गोरखापत्र समाचारदाता
काठमाडौँ, मङ्सिर २५ गते । राष्ट्रपति रामचन्द्र पौडेलले संविधानमा व्यवस्था भएको नागरिकको मौलिक हकको पूर्ण कार्यान्वयनका लागि अग्रसरता लिनुपर्ने बताउनुभएको छ । उहाँले न्यायपूर्ण, समतामूलक समाज निर्माण गर्न विश्वको ध्यान केन्द्रित भइरहेको सन्दर्भमा नेपालले समेत सामाजिक न्यायको दिशामा अग्रसरता लिनुपर्ने धारणा व्यक्त गर्नुभयो ।
७६ औँ अन्तर्राष्ट्रिय मानव अधिकार दिवसका अवसरमा शुभकामना सन्देश दिनुहुँदै राष्ट्रपति पौडेलले व्यक्तिगत स्वतन्त्रता र लोकतान्त्रिक शासन प्रणालीलाई सारभूत बनाउने मानव अधिकारको महत्वपूर्ण पक्ष आर्थिक, सामाजिक तथा सांस्कृतिक अधिकार रहेको उल्लेख गर्नुभएको छ । उहाँले वञ्चितीकरणमा परेका समुदाय, लैङ्गिक समानता र सामाजिक समावेशीकरणले नसमेटिएका समुदायको हक, अधिकार, स्वतन्त्रता र न्यायको अनुभूति गराउन सकेमा मात्र मानव अधिकार दिवसले सार्थकता पाउने औँल्याउनुभएको छ ।
यसैबिच उपराष्ट्रपति रामसहायप्रसाद यादवले अधिकार संरक्षण हुन नसकेको गुनासो रहेको समुदायको समस्या पहिचान गर्नु मुख्य दायित्व र कर्तव्य बन्न पुगेको बताउनुभएको छ । उहाँले शुभकामना सन्देशमा सबैको अधिकार क्षेत्रलाई थप फराकिलो बनाउन सके देशको समृद्धि र विकासमा अधिकार सम्पन्न नागरिकमार्फत टेवा र योगदान पुग्ने विश्वास व्यक्त गर्नुभयो ।
सार्कका महासचिवसँग भेट
यसैगरी उपराष्ट्रपति यादवसँग दक्षिण एसियाली क्षेत्रीय सहयोग सङ्गठन (सार्क) का महासचिव मोहम्मद गुलाम सरवरले सोमबार शिष्टाचार भेटवार्ता गर्नुभएको छ । सो अवसरमा उपराष्ट्रपति यादवले सार्कका संस्थागत निर्णय कार्यान्वयन गर्न सदस्य राष्ट्रहरूको साझा प्रतिबद्धता र सहकार्य अपरिहार्य रहेको बताउनुभएको छ ।