• ९ पुस २०८१, मङ्गलबार

गढीमाईको सांस्कृतिक आयाम

blog

गढीमाई मेला हो कि संस्कृति ? कुनै निश्चित वस्तु, स्थान वा संस्कृतिलाई परिचित गराउनका लागि नियोजित रूपमा एक ठाउँमा मानिसहरूलाई आकर्षित गरिने काम चाहिँ मेला हुन सक्छ । यसको निश्चित अवधि हुन्छ । यसको औपचारिक तयारी हुन्छ । भौगोलिक सीमा हुन्छ । संस्कृति यस्ता कतिपय सीमाभन्दा बाहिर हुन्छ । मेलाको सम्बन्ध व्यापार व्यवसाय वा अर्थ तथा विज्ञापनसित पनि हुन्छ तर संस्कृतिको सम्बन्ध आस्था र मनोरञ्जनसित हुन्छ । मेलाको आधार विगतले नथामेको पनि हुन सक्छ तर संस्कृतिको आधार भने परम्परा हुन्छ । यी सबै दृष्टिकोणले विचार गर्दा गढीमाईको मेला आफैँमा एक बृहत् संस्कृति हो । 

भौगोलिक आयाम

गढीमाई मेलाको अघिल्लो वर्ष महोत्तरीको जलेश्वरमा संसारीमाई मेला अत्यन्त भव्यतापूर्वक लाग्छ । गत वर्ष यो मेला सम्पन्न भएको थियो । भनिन्छ, संसारीमाई र गढीमाई मेलामा अन्तरसम्बन्ध छ । पाँच वर्षमा संसारीमाई र पाँच वर्षमा गढीमाई मेला लाग्ने गरेको विषयमा अध्ययन गर्नुपर्ने देखिन्छ । यसरी कम्तीमा महोत्तरीको जलेश्वरदेखि बाराको बरियारपुरसम्मको भौगोलिक क्षेत्रलाई गढीमाई संस्कृतिको मूल क्षेत्र मान्न सकिन्छ । कम्तीमा बाराका तीन, रौतहटका १५ र सर्लाहीका पाँच स्थानमा गढीमाई मेला लाग्छन् । हरेक पाँच वर्षमा यस मेलाको सङ्ख्या बढिरहेको छ । 

जानकारहरूले गढीमाई संस्कृतिको मूल क्षेत्र बज्जिका मातृभाषा रहेको क्षेत्रलाई मानेका छन् । राष्ट्रिय जनगणना २०७८ मा बज्जिका मातृभाषाको मूल क्षेत्र यही महोत्तरीदेखि बारासम्म रहेको छ । भारतको पनि बज्जिका मातृभाषी क्षेत्रबाट नै हजारौँको सङ्ख्यामा भाकल पूरा गर्न बारा र रौतहटका गढीमाई मन्दिरसम्म श्रद्धालु भक्तजन आउने गरेका छन् । भारतको कैयौँ जिल्लासम्म पनि गढीमाई संस्कृतिको विस्तार भइसकेको छ । 

लोकसंस्कृतिसँग सम्बन्ध

संस्कृतिमा दुई किसिमको प्रभाव हुन्छ : लोक र शास्त्रीय । गढीमाई संस्कृतिलाई लोकसंस्कृतिसँग जोड्न सकिन्छ । गढीमाईलाई लोकदेवी मानिएको छ । जसरी छठीमाईप्रतिको आस्थामा हरेक वर्ष विस्तार भइरहेको छ, त्यसरी नै गढीमाईप्रतिको आस्थामा पनि विस्तार भइरहेको छ । 

गढीमाईको पूजामा विशेष शास्त्रीयता पाइँदैन । विभिन्न ठाउँमा रहेका गढीमाई मन्दिरमा विभिन्न जातिका पुजारी छन् । पुजारीमा प्रायः वंश परम्परा कायम छ । पूजाको विधि करिब समान नै रहेको छ । हरेक ठाउँमा बलि दिइन्छ । बलि दिनेहरूको सङ्ख्या निरन्तर बढिरहेको छ । बलि दिइने दिन भाकल गरेकाहरूले आफ्नो गाउँको सिमाना कटाएर जहाँ बलि दिए पनि हुने चलन रहेको छ । बलि दिनका लागि मन्दिर नै पुग्नु पर्छ भन्ने होइन । शास्त्रीय पर्वमा ग्रन्थ, मन्त्र तथा पूजाको निर्धारित विधि हुन्छ तर लोकसंस्कृतिमा यस किसिमको सीमा रहेको देखिन्न । यसैले गढीमाई संस्कृतिलाई लोकसंस्कृति मान्न सकिन्छ । 

