• ३ पुस २०८१, बुधबार

औद्योगिक क्षेत्रमा आंशिक विद्युत् कटौती हुने

blog

गोरखापत्र समाचारदाता

काठमाडौँ, पुस ३ गते । माथिल्लो तामाकोशीमा भएको क्षति र भारतबाट आयातमा लगाइएको सीमितताका कारण नेपाल विद्युत् प्राधिकरणले बढी विद्युत् माग हुने साँझको समय (पिक) मा औद्योगिक क्षेत्रको विद्युत् आंशिक कटौती गर्ने भएको छ ।

कम्तीमा ४५६ मेगावाटको माथिल्लो तामाकोशी जलविद्युत् आयोजनाबाट उत्पादन सुचारु नभएसम्म यस्तो कटौती गर्न लागिएको प्राधिकरणले जनाएको छ । 

“हिउँदमा नदीमा पानी घट्दा नदी प्रवाही (आरओआर) जलविद्युत् आयोजनाको उत्पादन क्षमताभन्दा एक तिहाइ घट्न पुगेको छ भने भारतबाट पिक समयमा आयात गर्न पनि पाइँदैन,” प्राधिकरण कार्यकारी निर्देशक कुलमान घिसिङले भन्नुभयो, “माथिल्लो तामाकोशी सुचारु नुहँदासम्म उद्योगमा पिक समयमा आंशिक विद्युत् कटौती गर्नुपर्ने बाध्यात्मक आवस्था आएको छ ।” कार्यकारी निर्देशक घिसिङले पिक समयमा औद्योगिकबाहेक अन्य ग्राहकको विद्युत् आपूर्ति कटौती गर्नुपर्ने अवस्था नरहेको प्रस्ट पार्नुभयो । 

 चिसोका कारण यही समयमा विद्युत्को माग बढ्ने तर नेपालको विद्युत् प्रणालीमा सबैभन्दा बढी हिस्सा रहेको जलविद्युत् आयोजनाको उत्पादन घट्ने अवस्था छ । हिउँदयामको विद्युत् माग र आपूर्ति व्यवस्थापन गर्न यो समयमा भारतबाट विद्युत् आयात गर्नुपर्ने हुन्छ तर भारतले पिक समयमा विद्युत् आयात गर्न दिइरहेको छैन । 

गत असोज ११ र १२ गतेको अविरल वर्षाका कारण माथिल्लो तामाकोशीका संरचनामा क्षति पु¥याएको थियो । यही पुस १० गतेभित्र विद्युत् उत्पादन सुरु गर्ने र त्यसको १५ दिनभित्रमा पिक समयमा चलाउने गरी माथिल्लो तामाकोशीको मर्मतसम्भार भइरहेको छ । विद्युत् माग कम हुने समयमा पानी जम्मा गरी आयोजनालाई पिक समयका चार घण्टा पूर्ण क्षमतामा चलाउन सकिन्छ ।

भारतको केन्द्रीय विद्युत् प्राधिकरणले नेपाल विद्युत् प्राधिकरणलाई आगामी चैत २ गते (१५ मार्च २०२५) सम्म ढल्केबर–मुजफ्फपुर चार सय केभी क्रसबोर्डर प्रसारण लाइनमार्फत छ सय मेगावाट र टनकपुर–महेन्द्रनगर १३२ केभी प्रसारण लाइनबाट ५४ मेगावाट गरी दैनिक रूपमा ६५४ मेगावाटसम्म विद्युत् आयात अनुमति दिएको छ । पिक समय साँझ ५ देखि रातको ९ बजेसम्म भने विद्युत् आयात गर्न नपाउने व्यवस्था छ । त्यसपछि ३ चैतदेखि १६ असार २०८२ सम्म सोलार आवर अर्थात् बिहान ६ बजेदेखि साँझ छ बजेसम्म मात्र आयात गर्न पाउने स्वीकृति दिइएको छ । 

विगतका वर्षमा पनि भारतले पिक आवरमा विद्युत् दिँदैन थियो तर प्राधिकरणले माथिल्लो तामाकोशीको पानी दिउँसो सञ्चय गर्ने र पिक आवरमा पूर्ण क्षमतामा चलाउने गरी आन्तरिक पिक लोड व्यवस्थापन गर्ने गरेको थियो ।