• ८ पुस २०८१, सोमबार

मनमोहक वनस्पति उद्यान (फोटो फिचर)

blog

अध्ययन, भ्रमण र पर्यापर्यटनको अनुपम गन्तव्य गर्दै वन तथा वातावरण मन्त्रालयको वनस्पति विभागअन्तर्गत रहेको वृन्दावन वनस्पति उद्यान । तस्बिर : अनिल पराजुली

अनिल पराजुली
हेटौँडा, मङ्सिर २३ गते ।
लोपोन्मुख वनस्पतिको खोज, अनुसन्धान र संरक्षण गर्दै आएको वनस्पति अनुसन्धान केन्द्र, वृन्दावन वनस्पति उद्यान मकवानपुर पर्यापर्यटकीय गन्तव्यको रूपमा विकास हुँदै गएको छ । वन तथा वातावरण मन्त्रालयको वनस्पति विभागअन्तर्गत रहेको वृन्दावन वनस्पति उद्यान अध्ययन, भ्रमण र पर्यापर्यटनको अनुपम गन्तव्य बनेको हो । पर्यावरणीय सुन्दरता, चराचुरुङ्गीको धुन, आनन्ददायी वातावरणका कारणले पनि उद्यानमा अवलोकन, भ्रमण गर्नेको आकर्षण बन्दै गएको छ ।

उद्यान वन विज्ञान (फरेस्ट्री), वनस्पति विज्ञान (बोटानी), फार्मेसी र प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सिटिइभिटी) मा अध्ययन गर्ने विद्यार्थी शैक्षिक भ्रमण, अध्ययन र घुम्नका लागि आउनेको आकर्षणको केन्द्र बन्दै गएको हो । देशमै पहिलो पटक यहाँ गरिएको ‘सम्मानित वृक्षारोपण’ पनि यहाँको आकर्षण छ । उद्यानलाई स्थानीय र अवलोकनकर्तासँग नाता गाँसियोस् भन्ने अभिप्रायले २०७८ सालदेखि सेरेमोनियल प्लान्टेसन प्लटको अवधारणा विकास गरिएको हो । वनस्पति उद्यानभित्र बिल्कुलै नयाँ ढाँचाको थिमेटिक गार्डेन बनाउने उद्देश्यले उद्यानभित्रको करिब एक हेक्टर भन्दा बढी रिक्त रहेको जग्गामा सम्मानित वृक्षरोपण गरिएको छ । 


यहाँ रुद्राक्ष, सीता अशोक, पीपल, छतिवन, चिउरी, अमला, वर, समी, कपुर, कटहर, बेल, राजवृक्ष, कदम, नीम, अर्जुन, आँप, जमुना, श्रीखण्ड, चाप,  तेजपात, अगस्ती, दार, हर्रो, इमली, सुगन्ध कोकिलालगायतका बिरुवा रोपिएको छ ।

उद्यानमा ६५० भन्दा बढी प्रजातिका वनस्पतिहरूको वंशाणु स्रोत संरक्षित छन् । जिल्ला भित्रका एवम् चुरे क्षेत्रका विभिन्न स्थानबाट वनस्पति सर्वेक्षण, सङ्कलन गरी पहिचान गर्ने र वनस्पतिहरूको हर्वेरियम नमुना संरक्षित गर्ने कार्य गर्दै आइरहेको छ । अध्ययन अनुसन्धानका क्षेत्रमा यस केन्द्रले स्थापना कालदेखि नै विभिन्न जडीबुटी तथा आर्थिक महत्वका वनस्पतिहरूको अध्ययन गरी खेती प्रविधि विकास गरेको छ ।

त्यसैगरी विभिन्न आदिवासी तथा जनजातिहरूले प्रयोग गर्दै आइरहेका वनस्पतिहरूको अभिलेखिकरण गर्दै वनस्पति प्रयोग र संरक्षणबारे सचेतना कार्यक्रमहरू सञ्चालन गर्दै आइरहेको छ । बिरुवा उत्पादन गरी वितरण गर्ने, विभिन्न सामग्रीहरू प्रकाशन गरी वितरण गर्ने, पर्यावरणीय सौन्दर्य बढाइ पर्यापर्यटन अभिवृद्धि गर्ने र आर्थिक विकासमा टेवा पुर्‍याई गरीबी न्यूनीकरणमा सहयोग पुर्‍याउने लक्ष्यका साथ प्राविधिक तथा विविध सेवा पुर्‍याउँदै आएको छ ।


केन्द्रले वनस्पति सम्पदाहरूको विस्तृत सर्वेक्षण, सङ्कलन तथा पहिचान गर्ने वनस्पतिहरूको वंशाणु स्रोत संरक्षण गर्ने, जडीबुटीहरू सम्बन्धी अध्ययन, अनुसन्धान गरी खेती प्रविधि विकास गर्ने, सुगन्धित तेलयुक्त वनस्पतिहरूको तेल प्रतिशत परीक्षण गर्ने, प्राविधिक दृष्टिले फाइदाजनक जडीबुटीहरूको सूचना प्रवाह गर्ने, परम्परागत वनस्पति उपयोगसम्बन्धी अध्ययन (एथ्नो बोटानिकल स्टडी), अनुसन्धान गरी वनस्पति तथा जैविक स्रोतको उपयोगसम्बन्धी ज्ञानलाई अभिलेखीकरण गर्ने, जडीबुटीहरूको बिरुवा उत्पादन तथा वितरण गर्ने, जडीबुटी संरक्षण, खेती तथा प्रशोधनका बारेमा तालिम तथा सेवा प्रदान गर्नेलगायतका उद्देश्य यो कार्यालयको रहेको छ ।

कार्यालयले अहिले जडीबुटीको गुणस्तरीय बिरुवा उत्पादन गर्ने, जडीबुटी खेती प्रविधि विकास गरी प्राविधिक सीप हस्तान्तरण गर्ने, जडीबुटी प्रजातिका वासस्थान संरक्षण तथा व्यवस्थापन गर्ने, जडीबुटीहरू सम्बन्धी सूचना तथा नमूना प्रदर्शन गर्ने, जडीबुटी खेतीप्रति कृषकलाई अभिप्ररित गर्ने, महत्त्वपूर्ण जडीबुटीहरू सम्बन्धी समयसामयिक अध्ययन, अनुसन्धान गरी स्थानीय जनसमुदायलाई जडीबुटी खेतीतर्फ प्रोत्साहित गर्ने, वनस्पतिहरूको सर्वेक्षण गरी दुर्लभ, लोपोन्मुख तथा सङ्कटापूर्ण अवस्थाका वनस्पति संरक्षण गर्ने कार्य गरिरहेको छ ।