सामाजिक प्रभाव

पर्सादेखि महोत्तरीसम्मको सम्पूर्ण समाजमा गढीमाई संस्कृति र मेलाको प्रभाव रहेको छ । मेला नजिकिँदै जाँदा सम्पूर्ण समाज मेला उन्मुख हुन्छ । मेलाको समय नजिकिँदै जाँदा बजार, सरकारी कार्यालय तथा विद्यालयमा सेवाग्राहीको सङ्ख्या अत्यन्त कम हुन पुग्छ । बैङ्क तथा वित्तीय संस्थाहरू पनि प्रभावित हुन पुग्छन् । यसै कारण विभिन्न पालिकाले मेलालाई विचार गरेर विकास निर्माण तथा अन्य कार्यक्रम निर्धारण गर्छन् । समाजले पनि खेतीपाती र अन्य दैनिकीलाई समेत मेलालक्षित गरी निर्धारण गर्छ । यात्रा गर्नेहरूले पनि मेलाको कारण समय परिवर्तन गर्छन्, जसले गर्दा मेलाको मुख्य क्षेत्रमा यातायातको क्षेत्रमा पनि प्रभाव पर्छ । 

मेलाभन्दा कम्तीमा एक महिनाअघिदेखि छोरीचेलीको बिदाइ नै रोकिन्छ । यस वर्ष छठको समयमा गढीमाई पूजा हुने गाउँबाट कुनै पनि छोरीचेलीकहाँ कोसेली पठाउने काम भएन । पूजा सम्पन्न नभएसम्म छोरीचेलीको बिदाइ नगर्ने चलन रहेको छ । यसै गरी मेलाको एक हप्ताअघिदेखि मेला क्षेत्रमा पर्ने गाउँहरूमा खसी, बोका आदि काटेर खाने काम पूर्णतः बन्द हुन्छ । यहाँसम्म कि होटलमा खसीको मासु पाइन्न । सबैतिर स्वतः र स्वाभाविक प्रतिबन्ध लागेको हुन्छ । यस सन्दर्भमा समाज निकै सचेत हुन्छ । 

मान्यतामा मौलिकता

पारिवारिक तथा वैयक्तिक जीवनसित भाकल गर्नेहरूको सङ्ख्या ठुलो छ । गढीमाई मेलालाई एक किसिमले भाकल मेलाभन्दा पनि फरक पर्दैन । वर्षभरि हरेक दिन जसो विभिन्न गढीमाई मन्दिरमा पुग्ने श्रद्धालुमध्ये केहीले कुनै मनोकामना पूरा भए बलि प्रदान गर्छु भन्ने भाकल गर्छन् । यसरी पाँच वर्षमा भाकल गर्नेको सङ्ख्या विशाल हुन पुग्छ । भाकल पूरा भएको विश्वास भएपछि श्रद्धापूर्वक बलि प्रदान गर्दछन् । भाकल गरेपछि कुनै कारणले भाकल पूरा गर्न सकिने अवस्था रहेनछ भने त्यस्ता व्यक्ति वा परिवारका सदस्य गढीमाई मेला जानु हुँदैन भन्ने मान्यता छ । अझ जसले भाकल गरेका छन् उनी मेला जानै हुँदैन । यदि मेलाको दिन कुनै कारणले बलि प्रदान गर्न सकिँदैन भने सोही वर्ष माघे सङ्क्रान्तिका दिन क्षमापूजा गरी बलि प्रदान गर्न सकिन्छ । गढीमाई मेलाको वर्ष माघे सङ्क्रान्तिका दिन पनि हजारौँ बोकाको बलि दिइएको पाइन्छ । 

