यदुप्रसाद भट्ट
मनाङ, पुस ३ गते । मनाङको उत्तरमा रहेको नार्पाभूमि गाउँपालिकाले सर्वसाधारणलाई प्रवाह गर्ने सेवा सदरमुकाम चामेको कोतोबाट सञ्चालन गर्ने भएको छ ।
नार्पाभूमिमा अत्यधिक चिसो हुने तथा त्यहाँका स्थानीय पनि जाडो छल्न बेँसी झर्ने अनि हिउँदभरि व्यापार व्यवसाय गर्न अन्य जिल्लाहरुमा जाने भएकाले गाउँपालिकाले सदरमुकाम चामेबाट आफ्नो सेवा प्रवाह गर्ने भएको छ ।
गाउँसभाको पूर्ण बैठकले आगामी पुस १५ देखि चैत्र १५ गतेसम्म सदरमुकाम चामे नजिकै रहेको कोतोमा कार्यालय स्थापना गरी सेवा प्रवाह गरिने गाउँपालिकाका अध्यक्ष कोन्जो तेन्जिङ लामाले बताउनुभएको छ ।
अध्यक्ष लामाले भन्नुभयो, ‘‘नार्पाभूमि गाउँपालिकालाई सडक सञ्जालले छोएको छैन । गण्डकी प्रदेशको सबैभन्दा विकट गाउँपालिका हो नार्पाभूमि । गाउँपालिकाका लागि आवश्यक पर्ने सामग्री भण्डारण गर्न पनि आवश्यक छ ।’’ उहाँले नार्पाभूमिका स्थानीय मात्र नभएर पशुचौपाय पनि घुम्ती गोठमा सारिने भएकाले सदरमुकाममा सम्पर्क कार्यालय राख्नुपरेको स्पष्ट पार्नुभयो ।
हिमाली क्षेत्रमा दुई–दुई ठाउँमा गाउँपालिका कार्यालय राख्नु आफ्नो रहर नभई बाध्यता भएको उहाँको स्पष्टोक्ति थियो । आफ्नो गाउँपालिकाका स्थानीयहरुलाई सजिलैसँग सेवा प्रवाह गर्न पुस १५ देखि चैत्र १५ गतेसम्म गाउँपालिकाको कार्यालय कोतोमा सारिने उहाँले बताउनुभयो ।
पुस लागेपछि विशेष गरी नार र फुका स्थानीयहरु व्यापार व्यवसाय गर्न लमजुङ, गोरखा, तनहुँ, कास्कीतिर जाने गर्दछन् । पशुपालकहरु आफ्ना पशुचौपाय लिएर घुम्ती गोठ राख्दै तल तल बेँसी तिर जाने गर्दछन। पुस १५ देखि चैत्र १५ गतेसम्म उत्तरी मनाङको नार्पाभूमि गाउँपालिका सुनसान हुन्छ भने मनाङ ङिस्याङ पनि सुनसान नै हुन्छ तर ङिस्याङमा भने सडक सञ्जाल पुगेकाले स्थानीयले गाउँ छोड्दैनन् । बाँकी दुई पालिकामा चामे सदरमुकाममा नै छ भने नासोँ गाउँपालिका प्रवेशद्वारका रुपमा रहेको छ । यी दुई पालिकाका स्थानीय प्रायः बाह्रै महिना गाउँमै रहन्छन् ।