• ३ पुस २०८१, बुधबार

हात्ती महोत्सवमा पर्यटकलाई छुट

blog

नारायणगढ समाचारदाता

सौराहा, पुस ३ गते । पुस ११ गतेदेखि हुने हात्ती महोत्सवमा सौराहा आउने पर्यटकले खाना र आवासमा १० प्रतिशत छुट पाउने भएका छन् । सौराहामा रहेका होटेलको मेनु रेटमा सो छुट दिन लागिएको सोमबार सौराहामा पत्रकार सम्मेलन गरी जानकारी दिइयो ।  

महोत्सवको तयारीका सम्बन्धमा जानकारी दिने उद्देश्यले आयोजना गरिएको पत्रकार सम्मेलनमा हात्ती महोत्सवमा आउने स्वदेशी तथा विदेशी पर्यटकले सो छुट सुविधा पाउने जानकारी दिइयो । महोत्सव आयोजक संस्था क्षेत्रीय होटेल सङ्घ सौराहाका महासचिव गुणराज थपलियाले सौराहामा रहेका करिब डेढ सय होटेलले नै छुट दिने बताउनुभयो । महोत्सव पुस ११ देखि १५ गतेसम्म सञ्चालन हुँदै छ । 

सौराहाको बाघमारा सामुदायिक वनको खुला चौरमा हुन लागेको सो महोत्सवको विशेष आकर्षण हात्तीको शृङ्गार प्रतियोगिता, हात्ती वनभोज, हात्तीमैत्री फुटबल पेनाल्टी प्रतियोगिता, हात्तीमैत्री म्युजिकल वाक, हात्तीको स्वास्थ्य परीक्षण जस्ता कार्यव्रmम रहेका छन् । 

मूल समारोह समितिका संयोजक रामकुमार अर्यालका अनुसार विगत वर्षहरूमा भएका हात्ती दौड तथा हात्तीका छावाको फुटबल प्रतियोगिता यस वर्ष हटाइएको र हात्तीको पेनाल्टी, हात्तीमैत्री म्युजिकल वाकलगायतका गतिविधि भने थपिएको संयोजक अर्यालले जानकारी दिनुभयो । 

यस्तै नगरपालिकास्तरीय डुङ्गा दौड प्रतियोगिता, स्वदेशी तथा विदेशी टुर एन्ड ट्राभल एजेन्सीसँग गोष्ठी, चितवनमा पर्यटनको सम्भावना हिजो र आज विषयक अन्तर्क्रियालाई पनि महोत्सवमा समेटिएको छ । 

४० वटा विभिन्न स्टल रहने महोत्सवमा हात्तीका गतिविधिका लागि ८० वटा हात्तीलाई सहभागी गराइने तयारी छ । महोत्सव आयोजक सस्था क्षेत्रीय होटेल सङ्घका अध्यक्ष गगा गिरीले हात्तीलाई पर्यटनसँग जोड्दा विदेशी पाहुनाहरूको बसाई लम्ब्याउन सकिने बताउनुभयो ।