गोरखापत्र समाचारदाता
काठमाडौँ, मङ्सिर ३० गते । चलचित्र निर्देशक विकास घले गुरुङ लिखित नृत्यसम्बन्धी पुस्तक ‘नृत्य तथा नाट्य अध्ययन’ सार्वजनिक गरिएको छ । नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा–प्रतिष्ठानमा आयोजित एक कार्यक्रमबिच नेपाल प्रज्ञा–प्रतिष्ठानका कुलपति भूपाल राई, नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठानका कुलपति नारदमनि हार्तम्छाली, वरिष्ठ नृत्यविज्ञ भैरवबहादुर थापा, नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा–प्रतिष्ठानका उपकुलपति शम्भु राई, प्राज्ञ बखतबहादुर हमाल, नृत्य अनुसन्धानकर्ता भावना कार्कीलगायतले पुस्तकको सामूहिक विमोचन गर्नुभएको हो ।
सङ्गीत तथा नाट्य प्रज्ञा–प्रतिष्ठानबाटै प्रकाशित पुस्तक प्रतिपादित रहेको छ । यो एकदमै व्यावसायिक नृत्यको सिद्धान्त हो । यसले नयाँ नृत्य निर्देशक यो क्षेत्रमा अगाडि बढ्न एकदमै सजिलो हुने लेखक गुरुङले बताउनुभयो । “स्नातकोत्तरको परीक्षा सम्बन्धित निकायले प्रश्नपत्रसमेत तयार गरेर उपलब्ध गराउन नसक्दा खाली उत्तर पुस्तिका बुझाउनु परेको तितो अनुभवले आफूलाई नृत्य विधामा पुस्तक लेख्न प्रेरित गरेको हो,” गुरुङले भन्नुभयो ।
कार्यक्रममा नेपाल प्रज्ञा–प्रतिष्ठानका कुलपति भूपाल राईले नृत्य विधालाई प्राज्ञिक र शैक्षिक प्रणालीसँग जोडेर लैजान ‘नृत्य तथा नाट्य अध्ययन’ पुस्तकले भूमिका खेल्ने विश्वास व्यक्त गर्नुभयो । कुलपति राईले मानव जगत्ले उपार्जन गरेको सबैभन्दा पुरानो संज्ञानात्मक विधा नृत्य भएको चर्चा गर्दै नेपाली नृत्य शास्त्रलाई मानव शास्त्रीय दृष्टिकोणले व्याख्या, पुनव्र्याख्यामार्फत रैथानेकरण गर्न आवश्यक रहेको औँल्याउनुभयो । नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठानका कुलपति नारदमनि हार्तम्छालीले लेखकले नृत्यलाई ललतिकला विधासँग समेत जोडेर लेखेको भन्दै प्रशंसा गर्नुभएको थियो । नृत्य अभिव्यक्तिको कलात्मक भाषा भएको धारणा राखेका उनले नेपालको भूगोल, संस्कृति, ज्ञान र परम्परामा आधारित भई सैद्धान्तिकीकरण गरे मात्र नेपाली नृत्य शास्त्रले पूर्णता पाउने बताउनुभयो ।
वरिष्ठ नृत्यविज्ञ भैरवबहादुर थापाले ‘पुख्र्यौली व्याकरण’ लाई मात्र पछ्याएर किताब लेख्ने परम्पराबाट मुक्त हुन आवश्यक रहेको भन्दै लेखक गुरुङले पुस्तक नृत्य विधि अघि सारेर आफ्नो मर्यादासहित पुस्तक लेखेकोमा प्रशंसा गर्नुभयो । कुनै पनि व्यक्तिले अनुभव र अध्ययनका आधारमा इथिक्स् तयार गर्नु नै ठुलो कुरा भएकाले त्यसलाई अरूले पछ्याउलान् नपछ्उलान् भनेर चिन्ता लिन आवश्यक नरहेको पनि बताउनुभयो ।
नृत्य अध्येता एवं अनुसन्धाता भावना कार्कीले विश्वविद्यालय तहमा रहेको नृत्यसम्बन्धी पाठ्यपुस्तक र सन्दर्भ सामग्रीको अभावलाई गुरुङकृत पुस्तकले थोरै भए पनि पूर्ति गर्ने भन्दै नयाँ नृत्य निर्देशकहरूलाई नृत्यको आधारभूत र सैद्धान्तिक ज्ञान पनि दिने बताउनुभयो । प्रज्ञा–प्रतिष्ठानका नृत्य विभाग प्रमुख बखतबहादुर हमालले नृत्य विधा समग्र संस्कृति अभिव्यक्त हुने ‘सम्पूर्ण’ माध्यम भएको दाबी गर्नु हुँदै नेपाली नृत्य क्षेत्रमा प्रस्तुत पुस्तकले नयाँ इँटा थप्ने विश्वास व्यक्त गर्नुभयो ।