराबाट जोगिन पर्यावरणमैत्री पर्यटनमा जोड दिनुभयो । मन्त्री पाण्डेले पछिल्लो समय आइटी क्षेत्रको विकासले शिखर चुमेको उल्लेख गर्दै डिजिटल टुरिजम विकास तर्फ समेत ध्यान दिएर अघि बढ्नु पर्नेमा जोड दिनुभयो ।
उहाँले नेपाल र चीनबिच प्राचिन समयदेखि नै चित्रकला, काष्ठ कलालगायतका विषय समेत जोडिएको स्मरण गर्दै नेपाल चाइना शिखर सम्मेलनले दुई देशबिचको सम्बन्ध थप मजबुद हुने विश्वास व्यक्त गर्नुभयो । उहाँले स्थलमार्ग र हवाईमार्गमार्फत नेपाल प्रवेश गर्ने पर्यटकहरुको सहजताका लागि सरकारको तर्फबाट कुनै पनि कसुर बाँकी नराख्ने बताउनुभयो ।