• १४ वैशाख २०८२, आइतबार

महानगर दिवसमा साङ्गीतिक प्रस्तुति

blog

गोरखापत्र समाचारदाता

काठमाडौँ, मङ्सिर २७ गते । चर्चित कलाकार र ब्यान्डले मङ्सिर २९ गते टुँडिखेल मैदानमा साङ्गीतिक प्रस्तुति दिने भएका छन् । ३० औँ महानगर दिवसका अवसरमा उक्त कार्यक्रम गर्न लागिएको हो । दीप श्रेष्ठ, ओमविक्रम विष्ट, योगेश्वर अमात्य, सञ्जय श्रेष्ठ, जेम्स प्रधान, सुगम पोखरेल एन्ड बाजागाजा, अस्मिता अधिकारी, रचना रिमाल, उर्गेन दोङ, केहर एन्ड जोय, कुमा सागर एन्ड द ख्वप, सुजन चापागाईं, एकदेव लिम्बू, महेश काफ्ले, बाबुकृष्ण परियार, सुजिल कर्माचार्य, इन्द्रकला राई, सागर प्रजापति, सुशान्त घिमिरे र सन्दीप विष्टले प्रस्तुति दिने कार्यक्रम रहेको आयोजकले काठमाडौँ महानगरपालिकाले जनाएको छ । 

शनिबार दिउँसो ३ बजेदेखि सुरु हुने कन्सर्टमा दर्शकलाई निःशुल्क प्रवेशको व्यवस्था मिलाइएको महानगरले जनाएको छ । सो अवसरमा स्थानीय मौलिक झाँकी प्रदर्शनी गर्ने, विभिन्न क्षेत्रमा ख्यातिप्राप्त व्यक्तिलाई सम्मान गर्ने, सांस्कृतिक पहिचान हुने मौलिक खानाको प्रवर्धनका लागि फुड स्टल राख्ने, एक वडा एक नमुना उद्यम कार्यक्रमबाट उत्पादित सामग्री तथा वस्तुको प्रदर्शनीसमेत गरिने भएको छ ।