• ३ पुस २०८१, बुधबार

दुई सामुदायिक विद्यालय गाभ्ने तयारी

एउटै विद्यालयमा दस हजार विद्यार्थी पु-याइने

blog

मकवानपुर समाचारदाता

हेटौँडा, पुस ३ गते । सामुदायिक विद्यालयको गुणस्तरीयतामाथि प्रश्न उठ्दै आइरहेको अवस्थामा मकवानपुरका दुई ठुला विद्यालयले एकीकरण प्रक्रिया अघि बढाएका छन् । गुणस्तरीय शिक्षा दिने प्रतिबद्धतासहित मकवानपुरका दुई ठुला माध्यमिक विद्यालय एकीकरण गरी मेगा विद्यालय बनाउने गरी प्रक्रिया सुरु गरिएको हो ।

हेटौँडा उपमहानगरपालिका–४ स्थित भुटनदेवी माध्यमिक विद्यालय र आधुनिक माध्यमिक विद्यालय एकीकरण गरी मेगा विद्यालय बनाउने गरी प्रक्रिया सुरु गरिएको छ ।

उपमहानगरपालिका भित्रका ठुला र गुणस्तरीय शिक्षा प्रदान गर्दै आएका भुटनदेवी र आधुनिक माविले जिल्लालाई शैक्षिक केन्द्रका रूपमा विकास गर्न र सामुदायिक विद्यालयको गुणस्तरीयता सुनिश्चित गर्न दुवै विद्यालयलाई एकीकरण गरी मेगा विद्यालय बनाउने गरी प्रव्रिmया सुरु गरिएको हेटौँडा उपमहानगरपालिका–४ का वडाध्यक्ष नवीन सिग्देलले जानकारी दिनुभयो । 

दुवै विद्यालयका व्यवस्थापन समितिको निर्णयपछि वडा कार्यालयले मेगा विद्यालय बनाउन हेटौँडा उपमहानगरपालिकामा सिफारिससमेत गरेको छ । जिल्लाकै सबैभन्दा बढी जग्गा भएको विद्यालयमध्येको एक भुटनदेवी माविको जग्गालगायतका भौतिक संरचना र साधनस्रोतको उपयोग गर्ने गरी एकीकरण गरिने भएको हो ।

भुटनदेवी मावि र आधुनिक राष्ट्रिय मावि एकीकरण गरी मेगा विद्यालय बनाउन आवश्यक प्रक्रियाअगाडि बढाउन दुवै विद्यालयको व्यवस्थापन समितिको निर्णय र वडा कार्यालयको सिफारिुसहित वडाध्यक्ष, दुवै विद्यालय व्यवस्थापन समितिका अध्यक्ष, प्रधानाध्यापकसहित मङ्गलबार हेटौँडा उपमहानगरपालिकाका प्रमुख मीनाकुमारी लामासमक्ष एकीकरणका लागि पत्र बुझाइएको छ ।

भुटनदेवी माविको विद्यालय व्यवस्थापन समितिको अध्यक्षसमेत रहनुभएका वडाध्यक्ष सिग्देलले माध्यमिक तहसम्मको शिक्षाको अधिकार स्थानीय तहमा भएकाले दुई विद्यालय एकीकरणका लागि उपमहानगरपालिकाले निर्णय गर्न सक्ने भन्दै एकीकरणपछि गुणस्तरीय शिक्षा, भौतिक पूर्वाधारलगायतका वातावरण उपमहानगरपालिकाले निर्माण गर्नुपर्ने बताउनुभयो ।

जिल्लाकै उत्कृष्ट र गुणस्तरीय शिक्षा प्रदान गर्दै आएका ती दुई विद्यालयमा भौतिक संरचना अभावकै कारण चालु शैक्षिक सत्रमा भर्नाका लागि आएका झन्डै तीन हजार विद्यार्थी ती विद्यालयमा भर्ना भई अध्ययन गर्नबाट विमुख भएका थिए । पछिल्लो समय जिल्लाको मात्र नभएर तराईका सर्लाही, बारा, पर्सा, रौतहटलगायतका जिल्लाका विद्यार्थीको समेत रोजाइमा मकवानपुरका शिक्षण संस्थासँगै ती दुई विद्यालय पर्दै आएका छन् । 

आधुनिक र भुटनदेवी मावि पर्खालका कारण मात्र विभाजित छन् । मकवानपुरकै अग्रणी विद्यालयमध्येको भुटनदेवी माविमा विद्यार्थीको चाप बढेसँगै भुटनदेवीकै जग्गा दिएर आधुनिक मावि स्थापना गरिएको हो ।  आधुनिकमा विज्ञान र व्यवस्थापन विषयमा तथा भुटनदेवी माविमा व्यवस्थापन, विज्ञान र इन्जिनियरिङ विषयमा कक्षा १२ सम्म अध्यापन हुँदै आएको छ । आधुनिक माविको दुई बिघा र भुटनदेवी माविको साढे आठ बिघा क्षेत्रफल जग्गासहित आवश्यक भौतिक संरचना रहेको छ ।

“दुई विद्यालयमा गरी हाल पाँच हजार विद्यार्थी अध्ययनरत छन् । अब हाम्रो योजना यो सङ्ख्या बढाएर दस हजार विद्यार्थीलाई गुणस्तरीय शिक्षा दिने छ,” वडाध्यक्ष सिग्देलले भन्नुभयो, “मेगा विद्यालय भएपछि प्रयोगशाला, खेल मैदानलगायतका सुविधासम्पन्न संरचना बनाउनु आवश्यक छ ।” उहाँले अगाडि भन्नुभयो, “हेटौँडामा प्रदेश विद्यालय स्थापनाको तयारी हुँदैछ, अन्य विश्वविद्यालयका विभिन्न विषयका क्याम्पससमेत छन् । ती विश्वविद्यालयलाई १२ कक्षामाथिका आवश्यक विद्यार्थी स्रोतका लागि मेगा विद्यालयको अवधारणा ल्याइएको हो ।” 

उहाँले दुवै विद्यालयसँग भएको स्रोतसाधनको उपयोग गरी पूर्ण क्षमतामा सञ्चालन र गुणस्तरीय शिक्षा प्रदान गर्ने योजनासहित दुई विद्यालय एकीकरण गर्न लागेको भन्दै यसले सामुदायिक विद्यालयप्रतिको विश्वास अभिवृद्धिमा सहयोग पुग्ने बताउनुभयो । वडाध्यक्ष सिग्देलले दुई विद्यालय एकीकरणसँगै विद्यार्थी, शिक्षकको सेवासुविधा, भौतिक संरचनाको उपयोग, विद्यालय सञ्चालनको मोडललगायतका बारेमा आवश्यक निर्णय गरिने बताउनुभयो ।