मीना कँडेल
कावासोती, पुस ३ गते । नवलपुरको कावासोती क्षेत्रका महिलालाई अहिले घरखर्च कसरी चलाउने भन्ने पिर छैन । घरबास सञ्चालन गरेर प्राप्त भएको आम्दानीले यहाँका महिलालाई आत्मनिर्भर बनाएको छ । घरबासमा महिला आबद्ध भएपछि परदेशमा भएका पुरुष घर फर्किएका छन् । घरबास सञ्चालनले आम्दानीसँगै महिलाको क्षमता विकासमा सहयोग पुगेको छ । विगतमा खेतीपाती, पशुपालनलगायतका काममा रमाउने महिला अहिले पाहुनाको स्वागतमा व्यस्त हुने गरेका छन् ।
स्थानीय धनमाया महतो कावासोती अन्तर्गत बाघखोरमा रहेको ‘हमार गाउँ दिगो पर्यटन’ सहकारीमा पुग्दा कम्प्युटरमा बचतको रेकर्ड राख्न व्यस्त देखिनुहुन्छ । दिनभरि सहकारीको व्यवस्थापकको भूमिकामा व्यस्त हुने धनमायाले बाघखोरका महिलाको नेतृत्व गर्नुहुन्छ । उहाँले भन्नुभयो, “बाघखोर गाउँका सबै पुरुष कमाउन विदेश जाने र महिला मेलापात गरेर घरखर्च टार्नुपर्ने अवस्था थियो तर अहिले समय फेरिएको छ ।”
२०७० सालदेखि गाउँमा घरबास सञ्चालनमा आएपछि यहाँका महिलाको जीवन फेरिएको उहाँले अनुभव सुनाउनुभयो । अमलटारी मध्यवर्ती सामुदायिक घरबास यहाँका ३३ घरमा सञ्चालन भएको छ । गाउँमा भएका किराना पसलदेखि ३३ वटा घरबासमा पर्यटकलाई आवश्यक पेयपदार्थ उहाँको डिलरबाट नै बिक्री हुने गर्छ । घरबास र सहकारीबाट मात्रै मासिक ६० हजार रुपियाँ कमाइ हुने महतोले बताउनुभयो ।
११ वर्षअघि घरबास सञ्चालन गरेपछिको अनुभव सुनाउँदै उहाँले भन्नुभयो, “पहिले अरूसँग राम्रोसँग बोल्न पनि लाज लाग्थ्यो तर अहिले नबोली व्यवसाय चल्दैन, घरबासले हामीलाई बोल्न पनि सिकायो ।” आफ्नो संस्कृति र भेषभूभूषाको संरक्षण गर्दा पर्यटन विकाससंगै सामाजिक, आर्थिक विकासमा टेवा पुग्ने देखेपछि कावासोती वडा नम्बर १५ मा १८ घरबाट सुरु भएको घरबास अहिले ३३ घरबास सञ्चालनमा आएको पिङ्की महतोले बताउनुभयो । वन र वन्यजन्तुको संरक्षण गर्दै पर्यटकलाई आकर्षण गर्ने केन्द्रका रूपमा मात्र होइन, अहिले थारू संस्कृतिलाई पनि जोगाउँदै आएको महतोले बताउनुभयो ।