पशुपालक कृषकलाई फाइदा

जहाँको समाजमा जे वा जुन खानेकुरा राम्रो मानिएको हुन्छ, देवीदेवतालाई सोही चढाएर प्रसादको रूपमा भक्तजनले ग्रहण गर्ने संस्कृति रहेको हुन्छ । गढीमाईलाई प्रदान गरिने पञ्च बलिमा मुसा, हाँस, परेवा, बोका र राँगा हुन् । मधेशी समाजले सामान्यतया राँगाको मासु खाँदैन तर गढीमाई दरबारमा पुगेर मनोकाङ्क्षीले आफूलाई लागेको ठुलो भाकल पूरा भएमा राँगा बलि दिने भाकल गर्छन् । अनि औसतले बोका बलि दिने भाकल गर्छन् । परेवालाई मन्दिर परिसरमा उडाउँदा पनि बलि प्रदान गरिएको मानिन्छ । मुसा र हाँस सर्वसाधारणले बलि दिँदैनन् । 

बलिमा काम लाग्ने मुसा र हाँसको व्यवसाय हुँदैन तर परेवा, बोका र राँगाको निकै ठुलो व्यवसाय हुने गरेको छ । मेला लाग्ने जिल्लाहरूका साथै छिमेकी जिल्लाहरूमा पनि परेवा, बोका र राँगाको अभाव हुन पुग्छ । एक जोडी परेवा दुई हजार रुपियाँसम्म बिक्री हुन पुग्दछ जबकि सामान्य अवस्थामा पाँच सय रुपियाँमा जोडी परेवा पाइन्छ । यसै गरी बोका र राँगाको मूल्यमा पनि कम्तीमा दोब्बरले वृद्धि हुन्छ । गढीमाई मेलालाई लक्षित गर्दै एक वर्षभन्दा बढी समयदेखि किसानले परेवा, बोका तथा राँगा पालेका हुन्छन् । यी पशुपन्छी जति धेरै सङ्ख्यामा पालेको भए पनि सबै बिक्री हुन्छन् नै । छिमेकी देश भारतबाट पनि ठुलो सङ्ख्यामा बोका तथा राँगा ल्याइन्छ । पशुपालक किसानको हातमा मेलाको कारण ठुलो रकम प्रवाह  हुन्छ । मेलाको ग्रामीण अर्थतन्त्र पनि निकै चलायमान हुन्छ । 

दर्शक र बलिको कीर्तिमान

आस्थासँग जोडिएको एउटा लोकपर्वको रूपमा गढीमाई संस्कृतिको निरन्तर विस्तार भइरहेको छ । हरेक मेलाको वर्ष यस मेलाको मुख्य आकर्षण मानिएको बलि प्रथाको व्यापक विरोध तथा बहस हुने गरेको छ तर पनि न त बलिको सङ्ख्यामा कमी आएको छ र न त श्रद्धालु दर्शकको सङ्ख्यामा । अझ बाराको बरियारपुरस्थित गढीमाई मन्दिरमा हुने बलिको विरोध भइरहँदा श्रद्धालु सुविधासमेतको दृष्टिकोणले अन्य मन्दिर र मेलाको सिमानामा पुगेर बलि प्रदान गर्ने प्रवृत्तिको विकास भइरहेको छ । करिब दुई दर्जन स्थानमा लागिरहेको मेलाको दर्शक र बलिलाई एक ठाउँमा जोड्ने हो भने निरन्तर नयाँ कीर्तिमान बनाइरहेकोमा दुईमत छैन । महोत्तरीदेखि बारासम्म मेलाको सम्पूर्ण सेरोफेरोलाई एकीकृत विचार गर्ने हो भने यसले चर्चामा रहेको भन्दा अझ बढी कीर्तिमान कायम गर्ने गरेको छ । मुख्यतः हिन्दु समुदायको संस्कृति रहेको भए पनि यस मेलाले यस क्षेत्रका सबै धर्म, जाति र समुदायलाई जोडेको छ । सामाजिक सम्बन्धको नवीकरण, आफन्तहरूसित मिलन, व्यापार व्यवसायमा वृद्धि तथा मनोरञ्जन र धार्मिक आस्थाको विस्तारमा पनि यस संस्कृतिको योगदान रहेको छ । 

Author

सञ्जय साह मित्र