• ९ पुस २०८१, मङ्गलबार

इजरायलले प्यालेस्टाइनीमाथि नरसंहार गरेको छ, सबैले आवाज उठाऔँ : अध्यक्ष दाहाल

blog

काठमाडाैँ, मङ्सिर २४ गते । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालले इजरायलले प्यालेस्टाइनी नागरिकमाथि नरसंहार गरेको भन्दै विरोध जनाउनुभएको छ ।

सोमबार काठमाडौँको रत्नपार्कमा प्यालेस्टीनीमाथि इजरायली जनसंहारविरूद्व देशव्यापी हस्ताक्षर अभियान उद्घाटन गर्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले इजरायलद्वारा प्यालेस्टाइनमाथिको ज्यादतीका विरुद्ध विगतदेखि नै विश्वव्यापी रूपमा आवाज उठ्दै आएको बताउनुभयो । 

उहाँले अहिले पछिल्लो चरणमा प्यालेस्टाइनको गाजामा भएको अत्याचार, नरसंहारको विरोध गर्नुभयो । संयुक्त राष्ट्रसङ्घमा यसको विरुद्धमा पटक पटक प्रस्तावहरू पारित हुने गरेको भए पनि इजरायलले अटेर गरेर प्यालेस्टाइनमाथि आक्रमण गरिरहेको बताउनुभयो । अमानवीय ढङ्गले आक्रमण गरी हत्या गरेकोमा सबैले आवाज उठाउनुपर्ने बताउनुभयो ।

उहाँले भन्नुभयो, "इजरायलद्वारा प्यालेस्टाइनमाथिको ज्यादतीका विरुद्ध विगतदेखि नै विश्वव्यापी रूपमा आवाज उठ्दै आएको कुरा हामी सबैलाई थाहा छ। अहिले पछिल्लो चरणमा खास गरी प्यालेस्टाइनको गाजामा भएको अत्याचार, नरसंहारको पनि विश्वव्यापी रूपमा हुँदै आएको छ । संयुक्त राष्ट्रसङ्घमा पनि यसका बारेमा पटक पटक प्रस्तावहरू पारित हुने गरेका छन् तर ती सबैलाई पनि अटेरी गर्दै जसरी नरसंहार र नाकाबन्दीको निरङ्कुश तरिका अपनाइएको छ । २१ औँ शताब्दीको सभ्य समाज भनिन्छ । लोकतन्त्रको युग भन्ने गरिन्छ ।" 

"यो २१ औँ शताब्दीको सभ्य भनिएको समाजमा लोकतन्त्रको नयाँ युग भनिएको बेलामा पनि यति अमानवीय ढङ्गले अस्पतालमा बालबालिकादेखि निर्दोष र निरपराध मान्छेहरूको नरसंहार गरेको देख्नुपरेको छ मानव जातिले । त्यस्काविरुद्ध विश्वव्यापी आवाज उठाउन हामी सबैको कर्तव्य हुन आउँछ । अहिले नेपालका राजनीतिक दल, नागरिक समाज, विद्वत व्यक्तित्व सबैले पहल गरेर आवाज उठ्न सुरु गरेको छ," उहाँले भन्नुभयो ।

७ अक्टोबर २०२३ मा इजरायलले गाजामा आक्रमण गरेको थियो । तत्कालीन समयमा नेपालका प्रधानमन्त्री पुष्पकमल दाहाल नै हुनुहुन्थ्यो । अहिले २०२४ को डिसेम्बर ९ मा आएर तत्कालीन प्रधानमन्त्री दाहालसहितका नेताहरूले गाजामाथिको आक्रमण रोक्नुपर्ने मागसहित हस्ताक्षर अभियान सुरु गर्नुभएको हो।