• ३ पुस २०८१, बुधबार

एउटै पालिकाका ५९ बालबालिकामा कुपोषण

blog

सिराज खान 

नेपालगन्ज, पुस ३ गते । मधेशी र मुस्लिम समुदायको बाहुल्य रहेको बाँकेको जानकी गाउँपालिकामा ६ देखि ५९ महिनाका ५९ जना बालबालिकामा कुपोषणको समस्या देखिएको गाउँपालिकाको स्वास्थ्य शाखाले जनाएको छ । 

जानकी गाउँपालिकाको स्वास्थ्य शाखाका फोकल पर्सन तामलाल बलबासेले चेतनाको अभाव र गरिबीका कारण पालिकामा अझै पनि ५९ जना बालबालिका कुपोषित रहेको पाइएको बताउनुभयो । 

उहाँले गत आर्थिक वर्षमा ६ देखि ५९ महिनासम्मका कुपोषित बालबालिकाको सङ्ख्या ७९ रहे पनि पोषण उपचार केन्द्रमा राखेर बालबालिकाको उपचार गरेपछि हाल सो सङ्ख्या घटेर ५९ पुगेको बताउनुभयो । जानकी गाउँपालिकाका ६ देखि ५९ महिनासम्मको उमेरका तीन हजार ९७३ जना बालबालिकामध्ये ५९ जनामा कुपोषणको समस्या देखिएपछि सो समस्या समाधानका लागि पालिकामा पोषण परियोजना सञ्चालन गरिएको स्वास्थ्य शाखा प्रमुख बेलबासेले बताउनुभयो । उहाँका अनुसार सो परियोजना केयर नेपाल र आइडी नेपालको सहयोगमा भेरी वातावरणीय विशिष्टता समूह बी–ग्रुपले सञ्चालन गरेको छ । 

सोही परियोजना अन्तर्गत पालिकामा रहेका बालबालिकाको पोषण लेखाजोखा तथा व्यवस्थापनसम्बन्धी एक कार्यक्रम नेपालगन्जमा सम्पन्न गरिएको छ । सो कार्यक्रमको अध्यक्षता गर्दै जानकी गाउँपालिकाका अध्यक्ष छब्बन खाँले अशिक्षा, गरिबी र चेतनाको अभावले गर्दा पालिकामा पोषणसम्बन्धी समस्या धेरै देखिएको जनाउँदै यस्ता परियोजनाबाट सो समस्या समाधान हुने विश्वास व्यक्त गर्नुभयो । 

उहाँले परियोजनालाई सफल पार्न पालिकाले हरेक प्रकारको सहयोग, समन्वय र सहकार्य गर्ने प्रतिबद्धता पनि गर्नुभयो । 

सो कार्यक्रममा गाउँपालिकाका उपाध्यक्ष रामप्यारी यादव, स्वास्थ्य शाखाका कर्मचारीहरु, पालिकाभित्रका सबै स्वास्थ्य चौकीका इन्चार्जहरु, सबै वडाका वडा अध्यक्षलगायत अन्य सरोकारवालाको सहभागिता थियो । 

कार्यक्रममा जानकी गाउँपालिका स्वास्थ्य शाखाका फोकल पर्सन बेलबासेले गाउँपालिकाको पोषणसम्बन्धी लेखाजोखा प्रस्तुत गर्नुभयो भने परियोजनाका स्वास्थ्य अधिकृत सुजाता आचार्यले परियोजनाका मुख्य कार्यक्रमहरुबारे जानकारी गराउँदै त्यसलाई सफल पार्न स्वास्थ्य संस्थाहरु र गाउँपालिकाको भूमिकाका बारेमा जानकारी गराउनुभयो । 

बाँके जिल्लामा रहेका ६ देखि ५९ महिनाका बालबालिकालाई पोषणसम्बन्धी समस्याबाट जोगाउनका लागि बिग्रुपले जिल्लाका जानकी, खजुरा, बैजनाथ, राप्ती सोनारी र डुडुवा गरेर पाँच वटा पालिकामा पोषण परियोजना सञ्चालन गरेको स्वास्थ्य कार्यालय बाँकेले जनाएको छ ।