गोरखापत्र समाचारदाता
काठमाडौँ, मङ्सिर २८ गते । बढ्दो विप्रेषण र घट्दो अन्तर्राष्ट्रिय व्यापारका कारण मुलुकसँग विदेशी मुद्रा थुप्रिएको छ । कुनै समय विदेशी मुद्राको सञ्चिति घट्दा श्रीलङ्काको अर्थतन्त्रको हालतसँग तुलना भएको नेपालको अवस्था अहिले सर्वाधिक विदेशी मुद्रा रहेको स्थितिमा पुगेको छ ।
नेपाल राष्ट्र बैङ्कका अनुसार कात्तिकसम्म मुलुकसँग १६ अर्ब ७० करोड डलर बराबरको विदेशी मुद्रा सञ्चित छ । २०८० कात्तिकको तुलनामा यो ९.४ प्रतिशतले बढी हो । त्यतिबेला मुलुकसँग १५ अर्ब २७ करोड डलर बराबरको विदेशी मुद्रा सञ्चित थियो । सञ्चित विदेशी मुद्रामध्ये अधिकांश हिस्सा अमेरिकी डलरको छ । नेपालको सबैभन्दा ठुलो अन्तर्राष्ट्रिय व्यापार साझेदार भारतको मुद्राको हिस्सा भने २२ प्रतिशत रहेको छ । केन्द्रीय बैङ्कका अनुसार नेपालसँग सञ्चित रहेको कुल विदेशी मुद्रा नेपाली विनिमय दर अनुसार २२ खर्ब ४४ अर्ब रुपियाँभन्दा माथि छ । जुन कुल गार्हस्थ उत्पादनको तुलनामा ३९.५ प्रतिशत हुन आउँछ । कुल सञ्चितिमध्ये राष्ट्र बैङ्कसँग २० खर्ब आठ अर्ब रहेको छ भने बैङ्क तथा वित्तीय संस्थासँग दुई खर्ब ४७ अर्ब रुपियाँ रहेको छ ।
मुलुकसँग रहेको कुल विदेशी मुद्रा वर्तमान आयात परिणामका हिसाबले १८ महिनाको वस्तु आयातका लागि पर्याप्त हुने राष्ट्र बैङ्कले जनाएको छ । त्यस्तै यस्तो सञ्चितिले १५ महिनाको वस्तु तथा सेवा आयात गर्न पुग्ने केन्द्रीय बैङ्कको अनुमान छ ।
विप्रेषणको टेको
विदेशी मुद्रा सञ्चितिमा महत्वपूर्ण योगदान पुर्याउने विप्रेषण आप्रवाह यसबिचमा उल्लेख्य बढेको देखिन्छ । चालु आव २०८१/८२ को चार महिनासम्म नेपालले विप्रेषणबापत पाँच खर्ब २१ अर्ब रुपियाँ भित्र्याएको राष्ट्र बैङ्कको तथ्याङ्क छ । जुन अघिल्लो आवको कात्तिकसम्मको तुलनामा ९.१ प्रतिशतले बढी हो । अमेरिकी डलरमा भने चार महिनाको अवधिमा तीन अर्ब ८७ करोड डलर विपे्रषण भित्रिएको देखिन्छ ।
यसबिचमा वैदेशिक रोजगारीका लागि श्रम स्वीकृति लिनेको सङ्ख्या एक लाख ४७ हजार ४७८ र पुनः श्रम स्वीकृति लिनेको सङ्ख्या ९४ हजार १०५ रहेको छ । गत वर्ष कात्तिकसम्म श्रम स्वीकृति लिनेको सङ्ख्या एक लाख ३७ हजार ४७५ र पुनः श्रम स्वीकृतिको ६८ हजार ८४१ थियो ।
पर्यटक आम्दानीमा सुधार
मुलुकमा विदेशी मुद्रा भित्र्याउन महत्वपूर्ण योगदान पुर्याउने पर्यटन क्षेत्रबाट प्राप्त हुने आम्दानीमा पनि सुधार देखिएको छ । राष्ट्र बैङ्कका अनुसार भ्रमण व्यय शीर्षक अन्तर्गत राखिने यस्तो आम्दानी ३.८ प्रतिशतले बढेर २६ अर्ब ८४ करोड रुपियाँ पुगेको छ । गत वर्ष कात्तिकसम्म नेपालले भ्रमण आयबापत २५ अर्ब ८७ करोड रुपियाँ प्राप्त गरेको थियो ।
दुई खर्बले शोधनान्तर बचतमा
नेपाल भित्रने र बाहिरिने रकमको अन्तर देखाउने शोधनान्तर स्थिति दुई खर्ब रुपियाँभन्दा बढीले बचतमा देखिएको छ । राष्ट्र बैङ्कका अनुसार समीक्षा अवधिसम्म नेपालबाट बाहिरिनेभन्दा भित्रिने रकम दुई खर्ब पाँच अर्ब रुपियाँले बढी छ । जसले गर्दा शोधनान्तर अवस्था अत्यन्त सुदृढ देखिएको छ । गत वर्ष कात्तिकसम्म यस्तो स्थिति एक खर्ब ५० अर्ब रुपियाँले बचतमा थियो । त्यस्तै मुलुकभित्र र बाहिर निश्चित अवधिमा हुने कारोबार जनाउने चालु खाता पनि एक खर्ब ४३ अर्ब रुपियाँले बचतमा देखिन्छ, जुन गत वर्षको समीक्षा अवधिसम्म ९७ अर्ब १० करोड रुपियाँले बचतमा थियो ।
बढ्न सकेन व्यापार
मुलुकको अन्तर्राष्ट्रिय व्यापार बढ्न नसक्दा विदेशी मुद्रा थुप्रिन पुगेको छ । राष्ट्र बैङ्कका अनुसार चालु आवको कात्तिकसम्म मुलुकको आयात व्यापार केवल ०.२ प्रतिशतले बढेर पाँच खर्ब १३ अर्ब रुपियाँ पुगेको छ । यस हिसाबले विगत चार महिनामा भित्रिएको विप्रेषण नै आयातका लागि पर्याप्त देखिन्छ । निर्यातमा पनि उल्लेख्य सुधार भने देखिँदैन । चार महिनासम्म मुलुकको निर्यात ४.२ प्रतिशतले बढेर ५२ अर्ब ६७ करोड रुपियाँ पुगेको छ ।