• २१ पुस २०८१, आइतबार

नाका खुलेको दुई वर्ष भयो, निर्यात शून्य

blog

चित्र मिजार

सिन्धुपाल्चोक, पुस ३ गते । दुईतर्फी नाका खुलेको लामो समय हुँदासमेत तातोपानी नाकाबाट अहिलेसम्म चीनतर्फ निर्यात हुन सकेको छैन । नाका दुईतर्फी खुलेको करिब दुई वर्ष भइसकेको छ ।

चिनियाँ व्यापारी, व्यवसायीले नेपाली वस्तुको माग नगरेका कारण निर्यात हुन नसकेको सिन्धुपाल्चोक उद्योग वाणिज्य सङ्घका वरिष्ठ उपाध्यक्ष उमेश प्रधानले जानकारी दिनुभयो । “विगतमा अत्यधिक नेपाली वस्तुको माग चिनियाँले गर्थे तर अहिले माग शून्य छ,” उहाँले दुःखेसो पोख्नुभयो ।

१७ साउन २०७१ देखि चिनियाँ पक्षले नेपाली वस्तु माग गरेको छैन । त्यसअघि बाँसका मुडा, तामाका भाँडाकुँडा, मूर्ति, नेपाली चाउचाउ, म्याटे«क्सलगायतका नेपाली उत्पादित वस्तु चिनियाँले माग गरेपछि निर्यात हुन्थे । १० वर्ष हुँदा समेत कुनै पनि नेपाली वस्तु चिनियाँले माग गरेका छैनन् । 

नेपाली वस्तुको माग चीनको स्वशासित क्षेत्र तिब्बतको खासा, ल्हासालगायतका सहरबाट आउँथ्यो तर अहिले कुनै पनि तिब्बती सहरबाट माग नआएको नेपाल हिमालय सीमापार वाणिज्य सङ्घका अध्यक्ष रामहरि कार्कीले बताउनुभयो । चीनबाट माग आएमा निर्यातका लागि नेपाली वस्तु तयारी हालतमा रहेको उहाँले जानकारी दिनुभयो ।

चालु आर्थिक वर्ष २०८१/८२ मा एक रुपियाँको सामान पनि निर्यात नभएको तातोपानी सुक्खा बन्दरगाह भन्सार कार्यालयले जनाएको छ । माग नै नआएपछि निर्यात हुन नसकेको हो । अझै पनि माग आउने आशामा नेपाली व्यापारी रहेका छन् । केही हप्ताअगाडि चिनियाँ पक्षले मूर्ति, तामाका भाँडाकुँडाको माग गरे पनि त्यसको फिक्स नभएको व्यापारीले बताएका छन् ।

नेपाली वस्तु चीनतर्फ निर्यात नभए पनि चीनबाट नेपालतर्फ भने दैनिक २५ देखि ३० मालवाहक कन्टेनरमा सामान भित्रिरहेको अध्यक्ष कार्कीले बताउनुभयो । साथै ठुलो परिमाणमा विद्युतीय सवारीसाधन पनि नेपालतर्फ आइरहेको छ । जिल्लाका ठुला, मझौला, साना ९५ प्रतिशत व्यापारी व्यवसायी तातोपानी नाका आबद्ध छन् । 

अहिले उक्त नाकामा चिनियाँ वस्तु नेपाल भित्र्याउने कार्यमा तीव्रता आएको छ तर व्यापारी, व्यवसायीलाई आवास, होटेल, बैङ्कलगायतका समस्या रहेको छ । आयातमा वृद्धि भएसँगै राजस्व सङ्कलनमा पनि वृद्धि भइरहेको भन्सार कार्यालयले जनाएको छ ।